पोखरा
ताण्डव संवाददाता ।
प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थिएटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ ।
थिएटरद्धारा सञ्चालित गन्र्धव नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रवीन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

सरुभक्तले लामो समय पोखरेलीको सपना पूरा भएकोमा खुशी व्यक्त गरे । उनले २० को दशकमा पोखरामा केही रंगकर्म भएको र ३० को दशकमा नाट्यसंस्थाको पनि स्थापना भएको औल्याए । उनले थिएटरबाट नेपाली नाट्यशालाको इतिहास व्यवस्थित भई गौरवमय बन्नुपर्ने सुझाए ।
सांसद अधिकारीले थिएटर सोचेभन्दा धेरै राम्रो बनेको बताए । उनले नाटकमा नयाँ जेनेरेसनको आवश्यकता भएको हुँदा रुची बढाउनुपर्ने औल्याए । प्राज्ञ हरिदेवी कोइरालाले पोखराबाट नाट्य क्षेत्रको मूल जरो नमरेको प्रस्टाइन् ।
‘सपना उजागर भएको छ । सुस्ताएको नाटक फुल्न थालेको छ । यो खुशी र गौरबको विषय हो,’ उनले भनिन् । बरिष्ठ रंगकर्मी सुनिल पोख्रेलले पोखरा रंगकर्मको उर्वराभूमिको रुपमा लिएको बताए । ‘पोखरा नाटकको ठूलो थलो पहिला थियो, अहिले पनि छ जस्तो लागेको छ,’ उनले भने ।
थिएटरका संरक्षक शंकरनाथ कोइराला, संस्कृतिकर्मी तिर्थ श्रेष्ठ, मञ्डला थिएटरका निर्देशक राजन खतिवडाले पोखरेली रंगमञ्च र थिएटरको बारेमा बोलेका थिए । नाटकघर सञ्चालनमा आएसँगै पोखरेली रगंमञ्चले नयाँ गती लिने अपेक्षा गरिएको छ । थिएटरमा परिवर्तन कार्की, दिलप्रसाद गुरुङ र शंकरनाथ कोइरालाको संयुक्त लगानी छ ।
लगानीकर्ता परिवर्तनले थिएटर निर्माणसँगै धेरै ठूलो चूनातीहरु थपिएको बताए । ‘पोखरामा नाट्यसंस्कृतिको विकास पनि गराउनुपर्छ,’ उनले भने, ‘सम्पूर्ण रंगकर्मीको सपना पनि बल्ल पूरा भएको छ । थिएटर निरन्तर बाच्यो भने यहाँको रंगमञ्च उठ्नेछ ।’
उद्घाटनसँगै पोखरा थिएटरको गन्र्धव नाटकघरमा नाटक ‘सिरुमारानी’ मञ्चन भयो । नाटक हेरिसकेपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाएको कलाकारको भनाई छ । झण्डै दुई घण्टा लामो नाटकमा प्रयोग गरिएको लाइट सिस्टम, टिपिकल बाजा, नेपालीपन झल्कने लवज, भेषभुषाले दर्शकलाई आर्कषित गरेको थियो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको लेखनको नाटक ‘सिरुमारानी’मा पोखरामा पहिलो पटक मञ्चन गरिएको थियो । नाटकमा पोखराका नयाँ तथा पुराना रंगकर्मीको छ ।
पोखरेली रंगमञ्चमा चिनिसकेका प्रकाश घिमिरे, माओत्से गुरुङ, विष्णु गौतमको अभिनय, धनबहादुर गायकको वाजाको धुनले पोखरेली रगंमञ्चलाई माया गर्नेहरु थप उत्साहित बनायो ।
साथमा विभिन्न नाटक मार्फत रंगमञ्चमा देखिसकेका दिल गुरुङको दोहोरो भुमिका अलावा सेनापती बनेका रमेशबाबु तिमिल्सिना तथा रंगमञ्चमा आशा लाग्दो प्रतिभा बनेर उदाउन खोजेका अन्जु दाहाल, लक्ष्मण डुम्रे, बबिता मल्ल, प्रसुना भण्डारी, सीमा गुरुङ, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज विसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेल लगायतको अभिनय रहेको छ ।
नाटकलाई सोमनाथ खनालले निर्देशन गरेका हुन् ।
फागुन १५ गतेसम्म हरेक साँझ पौने पाँच बजेबाट मञ्चन हुने नाटक शनिबार र विदाको दिन दिउँसो १ बजेबाट अतिरिक्त सो समेत हुनेछ । नाटक हेर्न तीन सय र पाँच सय दरको टिकट काट्नुपर्नेछ ।
विद्यार्थीको हकमा एक सय दरको टिकट लाग्नेछ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.