पोखरा
ताण्डव संवाददाता ।
बिदाको दिन पनि ग १३ प ३८६१ नम्बरको रातो प्लेटको बाइक पोखरा बजारमा कुदि रहेको हुन्छ । त्यो बाइकमा पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक महाशाखा प्रमुख तथा बरिष्ठ अधिकृत ओमराज पौडेल हुइँकिन्छन् ।
तर त्यो रातो नम्बर प्लेट भएको बाइक पौडेलको आफ्नो पैसाले भने किनेका होइनन् । महानगरपालिकाले कर्मचारीलाई कार्यालय आउन जानको लागि र कार्यालय प्रायोजनको लागि दिएको हो । कार्यालय समय बाहेक पनि पौडेल त्यही सवारी लिएर आफ्नो व्यक्तिगत काममा हिडेँका हुन्छन् ।

मेयर मानबहादुर जिसीले ६ महिना अघिदेखि महानगरपालिकाको सवारी साधन रातो प्लेट हटाएर सेतोमा परिणत गर्न निर्देशन दिएपनि उच्च पदका कर्मचारीले अटेर गरेका छन् ।
ओमराज बाहेक निरिक्षण महाशाखा प्रमुख बसन्त चालिसे, कानुनी शाखा प्रमुख नारायण शर्मा, स्टोर शाखा प्रमुख चुडामणि तिवारी, अधिकृत दुर्गा न्यौपाने, ईन्जिनियर धुव्र भट्टराई, जगन्नाथ कोइराला, रविचन्द्र घिमिरे, जुनियर ईन्जिनियर पद्मा पौडेल, नायव सुब्वा विष्णु प्रसाद बराल,रवीन्द्र अधिकारी,लेखा अधिकृत झलक आचार्य, विश्वभुषण खनाल, रेशम जिसी, लेखा सहयोगी गोविन्द राई लगायतका एक दर्जन बढी कर्मचारीले मेयरको निर्देशन अटेर गर्दै आएका छन् ।
बिहीवार मेयर जिसीले तीन दिन भित्र रातो प्लेटलाई सेतोमा परिणत नगरे महानगरपालिका कार्यालय भित्र सवारी प्रवेश गर्न नदिने कडा निर्देशन दिएको एक कर्मचारीले बताए । ‘जसले नियम पालना गर्नुपर्छ भनेर तल्लो तहका कर्मचारीलाई सिकाउनु पर्ने हो उही मेयरले भनेको मान्दैनन,’ ती कर्मचारीले भने,‘रातो नम्बर प्लेट भएपछि त सरकारी सम्पत्तीको दुरुपयोग गर्न मज्जा आउने भयो ।’
कुरा मोटरसाइकको मात्र होइन महानगरपालिकाको योजना महाशाखाले प्रयोग गर्ने पिक अप भ्यान पनि रातो प्लेटमा दुरुपयोग हँुदै आएको गुनासो छ । महानगरपालिकाको मातहतमा रहेको तीन वटा गाडीले भने मेयरको निर्देशन मानेर सेतो नम्बर प्लेट हालेका छन् ।
रातो नम्बर प्लेट भएपछि जति बेला प्रयोग गरेपनि हुने भएकोले सेतो नम्बर प्लेट हाल्न यि कर्मचारीले अटेर गरेका हुन् ।
नियम अनुसार सरकारी सवारी साधन बिदाको दिन प्रयोग गर्दा सम्बन्धीत कार्यालय वा जिल्ला प्रशासन कार्यालयबाट अनुमती लिनुपर्ने नियम छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.