www.tandavnews.com
Fact ~ In search of truth

व्यवसायमा जम्दै ‘जुम्ल्याहा’

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

गर्भमा सँगै । शारिरीक अंगको विकास पनि सँगै हुनु स्वभाविकै थियो ।

आमाको दूधको भागेदार पनि बराबर । एउटै काखमा हुर्के, एउटै आँगनमा खेले । पढ्दा एउटै कक्षामा । सोच विचार पनि उस्तै । एसएलसीसँगै अनि उच्च शिक्षा पनि । यती मात्र होइन कम उमेरमा सफल व्यवसायीको रुपमा नाम अनि पहिचान पनि बराबर ।

Batas

अहिले दुई ज्यान एक मुटु भनेर बजारमा उनीहरुलाई चिन्छन् । उनीहरु अर्थात अकिन र एजिन श्रेष्ठ दाजुभाई हुन् । जन्मदा मात्र पाँच मिनेटले अकिनले दाइको दर्जा पाए अनि एरिजले भाईको ।

यि जुम्ल्याहा दाजुभाईले व्यवसायिक यात्रामा पनि एकले अर्कोलाई बलियो आधार मानेर अघि बढे । अहिले यिनीहरु ‘टुविन्स किराना सप्लायर्स र लेक मण्डला लाउञ्ज बार’को सञ्चालक हुन् । यिनीहरुले जीवनमा सबै दुख भोग्दै परिश्रम त गरेर शिखरको यात्रा तय गर्न सफल भएका छन् ।

हुन त परिश्रम मात्र गरेर मान्छेले सफलता पाउछन् भन्ने होइन जुन कुरा यि जुम्ल्याहा दाजुभाईले राम्रोसँग बुझेका थिए । दाजुभाईले परिश्रम मात्र गरेनन् जुन काममा आत्मसन्तुष्टी मिल्छ र राम्रो आम्दानी हुन्छ त्यही बाटो रोजे । अरुकोमा काम गर्दाको पीडा बुझेका अकिनले आफ्नो काम आट्न निकै सोच्नु प¥यो तर उनलाई नतिजा उत्कृष्ट हाँसिल हुन्छ भन्नेमा पूर्ण आत्मविश्वास थियो ।

त्यही विश्वासको तान्द्रोमा अकिन मात्र होइन भाई एरिजले पनि सहयात्रीको रुपमा भुमिका खेले । टुविन्स किराना सप्लायर्स, लेक मण्डला लाउञ्ज बार र एघार वटा ट्रक मार्फत देशभर मालसामान सप्लायर्सको व्यवसाय संचालन गरिरहेका अकिन र एरिजको बिगतको पाना पल्टाउने हो भने अनौठो अनि प्रेरणादायक पात्रको तक्मा दिन योग्य छ ।

तनहँुको भानु नगरपालिका–१२, बयापानीमा जन्मेका दाजुभाई कक्षा चार पढ्दा पोखरा आएका हुन् । गाउँकै विद्यालयमा कक्षा चारमा पढेको भए पनि पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा आएपछि उनीहरुलाई कक्षा एकमा भर्ना गरियो । होस्टेलको साँघुरो कोठा र सहरको सिमित धरातलमा व्यतित विद्यार्थी जीवनले भविष्यमा सफल व्यवसायी हुने सपना भने देखिरहेको थियो ।

एरिज सम्झन्छन् ‘गाउँकै विद्यालयमा पढिरहेका थियौ । बुबा हामी सानै छँदा दुर्घटनामा बित्नु भयो । बन्दिपुरमा भएको मामाले भान्जाहरुलाई राम्रो विद्यालयमा पढाउनु पर्छ भनेर आमासँग सल्लाह गरेर हामीलाई पोखरा ल्याउनु भयो ।’

०६७ सालमा दाजुभाईले एकैसाथ एसएलसीको परिक्षा सकाए । केही नगरी बस्न मनले मानेन् र अकिनले मामाकै सल्लाहमा गणेश टोलमा ‘टुविन्स किराना सप्लायर्स’ संचालनमा ल्याए । भाई एरिजले दाजुको आँटमा हौसला थप्ने काम गरे हेल्पर भएर । किराना सप्लायर्समा उनीहरु आफैं खटिन्थें । साइकलमा खाद्यान्नका सामानहरु बजारका खुद्रा पसल र व्यक्तिका घरमा पुर्याउन्थे । चामलका बोरा र ग्यासका सिलिण्डर तीन, चार तला माथि काँधमा हालेर डेलिभरी गर्नु उनीहरुको दैनिकी बनेको थियो ।

शरिरमा लगाएको लुगा दिनभरीको चर्को घाममा निर्थुक्क भिज्ने गरी काम गरिन्थ्यो । अकिन बताउँछन् । ‘मलाई तर पनि कामको रेस पुगेकै थिएन,’ उनी भन्छन्, ‘दाजुभाईको मित्रवत सम्बन्धले नै व्यवसायको दायरा फराकिलो बनाउन सहज भईरहेको थियो ।’

व्यवसायको अविचलित यात्रामा यहाँसम्म आईपुग्दा ‘टुविन्स किरान सप्लायर्स’ले गण्डकी र धौलागिरीका स्थानहरुमा खाद्यान्न वस्तुहरु बिक्री गर्दै आईरहेको छ । वस्तु किनबेच मात्र नभई समाजिक अर्थतन्त्रको बद्लिदो संरचनालाई पछ्याउँदै टुविन्सले हस्पिटालिटी सेक्टरमा समेत चर्चा कमाएका छन् ।

०७४ असार देखि लेकसाइडको हल्लनचोक स्थित संचालनमा आएको लेक मण्डला लाउञ्ज बारले स्थापनाको छोटो समयमै गुणस्तरीय सेवाको प्रभावले उपभोक्ताको मन जितिसकेको छ ।

ट्रान्सपोर्ट, किराना सप्लायर्स र लाउञ्जबारको व्यवस्थापन प्रत्यक्ष दाजु भाईले नै गर्दै आएका छन् । अत्यन्तै कम पुँजीबाट सुरु गरिएको किराना व्यवसायले लेक मण्डला लाउञ्ज बारको संचालनसम्म आईपुग्दा हाल उनीहरुले सय जना भन्द बढी जनशक्तिलाई रोजगारी प्रदान गरेका छन् ।

सामान्य किराना पसलको संचालनबाट व्यवसायको यात्रा थालनी गरेका टुविन्सको विगत सात वर्ष देखिको लगनशिलतालाई देखेर उनीहरुलाई विद्यालयमा पढाएका शिक्षक देव क्षेत्री नतमस्तक हुन्छन् । ‘मैले उनीहरुलाई पश्चिमाञ्चल स्कूलमा पढाउँदा देखि नै राम्रोसँग चिन्छु,’ क्षेत्री थप प्रतिक्रिया जनाउँदै भन्छन्, ‘विद्यालयस्तरको अध्ययनमा लगनशिल भएजसरी नै व्यवहारिक जीवनमा पनि उनीहरु आफ्नो काम र उद्देश्यप्रति इमानदार भएर नै सफलता प्राप्त गरेका हुन् ।’

टुविन्सको सकारात्मक कामप्रति हौसला प्रदान गर्दै आएका क्षेत्रीले जब लेक मण्डला लाउञ्ज बारले पूर्णता पायो उनी हतारमा पुग्दै अकिन र एरिजलाई लाउञ्ज बारकै बारमा भेटेर काँधमा धाप लाउँदै भने ‘यू डिड वेल टुविन्स, गुड लक !’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.