पोखरा
ताण्डव न्यूज ।
ताङतिङ युव क्लवले कास्कीको मादी गाउँपालिका वडा नम्बर २ ताङतिङमा चैत्र मेला २०७४ को आयोजना गर्ने भएको छ ।
‘समाज, राष्ट्र निर्माण हाम्रो अभियान, ताङतिङ गाउँ प्रकृति र मौलिकतासँगै रमाऔं ।’ भन्ने मुल नाराका साथ चैत्रको २१ देखि २४ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

पर्यटन प्रबद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास गाउँ वरपर पाइने जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले उक्त मेला आयोजना गर्न गरिएको आयोजक ताङतिङ युवा क्लवका अध्यक्ष भोजबहादुर गुरुङले बताए ।
पोखरा देखि २७ किलो मिटर उतर पूर्वमा समुन्द्र सतह देखि १६ सय ५० मिटर उचाइमा रहेको ताङतिङमा पर्यटन प्रबद्र्धन, स्थानीय कला संस्कृतिको विकास गर्न क्लवले हरेक बर्ष मेला आयोजना गर्दै आएको छ ।
चार दिन सम्म चल्ने मेलामा ताङतिङ गाउँमा तयार गरिएको राडि, पाखि, भाङग्रा, डोको नाम्लो, डालो, मान्द्रो, भकारी जस्ता सामाग्री र जैविक विविधताले भरिपूर्ण ताङतिङ गाउँ आसपासमा पाइने बहुउपयोगी र बहुमुल्य जडीबुटिहरु यार्सागुम्बा, पांच औले, सतुवा, निर्मसी, चिराइतो आदिको प्रबद्र्धन र संरक्षणमा टेवा पुग्ने विश्वास आफुहरुले लिएको क्लवका अध्यक्ष गुरुङले जानकारी दिए ।
मेला अवलोकनमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले गाउँको संस्कृतिसंगै गाउँमा पाइने विभिन्न अर्गानिक परिकार संगै अन्नपूर्ण र लमजुङ हिमालको मनोरम दृश्यको अवलोकन गर्न सक्ने बताउँदै गुरुङले गाउँमा आउने पर्यटकलाइ लक्षित गरी १४ वटा होम स्टे र ५ वटा होटलहरु सञ्चालनमा ल्याएको बताए ।
२९ औ संस्करणको मेलामा संस्कृतिको संरक्षण र प्रबद्र्धन संगै विविध खेलकुदका कार्यक्रमहरुको समेत राखिएको आयोजकले जनाएको छ । मेलामा पुरुष भलिवल प्रतियोगिता, महिला भलिवल प्रतियोगिता, बास्केटबल, छेलो, डोरी तान्ने, सामुहिक लोकनृत्य लगायतका कार्यक्रम हुनेछन ।
विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिवलमा प्रथम पुरस्कार ५० हजार, द्धितिय पुरस्कार ३० हजार, महिला तर्फ प्रथम र द्धितियलाई क्रमश ३० हजार र २० हजार, पुरुष बास्केटबलमा प्रथमलाई ५० हजार र द्धितियलाई ३० हजार, छेलोमा प्रथम हुनेलाई १० हजार र द्धितियलाई ५ हजार, डोरी तान्ने तर्फ प्रथमलाई १० हजार र द्धितियलाई ५ हजार र सांस्कृतिक कार्यक्रम तर्फ सामुहिक लोक नृत्यमा प्रथम हुनेलाई ४० हजार, द्धितियलाई ३० हजार, तृतियलाई ३० हजार, उत्कृष्ट भेषभुषा ५ हजार र उत्कृष्ट नृत्य निर्देशकलाई ५ हजार, आकर्षक मेडल, प्रमाणपत्र र शिल्ड पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
मेलाबाट आम्दानी भएको रकम युवाहरुको लागि नेतृत्व विकास, खेलकुद विकास, होम स्टे विकास र स्थानिय कला संस्कृति र जैविक विविधताको संरक्षणमा खर्च गरिने आयोजक युवा क्लवले जनाएको छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.