www.tandavnews.com
Fact ~ In search of truth

प्रधानमन्त्री ओली भन्छन् ‘सरकार निर्धक्क भएर काम गर्छ’

काठमाडौँ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “देशले राजनीतिक स्थायित्व प्राप्त गरेको छ । अब सरकार ढुक्कले देशमा विकासको मूल फुटाउने काममा लाग्छ । सरकार दायाँबायाँ अल्मलिने छैन । सबै क्षेत्रले सहयोग गर्नुहोस् ।”

Batas

राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित दोस्रो सहकारी महासम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सरकारले कार्ययोजनाका साथ काम शुरु गरिसकेको जानकारी दिनुभयो ।

अहिलेको मुलुकको अर्थतन्त्र अनुकूल छैन, अप्ठ्यारो अवस्थामा रहेको छ, यस्तो अवस्थालाई सदाका लागि अन्त्य गर्न सरकारको प्राथमिकता रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले आर्थिक सुशासन कायम गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “दुई छिमेकीको साथ र सहयोग लिई उनीहरुको विश्वास लिएर सरकारले काम गर्छ, उनीहरुले पनि सरकारसित सहकार्यका लागि तत्परता देखाइरहेका छन् ।” प्रधानमन्त्री ओलीले सामाजिक न्याय र समानताका कुरा गर्दा अधिनायकवाद नआउने स्पष्ट पार्दै संघीय लोकतान्त्रिक गणतन्त्र कसैले दिएको उपहार होइन, नेपाली जनताले दुःख गरेर ल्याएको व्यवस्था हो भन्नुभयो ।

मुलुकको आर्थिक समृद्धि हासिल गर्न सहकारी अपरिहार्य भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सहकारीको विकासका लागि सरकारको ध्यान गएको छ भन्नुभयो ।

दुईदिने सो सम्मेलनमा नेपालसहित दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०, जापान, इण्डानेशियालगायतका देशका सहकारी विज्ञको सहभागिता रहेको छ । दुईदिने सम्मेलनमा सहकारी आन्दोलनका उपलब्धि, सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले खेल्ने भूमिका, सहकारी विकासका लागि आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल हुनेछ ।

सो अवसरमा अर्थमन्त्री डा युवराज खतिवडाले सहकारीको संख्यात्मक वृद्धिका साथमा गुणात्मक विकासको आवश्यकता रहेको उल्लेख गर्दै आगामी दिनमा सहकारीसित भएका पूँजी पर्यटन, कृषि, जलस्रोतलगायतका क्षेत्रमा थप परिचालन गर्न सक्ने वातावरण सरकारले मिलाइदिने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक लोकतन्त्रका साथमा आर्थिक लोकतन्त्रलाई पनि सुदृढ बनाउनुपर्छ, सहकारी क्षेत्र आर्थिक समृद्धिको मेरुदण्डका रुपमा थप बलियो बनाउनुपर्छ ।”

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले सहकारी क्षेत्रलाई अझ सुदृढ बनाउन विनियमावली संशोधनका क्रममा रहेको जानकारी दिँदै सहकारीलाई उत्पादनसित जोड्नुपर्छ भन्नुभयो । उहाँले कृषि क्षेत्रमा सहकारीलाई थप आकर्षण गर्न मन्त्रालयले गृहकार्य गरिरहेको चर्चा गर्नुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले गरिबी निवारण गर्ने माध्यमका रुपमा सहकारी क्षेत्रलाई थप प्रवद्र्धन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको योगदान उच्च रहेको हुँदा अगामी दिनमा सहकारीलाई बलियो बनाउँदै लानुपर्छ भन्नुभयो ।

सम्मेलन आयोजक संस्थाका अध्यक्ष केशव बडालले छिटो सहकारी विनियमावली ल्याउन माग गर्नुभयो ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.