www.tandavnews.com
Fact ~ In search of truth

गाभर भ्यालीः गर्मीमा छहारी

सुरज हजारे दाहाल

नेपालकै सबैभन्दा गर्मी जिल्लामा पर्ने पश्चिम तराईको बाँके जिल्लामा नै शितल उपत्यका छ, गाभर भ्याली । चैत, वैशाखको उखरमाउलो गर्मी होस् या पुष माघको ठण्डी यहाँ सदाबहार शितल र न्यानो मात्र हुन्छ ।

बाँकेको चिसापानी स्थित गाभर भ्याली कोहलपुरबाट नजिकै छ । एक वर्ष यता होमस्टेको लागि यो ठाउँ निकै कहलिएको छ । बाँके निकुञ्ज पनि नजिकै रहेकोले गाभर भ्याली थप चर्चामा आएको छ । समथर तराईमा भएर पनि चुरे पहाडसँग जोडिएको भएकोले यसलाई भ्याली भनिएको हो ।

Batas

गाभरमा थारु, हुम्ली र मुगाली गरि जम्मा तीन संस्कृति पाइन्छ । यि तिन जातीका अलग–अलग परिकार नै यस होमस्टेको मुख्य विशेषता हो । शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाको दिन यहाँ आन्तिर पर्यटकको भिड लाग्ने गर्छ । विशेष गरि नेपालगञ्जको गर्मी छलेर शितलता लिन स्थानीयहरु ओइरिने गर्छन् । हिमाली भेगको मुगाली तथा हुम्ली र तराईको थारु संस्कृति एकै ठाउँमा पाइनुले जातीय सहिष्णुता पनि रहेको स्पष्ट हुन्छ । हुम्लाको मिठे फापर र कोदोको रोटी तथा हुम्लाकै कालो सिमीको दाल यहाँको मुख्य हिमाली परिकार हो ।

हुम्लाबाटै हरेक शनिबार त्यहाँको स्थानीय गेडागुडी तथा अन्नहरु हवाइजहाज मार्फत झिकाइन्छ । यस्तै थारु परिकारमा घोंगीको सुप तथा ग्रेभी, पोलेको लोकल कुखुरा तथा सिद्रा माछाको अचार प्रख्यात छ । सिस्नोमा फापरको पिठो हालेर बनाइने फाँडो पनि यहाँको लोकप्रिय परिकार हो । पूरै गाभरमा हरेक घरले मौसमी र बेमौसमी तरकारीको खेती गरेका छन् ।

थारु परिकारमा घोंगीको सुप तथा ग्रेभी, पोलेको लोकल कुखुरा तथा सिद्रा माछाको अचार प्रख्यात छ । सिस्नोमा फापरको पिठो हालेर बनाइने फाँडो पनि यहाँको लोकप्रिय परिकार हो ।

इतिहास

होमस्टे सञ्चालक कृष्ण चौधरीका अनुसार मुगु जिल्लामा अवस्थित रारा निकुञ्जको इलाका बिस्तार गर्ने क्रममा २०३५ सालमा रारा क्षेत्रका बासिन्दालाई तत्कालिन श्री ५ को सरकारले जग्गा उपलब्ध गराएर गाभरमा पुनस्र्थापना गराएको थियो ।

पछि विसं २०४० मा रैथाने थारुहरु पनि आएका थिए । यसरी तिन अलग भूगोल र संस्कृतिका समुदायको बासस्थानको रुपमा गाभर भ्यालीले आफ्नो पहिचान कमाएको हो । समूहमा आएमा पर्यटकलाई होमस्टेमा थारु नाच, रुकुमेरली नाच, देउडा नाच, ढालतरबार नाच पनि देखाइन्छ । आन्तिरक पर्यटक बाहेक होमस्टेमा इन्डिया, बंगलादेश, क्यानेडा तथा अमेरिकाबाट पनि पर्यटक आउने गरेको चौधरीले जानकारी दिए । हाल यहाँ ५ वटा घरमा होमस्टेको सेवा उपलब्ध छ ।

होमस्टेकै नजिक हस्ताकला केन्द्र रहेको छ जहाँबाट टोकरी, डाली, सुपा, छतरी, ढकिया खरिद गर्न सकिन्छ । बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकोले जंगल वाक गर्न सकिन्छ भने हात्ती सफारीका पनि व्यवस्था रहेको छ ।

अष्ट्रिच फार्म र च्याउ खेती

गाभर भ्यालीबाट २० मिनेट पैदलको दूरीमा अष्ट्रिच फार्म छ । दुई वर्ष अगाडि स्थापना भएको यस फार्मममा पहिलो लटका १०० वटा अष्ट्रिच बेचेर थप १०० पालिएका छन् । चल्लाहरु रुपन्देहीको फार्मबाट खरिद गरेर यहाँ पालिएको हो । फार्मको प्रवेश शुल्क विद्यार्थीलाई ५० रुपैयाँ र अन्यलाई एक सय रुपैयाँ तोकिएको छ । पाँच जना कामदारलाई तालिम दिएर अष्ट्रिचको रेखदेखमा राखिएको छ ।

अष्ट्रिचमा रोग प्रतिरोधात्मक क्षमता बढी भएकोले कुखरामा लाग्ने जस्ता रोगहरु लाग्दैन । रातो मासु भएर पनि खसी, राँगाको मासुमा जस्तो यसमा उच्च कोलेस्ट्रेल हुँदैन बरु शरीरलाई चाहिने ओमेगा फ्याट हुन्छ । विशेष गरि फार्मको अवलोकन गर्न विभिन्न जिल्लाका विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउने गरेको संचालक रमेश मल्लले जानकारी दिए ।

यस्तै कृषकहरु पनि उत्साहित भएर पाल्ने उद्देश्यले आउँछन् तर यसको लागि लगानी त धेरै लाग्छ नै खोरको लागि ठूलो तथा खुला ठाउँ चाहिन्छ । एउटै अष्ट्रिचको वजन १५० केजीसम्म हुन्छ । एउटा अण्डाको मूल्य दुई सय रुपैयाँ पर्छ भने यहाँको अष्ट्रिचको मासु पोखरा तथा राजधानीको सुपरमार्केटमा हड्डी सहितको प्रति ५०० ग्रामको प्याकेटलाई ९ सय ५० रुपैैयाँमा उपलब्ध गराइन्छ ।

यस्तै होमस्टे नजिकै नेपालमै सबैभन्दा बढी मात्रमा च्याउ खेती गरिन्छ । गर्मीमा च्याउ उब्जनी कम हुने भए पनि एयर कुलरको प्रयोग गरि बटन प्रजाती अर्थात छाते च्याउको उत्पादन गरिन्छ । नेपाली दक्ष कामदारको अभावमा भारतीय कामदारको प्राविधिक सहयोगमा च्याउ खेती गरिन्छ । हरेका दिन नयाँ बिउ छरिन्छ भने प्रत्येका दिन एक सय केजी च्याउ टिपेर हवाइजहाज मार्फता राजधानीको कालीमाटी स्थित तरकारी बजार पु¥याइन्छ ।

अन्य ठाउँहरु

नेपालगञ्ज आएकै समयमा बागेश्वरी मन्दिरको दर्शन गर्न सकिन्छ तथा नजिकैको कर्णाली पुल हेरेर चिसापानीमा माछा खाएर पुनः नेपालगञ्ज फिर्ता भई पोखरा आउन सकिन्छ ।

बसाईं र खर्च

पोखराबाट नेपालगञ्ज हरेक दिन दिउँसो ३ बजे सिधा डिलक्स बस सेवा उपलब्ध छ । कोहलपुर झरेर टेम्पुमा आधा घण्टाको यात्रामा गाभर भ्याली पुगिन्छ । यस्तै आउँदो वैशाख १ गतेदेखि पोखरादेखि नेपालगञ्जसम्म बुद्ध एयरले सिधा हवाइसेवा सुरु गर्न लागेको छ ।

नेपालगञ्जको साझा एयरपोर्टबाट २५ किमीको यात्रामा गाभर भ्याली पुगिन्छ । सडकमार्गबाट आउनेजाने बाटो खर्च तथा दुई रातको बसाईं र खाना खर्च सहित सात हजार रुपैयाँ खर्च लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.