www.tandavnews.com
Fact ~ In search of truth

मनै त हो नि हजुर !

सुमित्रा भट्टराई

कहिलेकाहीँ सानो कुराले निकै हतोत्साही बनाइदिन्छ, जिन्दगी व्यर्थै लाग्छ । कहिलेकाहीँ सानो कुरामा ठुलो खुसी मिल्छ, जिन्दगी उत्सव लाग्छ ।

भन्छन्, यो सबै मनको खेल हो । मनले गर्दा आज मन परेकाहरू भोली मन नपर्न पनि सक्छन् । हिजो अस्ती पानी बाराबार गर्न मन लागेकाहरू भोलि अतिप्रिय पनि बन्न सक्छन् ।

Batas

समय, नियत र बाध्यताले एक पटक मनमा बसेकाहरू प्रिय र अप्रिय बन्छन् । जस मनले पाउँछ ।

मनको बारेमा केके लेखिएनन् ? प्रायः माया पिरतीसँग जोडिएका गीतमा पनि मन शब्द जोडिएर आउँछ ।

केही बोलहरू: ‘यो मन बरू ढुंगा भए हुन्थ्यो, मनको कुरालाई बाँधी नराख चट्ट फुकाइदेउ, मनको हुन्न कुनै भर होईन र, मनमनै मनपराइसकेछु, मन पराउने हजार भेटिन्छन्, मनै त होनी हजुर मन परेपछि..’ अरू थप्दै जानुस् ।

मनका नाममा हिन्दी र नेपाली फिल्म पनि बने । मन पर्यो त पर्यो पर्यो जस्ता चर्चित डाइलगहरूले मनको चर्चालाई अझ चुलिमा पुर्याए ।

सानोमा आमाले मन लगाएर पढ नत्र पास भइन्न भनेको याद छ । दिमाग लाएर पढ्नुपर्नेमा हामी मन लगाएर पढिदिन्छौँ, नतिजाले अन्तै मन लगाइदिन्छ ।

सपिङगमा गयो, मन परेको लुगा हेर्यो । पुस्तकालय गयो, मन परेको पुस्तक किन्यो । रेष्टुरेन्ट गयो, मन परेको खाजा खायो । सर्वशक्तिमान मनको पहुँच सबैतिर छ ।

जसको चर्चा आज सम्म छ, देख्या छैनौँ मन कस्तो छ, मन कता छ । बस् हामीलाई मन परिदिन्छ, मन परिदिँदैन । मन भाँचिन्छ, मन दुख्छ तर कता टुक्रियो, कता भाँचियो भनेर मह्लम लगाउने ठाउँ देखिँदैन ।

कसैले कसैलाई आरोप लगाउँछन्, कस्तो मनै नभएको मान्छे ! बिचरा त्यो मनै नभएको मान्छेलाई पनि त थाहा हुँदैन होला मन छ कि छैन ।

आफूले मनै नभएको भनेको मान्छेले पनि अर्काको मन भेटाएर मनको लेन देन भ्याई सकेको हुन्छ । मान्छेको मन मिल्नु पर्ने रे ।

बिहे गर्न मन मिल्नुपर्ने रे, घुम्न जान मन मिल्नु पर्ने रे । आयतन, वतन केही नभएको मन चैँ कसरी मिल्ने हो कुन्नी ? भन्छन् नि तिम्रो मनमा के छ ? के छ ? के त्यो मनको आकारै हुन्छ होला र ? केके अटाउँछ होला मनमा ?

कसैलाई धेरै दान गरे ठुलो मन भएको मान्छे कहलिन्छ, अलिक थोरै दान गर्ने मान्छे कञ्जुस भनेर चिनिन्छ ।

मनको साईनो बोली र व्यवहारसँग जोडिन्छ । मन महसुस हो । कुनै कुरा ठिक लाग्दा हामीलाई मन पर्छ । बेठीक महसुस हुँदा मन पर्दैन ।

कसैले आत्मिय व्यवहार गरेको महसुस हुँदा मान्छे मन पर्छ, कोहीसँग आत्मियता महसुस हुँदैन मन पर्दैन । गल्ती व्यक्तिले गर्छ, दोष मनले पाउँछ ।

आकार प्रकार र स्थानबिहीन मनले जिन्दगीमा चेतनाको विकास भएपछि अन्त्यसम्म व्यक्तिलाई डोहोर्याउँछ । आफ्नो मन राख्न गरिएका कामले आफूलाई खुसी बनाउँछ ।

अरूको मन राख्न गरिएको काम होस् या प्रेम अथवा विवाह नै किन नहोस् सुखी रहन सक्दैन ।

सोच्नुस त, तपाईले आजसम्म यो शब्द कति पटक लेख्नुभयो ? कति पटक बोल्नुभयो ? ख्याल गरिएन होला । हामीले सबै भन्दा बढी बोल्ने विषयमै पर्छ मन पनि ।

मनले निर्देशित गर्यो भन्छौँ । हाम्रा व्यवहारलाई मनले चलाउँछ । हाम्रो विचारलाई मनले डोहोर्याउँछ । कसैले तपाईको तारिफ गरिदिए उ मन पर्छ । कसैले आलोचना गरिदिए, उ प्रति मन मर्छ ।

कतिले कतिलाई मनमनै मन पराउँछन् । मनलाई थाहा भईरहेको कति कुरा अभिव्यक्त नभएका पनि हुन सक्छन् ।

मन संवेदनशील पनि हुन्छ । त्यही भएर त मनसँग जोडिएका विषयलाई हामी फाईदा सँग जोड्दैनौँ । सन्तोष र तृप्तीसँग जोडिन्छ । मन खुसी भए जीवन नै उज्यालो लाग्न थाल्छ ।

मन नपर्दा नपर्दै कसैसँग बोल्नुपर्दा, मन नलागेको काम गर्नुपर्दा होस् या मन नलागेको ठाउँ जानुपर्दा हामीलाई असफलता नै हात लाग्छ ।

मनलाई कसरी खुसी बनाउने त ? कसैप्रति पनि अपेक्षा कम गर्नु नै मन खुसी हुने एउटा उपाय हो । तपाईले कसैसँग धेरै अपेक्षा गर्नुभयो ? कुनै कामको प्रतिफल अति धेरै चाहनुहुन्छ अथवा तपाईलाई सधै राम्रो नतिजा चाहिन्छ भने पनि तपाईको मन दुखी भइरहन्छ ।

यो जीवन त होनी बिस्तारै सबैथोक मिल्दैजाला भनि सम्झने मान्छे जीवनमा कमै दुखी हुन्छ । मन खुसी भए मुहारमा यसै शान्ती छाउँछ ।

मन अथवा व्यक्ति भित्रैबाट असन्तुष्ट छ भने नत उ स्वयम् खुसी हुन्छ । नत उसको जिन्दगीमा अल्झिएका अरू व्यक्ति नै । अफिसमा कार्यालय प्रमुख होस् या सहायक ।

घरमा मुली होस् या सबैभन्दा कान्छो सदस्य । उनीहरूको सुख र खुसीलै तपाईको मनलाई सन्तोष दिन्छ । जिन्दगीसँग जोडिएका सबै चिजसँग मनको साईनो हुन्छ ।

मनसँग हार खाएर कसैले ढुंगा बनाउन खोजे, मन ढुंगा जस्तै भएर कसैले फूल जस्तै बनाउन खोजे । मनसँग जोरी खोज्नु आफैलाई दुखी बनाउनु जस्तै हो । अरूलाई हानी नपुर्याउनुस् तर मनलाई घाईते पनि नराख्नुस् ।

मनले तपाईको अवस्था चित्रण गर्दछ । मनले तपाईलाई गति दिन्छ । कहिलेकहीँ मनले धोका पनि दिन्छ । मनै त होनी हजुर । यहाँ जे छ, मनकै छ ।

जे गर्छ मनले नै गर्छ । मन खुस् त जिन्दगी खुस् ।

Email: [email protected]/ Twitter : @farsumitra

लेखकबाट थप:

चिया खानु भो त !

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.