www.tandavnews.com
Fact ~ In search of truth

‘स्टडी रुम’ सजाउनुभन्दा ज्ञान बटुल्नु महत्वपूर्ण हो

पोखरा
ताण्डव न्यूज ।

महिलाहरुको पक्षमा आफ्नो कलमबाट समानता अधिकारका कुरा उठाउँदै आएकी सावित्री गौतम गहिरो अध्ययन गर्ने र शक्तिशाली लेखक हुन् ।

पत्रपत्रिकामा फुटकर लेखेरै राष्ट्रिय व्यक्तित्व बनाउन सफल गौतमसँग गरिएको पुस्तक संवाद :

Batas

कस्ता पुस्तक पढ्न रुचाउनुहुन्छ ?

म गैरआख्यान अर्थात नन फिक्सन धेरै पढ्छु । जुनसुकै विषयमा लेखिएका हुन् , गैरआख्यानका किताब मेरो प्राथमिकतामा पर्छन् । यो मेरो सुरुदेखिकै (कोर्सबाहिरका किताबको गम्भीर अध्ययन ) रोजाइ हो ।

अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

सिल्भिया वाल्बीको ‘थियोराइजिङ पेट्रियार्की’ र अमत्र्य सेनको ‘द कन्ट्री अफ फस्र्ट ब्वाइज’ आधा आधा पढेर छोडेको थिएँ । अहिले यी दुबै किताब सँगसँगै पढ्दैछु ।

जीवनमा पुस्तकको महत्व कति हुन्छ ?

त्यो कुनै व्यक्तिको व्यक्तिगत रुचि र पेशागत आवश्यकताले निर्धारण गर्ने कुरा हो । पुस्तक पढ्नु तपाईंको रुचि हो भने तपाई पुस्तकभित्रै अर्को दुनिया भेटाउनुहुन्छ, पात्रहरु साथी बन्छन् वा लेखकसँगै नयाँ–नयाँ ठाउँ घुम्नुहुन्छ ।

तपाईलाइ पुस्तक हरेक दिन भेटेर गफ नगरी नहुने साथीजस्तो लाग्न थाल्छ । त्यस्तै पेशागत रुपले तपाईलाई सम्बन्धित पेसामा अझ बढी जानकारी दिनका लागि पनि पुस्तक महत्वपूर्ण आवश्यकता हुन्छ । म आफू निकै धेरै किताब पढ्छु, कलेज पढ्दा मेरो मिल्ने साथीले म उसको घर आउँदैछु भनेपछि कोठामा यताउता देखिने किताबहरु लुकाउँथी, म पढेर बस्दिन्छु र गफ गर्नै पाईंदैन भनेर ।

तर पुस्तक पढ्ने मान्छे भयंकर राम्रो र नपढ्नेहरु खतम हुन् भन्ने चाहिँ मलाई लाग्दैन । म आफू यो किताब पढ्दैछु भनेर फेसबुक ट्विटरमा फोटो खिचेर हाल्दिन पनि ।

तपाईंलाइ मन परेको पुस्तक ?

निकै धेरै छन् । ती मध्ये महिलाले लेखेका केही किताब मेरा लागि अविष्मरणीय छन् जसमा उनीहरुले आफ्नो संघर्षले र अरुको जीवन बदलेका कथा छन् । मैले असाध्यै धेरैपटक नाम लिने किताब नोबेल शान्ति पुरस्कार विजेता मानव अधिकारकर्मी शीरीन एबादीको ‘इरान अवेकनिङ’ हो । एघार वर्षअघि मैले त्यो किताब पढेको थिएँ ।

सम्पन्न परिवारकी एबादीले विपन्न महिलाको मानव अधिकार रक्षाको लागि लडेको लडाई , निर्वासित समेत हुनुपरेको र नोबेल पुरस्कार विजयसम्मको यात्रा निकै प्रेरणादायी छ । विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ पनि मेरो मनपरेको किताब हो । त्यसमा केन्द्रीय पात्र इन्द्रमाया मार्फत लेखकले दाम्पत्य र प्रेमको बीचको विशिष्टता के हो भनेर खुट्टयाएको विषय निकै मोहक लाग्यो मलाइ ।

रुसी साहित्य पनि निकै पढेको छु । म्याक्सिम गोर्कीको सिरिज छ तीनवटा किताबको ‘बाल्यकाल, मान्छेहरुको माझमा र मेरा विश्वविद्यालयहरु’ भन्ने, ती तीनैवटा मन परे । पाकिस्तानी लेखक तेहमिना दुर्रानीको आत्मसंस्मरण ‘माइ फ्युडल लर्ड’ ले बाहिरबाट जतिसुकै सम्भ्रान्त, शक्तिशाली र आधुनिक देखिने परिवार भएपनि बन्द समाजमा महिलाको स्थिति के हुँदोरहेछ भनेर देखाएको छ ।

आख्यानमा मेरो टेस्ट भनेको सानै उमेरमा बसेको ’क्लासिक’ किताबप्रतिको टेस्ट नै हो । नयाँ किताबहरुमा मोहन मैनालीका दुइ गैर आख्यान ‘उपल्लो थलो’ र ‘मान्ठा डराएको जुग’ मनपरेका किताब हुन् । जनकराज सापकोटाको गैरआख्यान ‘कहर’ विषयवस्तुका हिसाबले निकै महत्वपूर्ण किताब हो ।

उपहार दिँदा कस्ता पुस्तक दिनुहुन्छ ?

कसैसँग संगत गरेको आधारमा उसको व्यक्तित्व विचार गरेर किताबहरु उपहार दिन्छु । जस्तै, एकजना भारतीय साथी छ आस्था , समाजसेवामा असाध्यै रुचि छ उसको ।

ऊ फर्केर जाँदा मैले जोन उडको ‘लिभीङ माइक्रोसफ्ट टु चेन्ज द वल्र्ड’ किताब उपहार दिएर पठाएँ । मेरो स्कुलदेखिको साथी छ भरत भन्ने, मैले उसको बिहेमा बाबुछोराको सम्बन्ध वर्णन भएको ‘कर्नाली ब्लुज’ उपहार दिएँ । मेरी आमाले ७ वर्षमा स्कुल पढ्न शुरु गरेको र तीन महिनामै आमा बितेको कारण “घर धान्न“ भनेर स्कुल छोड्नुपरेको थियो रे ।

आमालाइ मैलेभन्दा बढी पुस्तकले हौस्याउला कि भनेर शान्ता चौधरीको ‘कमलरीदेखि सभासदसम्म’ भन्ने किताब उपहार दिएँ । यस्तैयस्तै ।

नेपालका उत्कृष्ट ५ लेखक को–को लाग्छन तपाईंलाई ?

मलाई उत्कृष्ट लाग्ने लेखक धेरै छन् । तर उत्कृष्ट ५ भनेको कुनै एउटै खालको प्रतियोगिताबाट मात्रै छुट्याउन सकिने कुरा हो । एउटै विषयमा लेख्न दिइने निबन्ध वा वक्तृत्वकला प्रतियोगिताबाट छुट्याएको जस्तो ।

त्यसैले फरकफरक विधा, विषय र कथावाचनको आफ्नै पृथकपृथक तरिका भएका लेखकहरुबीचमा उत्कृष्ट ५ छुट्याउन म चाहिं सक्दिन । एक त यो तरिका नै अवैज्ञानिक हो , दोस्रो म आफूलाइ त्यति ठूलो धृष्टता गर्नसक्ने मान्छे ठान्दिन ।

तपाईंको आयको कति खर्च किताबका निम्ति गर्नुहुन्छ ?

म अहिले कुनै घरबाहिरको निश्चित तलब आउने काम गरिरहेको छैन । जुनबेला गर्थें त्यो बेला पनि म ‘यति रकम पुस्तकका लागि छुट्याउने’ भन्नेजस्ता फर्मुला पालना गर्दिनथें । पढ्न आवश्यक परेका किताब जति पैसा परेपनि किन्छु , जहाँबाट भएपनि मगाउँछु । अहिले क्याम्पसको क्वार्टरमा बस्छु ‘स्टडी रुम’ को लागि ठाउँ नै छैन ।

घरका सदस्यहरुले टिभि हेरिरहेको समयमै म सोफाको कुनालाइ स्टडी रुम र राइटिङ टेबल दुबैको रुपमा प्रयोग गर्न सक्छु । पछि महिनामा यति रकम किताबको लागि भनेर स्टडी रुम भर्न पनि सक्छु कि ? अहिले भने त्यस्तो कुनै आदत छैन ।

मेरो लागि महिनाको ’निश्चित रकम’ खर्चेर किताब बटुलेर ‘स्टडी रुम’ सजाउनुभन्दा बढी ज्ञान बटुल्नु महत्वपूर्ण कुरा हो ।

केटाकेटी हुँदा घरमा कस्ता किताब थिए ?

थरीथरीका किताब थिए । उनै आम नेपाली घरहरुमा हुनेजस्ता महाभारत, रामायण, भागवतगीता, गुणरत्नमाला आदि त भैहाले । चारकक्षामा पढ्दा दाइले सुनकेस्राका कथा र अरु दुइतीनवटा किताब किनेको र मैले पढेको याद आउँछ । बुवा र काकाहरुले सरिता, कादम्बिनी, इन्डिया टुडेजस्ता हिन्दीका म्यागाजिनहरु पनि नियमित किनेर पढ्नुहुन्थ्यो ।

हिन्दी जसोतसो बुझ्ने कोशिस गर्दै म पनि पढ्थें । मेरो एकजना काकाको बि .ए. को कोर्समा भएको बट्रान्ड रसेलको रसेल्स फाइव र रसेल्स सिक्स गरी दुइवटा किताब पनि याद आउँछ मलाई । सानोमा वास्ता गरिएन । अलि गम्भीर किताब पढ्ने बानी भएपछि मैले घरमा ती किताब निकै खोजें तर भेटिन ।

नयाँ पुस्तकलाइ किताबतिर कसरी तान्ने ?

यो बारेमा त मैले लेख्न खोजेकै निकै धेरै समय भयो । नयाँ पुस्ता कसलाई भन्ने, उसका लागि कस्तो किताब कसले लेखिदिने आदिबारेमा । युवाहरुलाई कसैले ‘हल्काफुल्का’ किताब लेखिदिनुपर्यो र अनि मात्र उनीहरुले ती किताब पढिदिन्छन र हामीलाई गुन लगाइदिन्छन् , पठन संस्कृति बढ्छ जस्ता कुरा मलाई अनौठा लाग्छन् ।

पढ्ने रुचि भएको मान्छेले आफ्नो रुचिअनुसारको किताब आफै पहिल्याउँछ र पढ्छ, उस्तै परे लेख्छ पनि । नत्र बृद्द नै भैसकेपनि कसैलाई गम्भीर किताब मन नपर्न सक्छ ।

पन्ध्र वर्ष नपुग्दै नागरिकतामा उमेर बढाइबढाई वर्षको पाँच लाखको दरले युवाहरु बिदेसिने देशमा रेमिट्यान्सले छियाछिया पारेको समाजको चित्र देखाइएको र जम्मा २९ वर्षका जनकराज सापकोटाले लेखेको कहरलाई ‘बुढाबुढीले पढ्ने गम्भीर किताब’ भनेर थन्क्याइदिने कि झन नेपाली युवाले पढ्नैपर्ने विषयवस्तु भएको किताब भन्ने ?

मैले अंग्रेजी साहित्य पढें, जहाँ सिल्भिया प्लाथ, जोन किट्स , भर्जिनिया वुल्फ जस्ता युवा उमेरमै निकै गम्भीर साहित्य लेखिकन ३५ वर्ष नपुग्दै मृत्यु भइसकेका लेखकलाई पढें ।

त्यसैले पनि हो कि म यो आजकलको ‘युवाले पढ्ने किताब’ वाला बहससँग तालमेल मिलाउन सक्दिन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.