www.tandavnews.com
Fact ~ In search of truth

दार्जिलिङ : पहाडको छुकछुके रेल …

सुरज हजारे दाहाल ।

नेपाली नागरिकको झैं वर्ण र थर भएका नेपाली भाषी भारतीय नागरिकको पहाडी सहर हो दार्जिलिङ ।

करिब १७२ वर्ष अगाडि दार्जिलिङ नेपालकै भूभाग थियो तर सन् १८१४ देखि १८१६ सम्म भएको नेपाल अंग्रेज युद्ध पछि गरिएको सुगौली सन्धीको कारण नेपालले दार्जिलिङ गुमाएको थियो । हाल यो रमणीय सहर भारतको पश्चिम बंगाल राज्य अन्तरगतको एक पहाडी जिल्ला हो । औषत उचाई २१३४ मिटर रहेको दार्जिलिङलाई इष्ट इण्डिया कम्पनीले हिल स्टेशन बनाएको थिया ।

Batas

अन्तर्राष्ट्रिय रुपमा यहाँको अर्थोडक्स चिया विश्वभर प्रसिद्ध छ जसको खेती सन् १८०० देखि गरिएको थियो । विश्वसम्पदा सूचिमा राखिएको कोइलाबाट चल्ने रेल यस पहाडी जिल्लाको एक महत्वपूर्ण चिनारी हो ।

भारु ६५० तिरेपछि रेलवे स्टेशनबाट घुम भन्ने ठाँउसम्म रेलले दार्जिलिङको भ्रमण गराइदिन्छ । रेल गाडी बत्तिसा लूप भन्ने ठाउँमा १० मिनेट रोकिन्छ । फूलबारीको बिचमा रेल रोकिएपछि पर्यटकहरुले केहि बेर तस्विर खिच्छन् ।

 

कानै दुख्ने गरि रेल चालकले हर्न बजाएपछि फेरि रेल अगाडि बज्छ । कालो धुँवा फाल्दै छुकछुके रेल सडकको बिचबाट पनि गुड्ने भएकोले आवाज सुने लगत्तै अन्य जिप तथा बसहरु साइड लाग्छन् ।

घुमाउरो पिच बाटोको छेउ हुँदै रेल घुम भन्ने ठाउँमा गएर म्युजियममा रोकिन्छ । उक्त म्युजियममा गएर भारतको सबैभन्दा पुरानो रेल अवलोकन गर्न सकिन्छ । त्यसपछि रेलले फेरि रेलवे स्टेशन ल्याएर छोडिदिन्छ ।

रामकृष्ण ढकालको ‘पहाडको छुकछुक रेल’ तथा राजु लामाको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ म्युजिक भिडिओहरु दार्जिलिङमा छायांकन गरिएका थिए ।

रेल गाडी पछि दार्जिलिङको अर्को पर्यटकीय ठाउँ चिडिया घर हो । ट्याक्सीचोकबाट भ्यानमा १० मिनेट गुडेपछि चिडियाघर आइपुग्छ । ८० रुपैयाँको टिक काटेर गएपछि ठूलो क्षेत्रमा फैलिएको चिडियाघरमा विभिन्न जनावरहरु हेर्न सकिन्छ ।

बाघ, हिउँ चितुवा, हुँडार, फ्याउरो, मृग, याक, बन बिरालो तथा बिभिन्न चराहरु देखिन्छन् । माउन्टेन म्युजियममा सगरमाथा चढेका तेन्जीङ शेर्पाको शालिक देखिन्छ । शालिकमा तेन्जीङले नेपाल, भारत, न्यूजिल्याण्डको झण्डा बोकेका छन् ।

माउन्टेन म्युजियम वरिपरि भारतको पश्चिम बंगालका पर्यटकहरु नेपाली पोसाकमा खुकुरी र डोको बोकेर तस्विर खिच्दै गरेको दृश्य देख्न सकिन्छ ।

चिडियाघर हेरेपछि फेरि अर्को भ्यानमा चढेर केबलकार जान सकिन्छ । २४० रुपैयाँको दुईतर्फी केबलकारको टिकर काटेर केबलकारबाट चियाको बगान देख्न सकिन्छ । केबलकारको झ्यालबाट हरियो पत्ति टिप्दै डोकोमा हाल्दै गरेका कैयन महिलाहरु देखिन्छन् ।

दार्जिलिङमा धेरै बेलायती शैलीका विद्यालहरु छन् । सेन्ट जोसेफ स्कुल तथा सेन्ट जेभियर कलेजहरु त्यहाँका प्रमुख शैक्षिक संस्थाहरु हुन् । नेपालको तत्कालिन राजपरिवारले यहिको विद्यालयमा पढ्ने गर्दथे ।

उत्कृष्ट शिक्षाको कारण अझै पनि दार्जिलिङ नेपाली, भुटानी तथा भारतको अन्य प्रदेशका विद्यार्थीका लागी यो प्रसिद्ध ठाउँ हो ।

चिया बगान, रेलवे र चिडियाघर मात्र होइन दार्जिलिङमा घुम्नुपर्ने अन्य थुप्रै ठाउँहरु छन् । दार्जिलिङको अर्को रमणीय ठाउँ हो टाइगर हिल । विशेषत सूर्योदय हेर्नको लागि प्रख्यात टाइगर हिल सबेरै जानुपर्छ ।

जीप रिजर्ब गरेर मुख्य सहरबाट टाइगर हिल जान सकिन्छ । यहाँबाट हाम्रो देशको कञ्चनजंघा हिमाल पनि मुस्कुराएको देख्न सकिन्छ र त्यसैको माथि उदाँउदै गरेको सुनौलो सूर्य पनि । रक गार्डेन,जापानी मन्दिर, जैविक उद्यान पनि दार्जिलिङको दर्शनीय ठाउँहरु हुन् ।

इतिहास

कतिपयलाई यो सहर सुगौली सन्धी पछि सिधै भारतमा बिलय भएको लाग्ला तर यो सुन्दर सहरलाई भुटान र सिक्किमले पनि कब्जा गरेका थिए । प्रारम्भमा दार्जिलिङ नेपालकै एक भाग थियो ।

नेपालबाट यसलाई भुटानले सुरुमा कब्जा जमाएकोमा पछि गएर दार्जिलिङलाई स्वतन्त्र सिक्किमले कब्जा गर्यो । तर १८ औं शताब्दीमा फेरि दार्जिलिङलाई नेपालले कब्जा गरेता पनि धेरै समय यो नेपालको हुन सकेन । सन् १८१४ देखि १८१६ सम्मको नेपाल अंग्रेज युद्धमा नेपालले हारेपछि भएको सुगौली सन्धी अनुसार नेपालले दार्जिलिङ इष्ट इन्डिया कम्पनीलाई सुम्पनु परेको थियो ।

नेपालले भारतसँग सुगौली सन्धी नगरेको हुँदा बेलायतले भारत छोडेपछि दार्जिलिङलाई नेपालले फिर्ता माग्नुपर्दथ्यो तर त्यसो हुन सकेन । आफ्नो सत्ता टिकाउन तल्लिन राणाहरुले पनि दार्जिलिङ, नैनिताल जस्ता एक तिहाइ भूभाग फिर्ता माग्न सकेनन् ।

बसाई र खर्च

पोखराबाट हरेका दिन साँझ ५ बजे झापाको लागि बस छुट्छ । काँकडभित्ता नआउँदै चारआली भन्ने ठाउँमा बिहान करिब ७ बजे ओर्लिएर इलामको अन्तिम सिमा पशुपतिनगर जाने गाडी पाइन्छ ।

नेपाली भूभाग पशुपतिनगरमै दार्जिलिङ जाने भारतीय भ्यान पाइन्छ । पाँच दिनको भ्रमणको लागि यातायात, रेलगाडी, होटल तथा खाना खर्च गरि १५ हजार रुपैयाँ लाग्छ । तर इलाम पनि घुम्ने हो भने अतिरिक्त रकम लाग्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.