www.tandavnews.com
Fact ~ In search of truth

‘इन्टेरियर डिजाइन’को डिमान्ड

पोखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा/अर्जुन गिरी ।

‘पोखरा त साँच्चिकै को पोखरा नै रैछ, माछापुच्छ्रे फेवातालमा पौडी खेल्दो रैछ,’ प्रेमप्रकाश मल्लको यस रचनाबाट पनि पोखरालाई प्रकृतिले नै सजाइदिएको स्पष्ट हुन्छ ।

यहाँको प्राकृतिक सजावट हेर्नको लागि स्वदेशी मात्र होइन विदेशी पर्यटक हुरुक्कै हुने गर्छन् । प्रकृतिले लेपन लगाएको पोखरामा पछिल्लो समय होटेल तथा रेस्टुरेन्ट र अन्य संरचनाहरु पनि त्यस्तै बन्न लागेका छन् ।

Batas

प्रकृतिले श्रृङ्गारिएको पोखरामा पछिल्लो समय ‘इन्टेरियर डिजाइन’ले धेरैको ध्यान तानेको छ । विशेषगरी होटल, रेस्टुरेन्ट, लाउञ्च बार, डिस्को, अपार्टमेन्ट, घरहरुमा आकर्षण कायम राख्न इन्टेरियर डिजाइनिङको मुख्य भूमिका रहन्छ ।

बदलिँदो समयसँगै पोखे्रली व्यवसायीहरुले आफ्नै पहिचान झल्काउन र कायम राख्न इन्टेरियर डिजाइनिङलाई पछ्याउन थालेका छन् । अझै यसको प्रयोगमा लेकसाइडका व्यवसायीहरु एक कदम अगाडि देखिन्छन् ।

अब लेकसाइमा बन्ने कुनै पनि होटल, रेस्टुरेन्ट, लाउन्च बार, डिस्कोमा अझ राम्रो इन्टेरियर डिजाइनिङ गर्नु पर्ने विरौटाका स्थानीय राजेश अधिकारीले बताए । ‘विदेशमा त यसको प्रयोग गर्न थालेको धेरै भयो, नेपालमा यो कन्सेप्ट नयाँ होला,’ उनले भने, ‘यसको प्रभाव अहिले पोखरामा बिस्तारै देखिएको छ ।’

दुबईमा एक दशक बढी बिताएका अधिकारी इन्टेरियर डिजाइनमा निकै चासो रहेको सुनाउँछन् । ‘म १० वर्ष पछि घर आएँ, लेकसाइडमा बनेका नयाँ रेस्टुरेन्ट लाउन्ज बार देख्दा अलिअलि विदेशको झल्को दिन्छ,’ उनले भने, ‘तर मैले सोचेँ भन्दा धेरै नै राम्रा बनेका छन् ।’

आफूले पनि लेकसाइमा नयाँ व्यवसाय सुरुवात गर्न खोजेका अधिकारीले केही होटल र रेस्टुरेन्टले गरेको इन्टेरियर डिजाइनको नामै लिएर प्रशंसा गरे ।

डुङ्गा रेष्ट्रो एण्ड लाउञ्ज बार, रोलिङ स्टोन रक बार, लेक मण्डला, रोड हाउस, अतिथि, दि यात्रा, कुटी, क्विन्स पार्क लगायतकाले छुट्टै पहिचान हुने गरि भित्री र बाहिरी सजावट गरेको उनले सुनाए । ‘मैले रेस्टुरेन्ट खोल्ने भन्ने सोचेको थिएँ तर सजिलो छैन डिजाइन दमदार अनि छुट्टै गर्नुपर्छ,’ उनले भने, ‘अहिलेको जमानामा व्यवसायीले सेवा मात्र दिएर हुँदैन ब्रान्डको गुडविल मेन्टेन गर्न डिजाइनमा पनि उत्तिकै ध्यान दिनुपर्छ ।’

अधिकारीले आफूले नाम लिएको लेकसाइडका होटल तथा रेस्टुरेन्ट डिजाइ गरेका डिजाइनर मध्ये एक जनालाई जिम्मा दिने बताए । ‘भित्र मात्र नभएर बाहिर पनि राम्रो लुक आउट दिन सक्ने हुनुपर्छ,’ उनले भने, ‘सजावट अलग हुनुपर्छ, जसले आफ्नै पहिचान झल्कियोस् ।’


इन्टेरियर डिजाइनमा फर्निसिङ गर्नेदेखि लिएर क्लरिङ लाइटिङ, विभिन्न फर्निचरका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ सबै पर्छ । त्यति मात्र होइन कुन सामान कहाँ, कुन कुनामा राख्ने र कसरी आकर्षक लुक दिन्छ भन्ने पनि यसै अन्तर्गत पर्छ ।

समयको मागले गर्दा डिजाइनिङमा पनि नयाँ सोच आउने रोलिङ स्टोन रक बारका सञ्चालक सन्जिव बास्तोला बताउँछन् । ‘पहिलो व्यवसायीहरुले आफ्नै कन्सेप्टमा बनाउने गर्थे,’ उनले भने, ‘अहिले हाम्रो कन्सेप्टले हँुदैन त्यही भएर डिजाइनरलाई बनाउन दियौँ ।’

अहिलेको समयमा इन्टेरियर डिजाइनिङको निकै ठूलो भूमिका रहेको उनले बताए ।

‘हामीले भित्री बनावटमात्र होइन ढोका र बाहिर रहेका चित्र पनि सोही अनुसार बनाएका छौ,’ उनले भने, ‘चित्र फ्रेन्स आर्टिसले बनाएका हुन् । सबै कुरामा ब्रान्ड कन्सियस भएर डिजाइनिङ गरेका छौं ।’

इन्टेरियर डिजाइनरले प्रति स्क्वायरको दरले पैसा लिने गर्छन् । भवन वा कोठामा डिजाइनिङ र डेकोरेसन दुबै गर्नुपरे सामानसहित प्रति स्क्वायर फिट आफ्नो रेट तोकेका हुन्छन्, भने कोही मासिक रुपमा पारिश्रमिक लिने गर्छन् ।

पछिल्लो समय नयाँ बनाउँदा मात्र नभएर पुनर्निर्माण गर्दा समेत इन्टेरियर डिजाइनर खोज्ने गरेको आर्किटेक्ट र इन्टेरियर डिजाइनर स्मीता पराजुलीले बताइन् ।

‘पहिला इन्टेरियर डिजाइनिङको त्यति वास्ता हुदैन्थ्यो अहिले आर्किटेक्ट र इन्टेरियर डिजाइनर नै हायर गर्छन्,’ उनले भनिन्, ‘नयाँ बनाउन मात्र होइन पुनःनिर्माण गर्दा समेत आर्किटेक्ट हायर गर्ने चलन पोखरामा सुरु भइसकेको छ ।’

योजना र सही वस्तुहरुको प्रयोगले इन्टेरियर डिजाइनलाई सफल बनाउने पराजुलीको भनाई छ ।

इन्टेरियर डिजाइनिङ सयमको माग हो

स्मीता पराजुली
आर्टिटेक्चर इन्जिनियर

सुन्दर नगरी पोखराको पर्यटकीय केन्द्र बिन्दु लेकसाइडमा अहिले ठूला–ठूला निर्माण कार्यहरु भइरहेका छन् । होटल तथा अन्य व्यवसायिक प्रयोजनका लागि यस्ता भवनहरु तीव्र गतिमा बनिरहेका छन् ।

नयाँ–नयाँ विशेषता र अत्याधुनिक सुविधायुक्त होटल, रेस्टुरेन्ट आदि पर्यटकलाई आर्कषण गर्ने हिसाबले बनाउने प्रचलनको विकास भएको देखिन्छ । यतिमात्र नभएर पुरानो संरचनाहरुको पुनःनिर्माण गर्दा पनि इन्टेरियर डिजाइन गरेर काम गर्ने परिपाटी बढेको देखिन्छ ।

यसको विकास सँग–सँगै आर्टिटेक्चर इन्जिनियर एवं डिजाईनरसँग परामर्श लिएर घरको डिजाइन, नक्सा कोर्ने साथसाथै, इन्टेरियर डिजाइन, एक्सटेरियर डिजाइन, ल्यान्डस्केपिङ आदि कार्य गर्ने गरेको पाइन्छ । पोखराको अन्य ठाउँको तुलनामा व्यवसायिक ठाउँमा प्राविधिकको संलग्नता तथा परामर्श लिने प्रचलन मौलाउँदै गएको देखिन्छ ।

पोखरामा रहेका प्राविधिक आर्टिटेक्चर इन्जिनियर तथा इन्टेरियर डिजाइनहरु मात्र नभएर काठमाडौंबाट पनि धेरै परामर्शदाता तथा डिजाइनरहरु पोखरामा काम गरिरहेका छन् ।

विशेष गरि इन्टेरियर डिजाइनमा फर्निसिङ गर्नेदेखि लिएर कलरिङ लाइटिङ, विभिन्न फर्निचरका सामान प्रयोग गर्ने अनि पेन्टिङ, प्रिन्टिङ सबै पर्छ । त्यति मात्र होइन कुन सामान कहाँ, कुन कुनामा राख्ने र कसरी आकर्षक लुक दिन्छ भन्ने पनि यसै अन्तरर्गत पर्छ ।

०७२ सालको भूकम्पले पनि उद्यमी तथा लगानीकर्ताहरुमा इन्जिनियर÷आर्टिटेक्चर डिजाइनको संलग्नताको महत्व बढाएको देखिन्छ । तसर्थ आफ्नो लगानी सुरक्षित एवं डेकोरेसन आर्कषण गर्नका लागि पनि परामर्श लिन थालिएको छ । बढ्दो प्रतिस्पर्धा र समयानुसारको परिवर्तनले पनि इन्टेरियर डिजाइनमा चासो बढेको देखिन्छ ।

म एक आर्टिटेक्चर इन्जिनियर भएको नाताले उद्यमी तथा लगानीकर्ताहरुलाई कुनै पनि निर्माण कार्य गर्दा प्राविधिकको परामर्श लिएर मात्र काम गर्नलाई सुझाव दिन्छु ।

आफ्नो लगानी, ठाउँ, प्रयोजन अनुसार कस्तो डिजाइन उपयुक्त हुन्छ । त्यसै अनुरुप नक्सा अथवा इन्टेरियर डिजाइन गरेमा राम्रो आउट लुक आउँछ । प्राविधिकको सहयोगमा काम गराउँदा रेगुलर सुपरभिजन गरेर काम गर्दा गुणस्तरीय काम हुन्छ ।

 

कार्यालयमा इन्टेरियर डेकोरेसनले महत्वपूर्ण भूमिका खेल्दछ

मनिषा पौडेल
सञ्चालक तथा सिनियर कन्सल्ट्यान्ट
मेट्स इन्टरनेसनल एजुकेसनल एण्ड भिसा सर्भिसेस, पोखरा

अष्टे«लिया बसाइँ दशक पछि म नेपाल फिरे र नेपालमै एजुकेसनल सम्बन्धी संस्थाको स्थापना गर्न जुटे ।

त्यसपछि मेट्सको शाखा स्थापना गर्ने क्रममा हामीले निकै अध्ययन ग¥याैँ । संस्थाको नाम अनुसारको इन्टेरियर डिजाइनको लागि स्केच गरेर काम अघि बढायौं । काम गर्ने कार्यालयमा इन्टेरियर डेकोरेसनले महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मेरो बुझाई छ ।

आर्कषक डिजाइनले हरेक दिन काम गर्न आउने कार्यालयका सबै कर्मचारी होस् वा भिजिट गर्न आउने आगन्तुक सबै प्रभावित हुन्छन् ।

इन्टेरियर डिजाइन सहितको अफिस वा घर समयको बदलिदो माग नै भएको ठान्दछु । व्यवसायिक वा सार्वजनिक कार्यालयहरुले पनि पछिल्लो समय इन्टेरियर डेकोरलाई विशेष ख्याल दिने गरेको पाएको छु ।

यस किसिमको विकासले केही वर्षमा नै सबै व्यवसायिक कार्यालयहरु इन्टेरियर डिजाइन सहित उत्कृट शैलीमा सजिने मेरो अनुमान छ ।

 

इन्टेरियर भनेर मात्र हुँदैन थिम अप्लाइड हुनुपर्याे

राजेश गुरुङ
सञ्चालक
डुङ्गा रेस्ट्रो एण्ड लाउञ्ज बार

समय परिवर्तनशील छ । समयसँगै मानिसका इच्छा, आकाङ्क्षाहरु पनि नयाँपन महशुस गर्न उद्दत भइरहन्छन् ।

डुङ्गा रेस्ट्रो पनि यसैको स्वरुप हो । हामीले डुङ्गालाई सबै दृष्टिकोणबाट इन्टेरियर डिजाइनमा सजावट गरेका छौं । डुङ्गामा प्रवेश गर्दा नै जो कोही आगन्तुकले पनि डुङ्गाकै थिम महशुस गर्न सक्नुहुन्छ ।

सिँढी उक्लदा नै आगन्तुकले बहनालाई सपोर्टको रुपमा समाएर उक्लि रहनु भएको हुन्छ । उहाँहरु जहाँ बसे पनि डुङ्गाकै आकारमा तयार गरिएका आरामदायी लाउञ्जमा बसेर आनन्द लिइरहनु भएको हुन्छ ।

यसरी तयार गर्दा हामीले नाम अनुसारको ब्रान्ड मेन्टेन गर्नको लागि करोडौं रकम खर्चिएका छौं । नेपाली तथा विदेशी आगन्तुकहरु हाम्रो यस किसिमको इन्टेरियर डेकोरेसन देखेर प्रभावित भएको हामीले पाएका छौं ।

विदेशी आगन्तुकहरुले त जिज्ञासु भएर डुङ्गा र डुङ्गामा प्रयोग हुने सामग्रीको प्रयोग देखेर निकै उत्साहित हुन्छन् ।

समयको माग अनुसार डुङ्गाले पनि आफूलाई परिष्कृत गरेको हो । इन्टेरियर डेकोरेसन गर्छाैं मात्र भनेर हुँदैन ।

सोही अनुसारको खर्च गर्न सक्ने मानसिकता बनाउनु पर्दछ । उदार मन लिएर काम गर्नुपर्छ यदि फुल इन्टेरियर डेकोर नै गर्ने हो भने । नत्र सामान्य गर्छु नि कसलाई के थाहा छ र यस विषयमा भन्ने मानसिकता बन्यो भने डिजाइन नै हास्यास्पद देखिन सक्छ ।

यस विषयमा हामीले डुङ्गा निर्माण गर्नुपूर्व नै निकै अध्ययन गरेर ओवेसिस डिजाइन हाउस काठमाडौंलाई यसको सम्पूर्ण जिम्मेवारी दिएका थियौं । डुङ्गा सञ्चालनमा नै आइसकेको लगभग डेढ वर्ष पुग्न लाग्यो ।

निर्माणकै क्रममा आउनुहुने अन्य व्यवसायिक मित्रहरुले पनि अनावश्यक खर्च किन गरेको होला भनेर प्रतिक्रिया दिनुहुन्थ्यो । तर अहिले नाम अनुसारकै डुङ्गाको इन्टेरियर डेकोरमा प्रवेश गरिरहँदा उहाँहरुको प्रतिक्रिया राम्रो पाएका छौं ।

नाम अनुसारकै ब्रान्डलाई मेन्टेन गर्न पनि हामीले निरन्तर अभ्यास गरिरहेका छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.