www.tandavnews.com
Fact ~ In search of truth

खानेपानीकाे धारामा लेदो, नगरबासी भन्छन् ‘जलस्रोतको धनी देशमा कतिन्जेल पानी किनेर खाने ?’

पोखरा
ईश्वर देवकोटा/ताण्डव न्यूज ।

हिउँद सकिएर बर्खा लाग्नै लाग्दा पोखराबासीलाई एउटा पिरलोले वर्षेनी सताउँछ । उसो त बाह्रै महिना खानेपानीको समस्या छ पोखरामा ।

टुटी घुमाउँदा सुसाउने धारामा पानी कतिबेला आउँछ पत्तो हुँदैन । कहिलेकाहीँ पानि आउँछ । शुद्धताको त कुरै नगरौं । भाँडा माझ्न, कपडा धुन सम्म प्रयोगमा ल्याउन सकिन्छ । तर, कहिलेकाहीँ त्यहीँ पानीमा पनि कालो लेदो मिसिएर आउँछ, ढलजस्तै ।

Batas

शुद्ध, सफा पानी पिउने अपेक्षा महानगरबासीले आजभोली गर्नै छाडिसके । तरपनि कतिन्जेल पानी किनेर खाने । आम्दानी राम्रै हुनेलाई त किनेरै खान पुग्ला । निम्नआय भएकाको विकल्प के ? पोखरा–५, निवासी सुजन भण्डारी क्षेत्री प्रश्न गर्छन् ।

हाल जनप्रिय बहुमुखि क्याम्पस पोखरामा व्यवस्थापन विषयमा तेस्रो वर्ष अध्ययनरत क्षेत्रीले खानेपानीको सट्टा धारामा लेदो आउँदा खानेपानी किनेर खानुपर्ने बाध्यता आईपरेको गुनासो पोखे ।

‘अहिले धारामा आईरहने पानी मान्छेले त परै जावोस् पशुलाई समेत खुवाउनुहुँदैन्,’ उनले भने, ‘जलस्रोतको धनीमा देशमा मुलुकको नाम आईरहँदा मनै भारी हुन्छ ।’

शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता आधारभूत आवश्यकताका पूर्वाधारलाई जनप्रतिनिधि चुनिएर आएको वर्ष दिन बितिसक्दा पनि गरेका प्रतिज्ञा बिर्सिदा अचम्ममा परेको उनले बताए ।

नुहाउँदा समेत एलर्जी हुने डरले विगत चार वर्ष देखि जारको पानी प्रयोग गर्दै आईरहेको पोखरा–३, निवासी कृष्णबहादुर राउत बताउँछन् ।

‘चार वर्षसम्म जारको पानी किनेर खादा कति आर्थिक नोक्सानी भयो होला,’ उनले भने, ‘आर्थिक मात्रै सबै कुरा नरहँला त्यही जारको पानी पनि किनेर खान नसक्नेहरुको धाराकै पानी प्रयोग गरिरहँदा स्वास्थ्यमा कस्तो प्रभाव पारेको होला ।’

अहिले मात्र नभई विगत देखिकै जटिल समस्याको रुपमा देखा परेको महानगरको खानेपानी व्यवस्थापन, शुद्धिकरणका लागि विभिन्न संघसंस्थाले काम गर्छौ भनेर खादा र सम्मान मात्रै थाप्ने काम गरेको राउत बताउँछन् ।

हाल पोखरामा वितरण भइरहेको पानी मर्दी मुहानमा हुनुपर्ने ट्रिटमेन्ट र फिल्टरीङ बिना नै वितरण हुँदै आएको छ ।

सोही कारण पनि वर्षाको समय सुरु हुनै लाग्दाबाट पानी दूषित हुने समस्या बढेर जान्छ । विशेषगरी असार, साउन र भदौमा पोखरामा खानेपानी संस्थानले वितरण गर्ने पानी प्रयोग नै गर्न नसकिने गरी वितरण हुने गरेको पाइन्छ ।

सामाजिक स्वास्थ्यसँग जोडिएको हुनाले गम्भिर छौं : स्वास्थ्य महाशाखा

पोखरा लेखनाथ महानगरपालिकाका स्वास्थ्य महाशाखाका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक हेमन्त शर्मा पौडेलले महानगरमा वितरण भईरहेको खानेपानी शुद्धिकरणमा स्वास्थ्य महाशाखाले चासो दिएको बताए ।

‘सामाजिक स्वास्थ्यसँग जोडिएको हुनाले गम्भिर छौं,’ उनले भने, ‘खानेपानी संस्थानले व्यवस्थापन गरिरहेको विषय भएको हुनाले हामीले शुद्धिकरणका लागि चाल्नुपर्ने ठोस कदममा सहकार्य गर्छौ ।’

रोग लाग्नु भन्दा रोग लाग्न नदिनु भन्ने हेतुले महाशाखाले एकैपटकमा सबै महानगरबासीलाई सूसुचित गराउने अघि बढिने पौडेलले बताए ।

‘आम उपभोक्तालाई लक्षित गरि खानेपानी शुद्धिकरण गरिने विधिहरु सामुदायिक स्तरबाट अभियानको रुपमा लैजाने तयारी गरेका छौं,’ उनले भने, ‘संस्थानले उपलब्ध गराउने पानी मुहानमै शुद्धिकरणका लागि सम्बन्धीत संस्थानसँग समन्वय गर्नेछौं ।’

मर्मत कार्यमा जुटिरहेकोले समस्या आएको हो : प्राविधिक अधिकृत, खानेपानी संस्थान पोखरा

मर्दी खोलाबाट वितरण हुने पानी हाल दुईवटा पाइपबाट वितरण हुँदै आएको छ । जसमध्येमा एउटा पाइपको केही भाग जमिनमा धसिएकोले (स्लाइड) केही समस्या देखिएको हुनसक्ने खानेपानी संस्थान पोखराका प्राविधिक अधिकृत दिनेश्वर प्रसाद यादवले जनाए ।

पाइप केही ठाउँमा धसिएको र पिल्लर हालेर पाइपलाई सोही ठाउँबाट जोइन गर्दा केही दिन लाग्ने यादवले जानकारी दिए ।

‘संस्थानले अहिले मर्दी बाँधमै मर्मत कार्य जारी राखेको र भोटेखोला क्रसिङमा पाइप स्लाइड भएको छ,’ उनले भने, ‘मर्मतको काम सकिन झण्डैँ दुई हप्ता लाग्न सक्छ । पानी सामान्य रुपमा पहिलेको तुलनामा धमिलिएर आउन सक्छ ।’

पोखराको खानेपानी शुद्धिकरणका लागि जाइका संस्थाले संस्थानसँगको सहकार्यमा ट्रिटमेन्ट र फिल्टर प्लान्ट स्थापनाको लागि फिजिविलिटी अध्ययन गरिरहेको प्राविधिक अधिकृत यादवले बताए ।

यदि उल्लिखित प्लान्ट स्थापना गर्न सकेमा मुहानबाट नै शुद्ध पानी स्टोरेजसम्म पठाउन सकिने उनको भनाई छ ।

अनहाइजेनिक ब्याक्टेरिया नास गर्नका लागि संस्थानले स्टोरेज गरेको ठाउँमा क्लोरिन हालेर केही शुद्धिकरण गर्ने प्रयास गरिरहेको उनले बताए ।

पानी पर्ने समयमा मुहानमै केही भौतिक व्यवस्थापनमा कमी रहेकोले धमिलो आउन सक्ने उनले स्वीकार गरे ।

दैनिक १ करोड ५० लाख लिटर पानी आपूर्तीमा कमी

मुहान र बीच भागका केही ठाउँमा मर्मतको काम चलिरहेकोले दैनिक १ करोड ५० लाख लिटर पानी आपूर्तीमा कमी भएको छ ।

पोखरामा हाल खानेपानी संस्थानको तथ्यांकलाई हेर्दा ४० हजार उपभोक्ता छन् ।

जसका लागि खानेपानी संस्थानले दैनिकरुपमा ४ करोड लिटर पानी वितरण गर्दै आईरहेकोमा हाल २ करोड ५० लाख लिटर मात्रै वितरण गर्न सम्भव रहेको संस्थानका प्राविधिक अधिकृत दिनेश्वर प्रसाद यादवले जानकारी दिए ।

मर्मत कार्य चलिरहेको समयमा फिडर अनुसार आपूर्ती व्यवस्थापन मिलाईरहको उनले जनाए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.