www.tandavnews.com
Fact ~ In search of truth

अटेरी मनिपाल, जसले तिरेको छैन ९ करोड कर

पोखरा
ईश्वर देवकोटा/ताण्डव

मनिपाल शिक्षण अस्पतालले पोखरा लेखनाथ महानगरपालिकालाई तिर्नुपर्ने घर जग्गा तथा एकिकृत सम्पत्ती कर झण्डैं ९ करोड अटेर गर्दै तिरेको छैन् ।

महानगरबाट दशौं पटकसम्म पत्र काटी ताकेता गर्दा समेत अटेर गर्दै अस्पतालले तिर्नुपर्ने घर जग्गा तथा एकिकृत सम्पत्ती कर नतिरेको पाइएको हो ।

Batas

महागनरबाट पछिल्लो पटक तत्कालिन प्रमुख प्रशासकिय अधिकृत दीर्घनारायण पौडेल छँदा नै ०७४ चैत्र २१ गते पत्र द्वारा कर रकम बुझाउन ताकेता गरेका थिए ।

‘त्यस मेडिकल गु्रपले आ.व. २०७१/०७२ सम्मको घर जग्गा कर वापत ८ करोड ६० लाख ९७ हजार २ सय ३३ रुयैयाँ ४२ पैसा बुझाउन बाँकी रहेको र आ.व २०७२/०७३ देखि लागू भएको एकिकृत सम्पत्ति कर हाल सम्मको रकम ३५ लाख ४३ हजार ५ सय ९० रुपैयाँ ९६ पैसा गरी जम्मा ८ करोड ९६ लाख ४० हजार ८ सय २४ रुपैयाँ ३८ पैसा महानगरलाई बुझाउन पर्ने’ महानगरबाट प्रेषित पत्रमा उल्लेख छ ।

महानगरका राजश्व शाखा प्रमुख छविलाल शर्माले महानगरलाई तिर्नु पर्ने कर ढिलो चाँडो तिर्नै पर्ने बताए । ‘ठूलो कम्पनी भनेर मात्रै हुँदैन्,’ उनले भने, ‘स्थानिय सरकार सञ्चालन ऐन ०७४ कार्यान्वयनमा आईसकेको अवस्था छ, स्थानिय कर तिर्नुपर्ने हुन्छ ।’

महानगरले पटक–पटक अस्पताल प्रशासनलाई पत्र द्वारा जानकारी गराएको भए पनि हालसम्म तिर्न चासो नदेखाएको उनले बताए । औपचारिक रुपमा जानकारी गराउँदा समेत चासो नदेखाए कानुनी प्रक्रिया अनुसार महानगरले कर असुल्ने शर्माको दाबि छ ।

महानगरबाट पत्र द्वारा मनिपाल शिक्षण अस्पताललाई घरजग्गा कर तिर्नुपर्ने जानकारी भएको अस्पताल प्रशासन प्रमुख भानु भारद्वाजले बताए । ‘महानगरलाई कर नतिर्ने भनेका छैनौं,’ ताण्डव न्यूजसँगको सम्पर्कमा भारद्वाजले भने, ‘मेयर सा’बसँग पनि यस विषयमा छलफल भएको थियो । अस्पताल प्रशासन बीच पनि छलफलकै क्रममा रहेकोले कर बुझाउन विचाराधीनमा छ ।’

अस्पतालको भवन बनेको जग्गा केही मात्रामा भाडामा र केही अस्पतालको आफ्नै नीजि जग्गामा बनेको छ । धेरै वर्ष अघि देखिको कर भएकोले अस्पताल करका सम्बन्धमा निचोडमा नपुगेसम्म तिर्न नसकिने उनले बताए ।

महानगरलाई मनिपाल अस्पतालले ०७५ वैशाख २ गते पत्र पठाई कर तिर्नको लागि एकिकृत सम्पत्ती करको हिसाव विवरण माग गरेको थियो ।

लगत्तै वैशाख ५ गते महानगरले अस्पताललाई जवाफी पत्रमा आ.व. ०७२/०७३ देखि ०७४/०७५ सम्म तीन आर्थिक वर्षको हिसाव विवरण संलग्न गराई पेस पठाएको थियो । सोही पत्र मार्फत पुनः पुरानो बक्यौता रकम भुक्तानीको लागि जानकारी गराएको छ ।

झण्डैं ९ करोड पुगिसक्दा समेत अस्पतालले बुझाउनु पर्ने कर नबुझाउँदा महानगरको क्षमता माथि नै प्रश्न चिन्ह उठेको छ ।

मिलेन वार्ता फुकेन गाँठो

मनिपाल शिक्षण अस्पतालमा विगत एक हप्ता यता आकस्मिक सेवा बाहेकका अन्य सेवा ठप्प छ ।

अस्पताल फार्मेसीमा हिनामिना गरेको आरोपमा फार्मेसीमा कार्यरत ४ जना कर्मचारीलाई बर्खास्त गरेपछि कर्मचारीकै आन्दोलनको कारण अस्पतालको सेवा ठप्प भएको हो ।

समस्याको जड फुकाउन अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारी बीच विभिन्न चरणमा वार्ता भए पनि निचोडमा भने पुग्न सकेको छैन् ।

प्रशासनले कर्मचारीलाई दोषि पाइए पछि दण्डित गरेको तर्क प्रस्तुत गर्छ भने कर्मचारीले निस्पक्ष छानबीनको माग राखि आन्दोलनबाट पछि नहट्ने संकेत गरेको छ ।

मंगलबार मन्त्री पुनको कार्यकक्षमा प्रशासन समूह, आन्दोलनरत समूहसँग छुट्टा छुट्टै छलफल भए पनि टुङ्गोमा पुग्न नसकिएको अस्पताल प्रशासन प्रमुख भारद्वाजले बताए ।

कर्मचारी युनियनको तर्फबाट बर्खास्त गरिएका कर्मचारीलाई पुर्नबहालीको माग गरेका कारण अस्पताले उक्त बुँदालाई सम्बोधन गर्न नसकेको भारद्वाजको भनाई छ ।

प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको अगुवाईमा अस्पताल प्रशासन, आन्दोलनरत कर्मचारी युनियनसँगको पटक पटकको छलफलमा पनि टुङ्गो लाउन नसकेपछि समस्या झन् गाँजिदै गएको देखिन्छ ।

प्रदेश चार कै सबै भन्दा ठूलो नीजि अस्पताल यसरी हप्ता दिनसम्म ठप्प हुँदा नागरिक समस्या भोग्न बाध्य छन् । अर्को तर्फ सरकारी निकायबाट परिणाममूखी ठोस कदम चालिएको छैन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.