www.tandavnews.com
Fact ~ In search of truth

तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरण तीव्र

तनहुँ।

हालसम्म पनि विद्युत् सेवा पुग्न नसकेको तनहुँको ग्रामीण क्षेत्रमा विद्युतीकरणको काम तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले बिजुलीको सुविधा नपुगेका गाउँमा विद्युत् सेवा पुर्याउन काम तीव्र पारेको हो ।

चालू आर्थिक वर्षको असारसम्म बिजुली नपुगेका तीन प्रतिशत घरधुरीमा बिजुली बाल्ने गरी काम अन्तिम चरणमा पुगेको केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए। गोशलीका अनुसार तनहुँका ८२ घरधुरीमा मात्रै विद्युत सेवा पुगेको छ भने चालू आर्थिक वर्षमा तीन प्रतिशत घरधुरीमा बिजुली पुग्नेछ ।

Batas

गोशलीका अनुसार चालू आर्थिक वर्षमा दुई हजार घरधुरीमा बिजुली पुग्नेछ । चालू आर्थिक वर्षमै आँबुखैरेनी गाउँपालिका–६ ढेडगाउँको ११०, बन्दीपुर गाउँपालिका–६ ग्याजाटारको ९६, साराङघाटको ११०, रिसिङ गाउँपालिका नाजुङको १२० घरधुरीमा बिजुली बलिसकेको छ ।

रिसिङ गाउँपालिका–२ दुवुङको १२०, खाल्टुभञ्ज्याङको १२०, रिसिङ गाउँपालिका–४ गुम्लेकको ६० र व्यास नगरपालिका–१३ सुढेपुलको १५ घरधुरीमा बिजुली पुर्याउन विद्युतीकरणको काम भइरहेको गोशलीले जानकारी दिए।

विद्युतीकरणका लागि बन्दीपुरको साराङघाटमा आठ एमबिएको सवस्टेशन निर्माण भइरहेको छ । उक्त सवस्टेशनबाट आँबुखैरेनीसम्म १९ किमी दूरीसम्म लाइन तानेर आँबुखैरेनीका विद्युत् नपुगेका गाउँमा विद्युत् सेवा पुर्याइनेछ ।

साथै सोही सवस्टेशनबाट नयाँ फिडर निकालेर देवघाट गाउँपालिकाका कोटा, वैदी, छिपछिपेलगायतका ग्रामीण बस्तीमा बिजुली सेवा पुर्याइनेछ ।

त्यसैगरी बुद्धसिं फिडरमार्फत आँबुखैरेनी गाउँपालिका वडा नं ५ र ६, बन्दीपुर गाउँपालिका वडा नं ६ खहरे, व्यास नगरपालिका–१४ नाल्दीघाटलगायतका बुद्धसिंमार्गका छेउछाउका बस्तीमा विद्युतीकरण गरिने गोशलीले जानकारी दिए ।

विद्युतीकरणका लागि घिरिङ र खैरेनीटारमा आठ÷आठ एमबिएको सवस्टेशन निर्माणाधीन अवस्थामा रहेको छ । सोही सवस्टेशनबाट त्यस भेगका ग्रामीण क्षेत्रमा विद्युत् पुर्याइनेछ ।

तनहुँ जिल्लाका ७८ हजार घरधुरीमध्ये यही असारसम्म ८५ प्रतिशत घरधुरीमा बिजुली पुग्ने र बाँकी घरधुरीमा डेढ वर्षभित्र विद्युत् पुर्याउने लक्ष्य रहेको गोशलीले जानकारी दिए ।

सवस्टेशन निर्माण र विद्युतीकरणका लागि  ८५ करोड विनियोजन भएको छ । उनले भने, “कुनै बाधा अवरोध नभएको खण्डमा डेढ वर्षभित्र सबै घरधुरीमा बिजुली पुग्छ ।”

केन्द्रले दुई वर्षभित्र सबै काठेपोल विस्थापन गर्ने अभियानसमेत सञ्चालन गरेको छ । जिल्लाभर १२ हजार काठेपोल रहेकाले र यो वर्ष तीन हजार काठेपोल विस्थापन गरिने गोशलीले जानकारी दिए ।

उनका अनुसार काठेपोल विस्थापनका लागि प्रदेश सरकारमार्फत स्थानीय तहमा दुई हजार ६०० पोल आएको र केन्द्रको समेत आफ्नै कार्यक्रममार्फत काठेपोल विस्थापनको तयारी भइरहेको छ ।

उनले भने, “चुनावको बेला उम्मेदवारले विद्युतलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाएको कारण विद्युतीकरणमा स्थानीय सरकारको समेत अत्यधिक चासो रहेको छ ।

स्थानीय र प्रदेश सरकारले समेत विद्युतीकरणका लागि केही रकम छुट्याएका छन् ।’ उनका अनुसार १२ हजार काठेपोल विस्थापनका लागि मात्रै ३० करोडभन्दा बढी बजेट आवश्यक पर्दछ ।

केन्द्रले भोल्टेज नपुगेको, बस्ती विस्तार भएका ठाउँमा ट्रान्सफर्मर थप गरिरहेको छ । जसअनुसार बन्दीपुर गाउँपालिकामा चार, भानु नगरपालिकामा चार , व्यास नगरपालिकामा सात ठाउँमा र म्याग्दे गाउँपालिकामा नयाँ ट्रान्सफर्मर थप गरिएको छ । केन्द्रले नाङ्गो तार विस्थापन अभियानसमेत सञ्चालन गरिरहेको छ ।

जसअनुसार हालसम्म व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका केही ठाउँमा नाङ्गो तार विस्थापन गरी इन्सुलेटर तार परिवर्तन गरिएको छ । कार्यालयले अर्थिङ सुधार, ड्रपआउट र फ्युज परिवर्तनका लागि चालू आर्थिक वर्षमा साढे चार करोड बजेट विनियोजन गरेको थियो ।

विद्युत गइरहने समस्या समाधानका लागि २४ एमबिएको तीन सवस्टेशन निर्माण भइरहेको छ । हाल दमौलीमा १६ एमबिए, डुम्रेमा आठ एमबिए र आँबुखैरेनीमा सात एमबिएको सवस्टेशन चालू अवस्थामा छन् । निर्माणाधीन सवस्टेशन निर्माण सम्पन्न भएपछि विद्युत् गइरहने समस्या नआउने गोशलीले जानकारी दिए ।

उनका अनुसार अहिले २० एमबिए विद्युतको माग छ भने नयाँ विद्युतीकरण सम्पन्न भएपछि पाँच एमबिए बढ्नेछ । उनले भने, “५५ एमबिएमध्ये २५ एमबिए मात्रै विद्युत् खपत हुन्छ, यसले विद्युत् भार हुँदैन ।” रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.