www.tandavnews.com
Fact ~ In search of truth

रोगी आमाबाट स्वस्थ समाजको कल्पना गर्न सकिदैंन

-दुर्गा न्यौपाने

सबैले भन्ने गर्छन्, आमा हुन सजिलो छैन । हो, अति गाह्रो छ । त्यसैले त आमाको महिमा पनि ठूलो छ ।

जननी र जन्मभूमि स्वर्गभन्दा प्रिय हुनुको आफ्नै शास्वत सत्य छ । भनिन्छ, बाउ विश्वास र आमा सत्य हुन् । हो, यो सत्य हो । कसैले नकार्न नसक्ने सत्य । सत्य घाम जस्तै हुन्छ । विश्वास मानुन्जेलसम्म रहन्छ ।

आमालाई प्रकृतिले नै जिम्मेवार बनाएको छ । गहकिलो बोझमा रमाउन सिकाएको छ । खुशी बनाएको छ । दुखाईमा पनि कोहि सुखी र खुशी हुन्छ भने त्यो आमा बाहेक अरु हुनै सक्दैन ।

ब्रम्हाण्डमा सृजित भाले जातीको तुलनामा पोथी जाती कैयौं गुना जिम्मेवार हुन्छन् । चाहे त्यो कुखुरी होस् वा कुकूर्नी । बिराली होस् वा सर्पिनी । मान्छेको त झन् कुरै नगरौं । त्यसैले यहाँ भूमि र भाषामा पनि आमा जोडिएको छ ।

हरेक प्राणीको पहिलो बासस्थान पाठेघर हो । पाठेघरमा आफ्नो आकार बनाएर बाहिर निस्कन्छ मान्छे । प्रायः दश महिनापछि । पाठेघरबाट आफू निस्कन्छ र आफ्नो अस्तित्व राख्न त्यहीँबाट सुरु हुन्छ । अनि वंश विस्तारको शुरुवात त्यहीँबाट । त्यसकारणले पनि महिला शक्तिको स्रोत हो । वास्तवमा महिलाले आफ्नो शक्तिको पहिचान अझैँ गर्न सकेका छैनन् । आफूलाई कमजोर सोच्ने मानसिकता बलियो छ ।

महिला स्वभावत आमा बन्न चाहन्छन् । सृष्टिका हरेक पोथी, आमा बन्नकै लागि भालेको चाहना गर्छन् । भालेका लागि पोथी ठूलो हुन सक्छ । तर पोथीका लागि बच्चा ठूलो हुन्छ । रोज्न पर्यो भने बच्चा रोज्छन् पोथीहरु । यत्रतत्र देखिएको कुरा, पोथी प्रिय भए मात्र बच्चा प्रिय लाग्छ भाले जातीलाई । तर बच्चा पाउन सजिलो कहाँ छ र ?

समाज परिवर्तनसँगै मान्छेको चेत र सोच समेत फेरिदैं छ । मान्छे सौखिन हुँदैछ । शारिरीक दुःख रोज्दैन मान्छे । सहनशिलता पनि कमजोर हुँदैछ दिन प्रतिदिन । सहनशिल स्त्रीलिङ्गी शब्द जस्तै लाग्छ । सहन आमाले जानेकी हुन्छे । सिक्छे । पिडा पचाउँचे । र मुसुक्क हाँस्छे ।

आमा बन्दा जति आनन्दानुभूति हुन्छ, त्यति नै कठीन छ बच्चा पाउन । जब पेटमा बच्चा आउँछ, तब शारिरीक अप्ठ्याराहरु सुरु हुन्छन् ।

वाक्क व्याक्क देखि नाक लाग्नु, बस्न, सुत्न र हिँडडुलमा समेत सहज नहुनुलाई सामान्य मानिन्छ ।

दश महिनाको लामो सकसमा पनि आमा हुने रहर दशको नौ हुँदैन । बच्चाको सपनामा रमाएकी महिला मृत्युसँग जुध्दै फेरि बाँच्छे, मरिन भने । कति त आफैं सकिन्छन् । कति मरेर बचाउँछन् । धेरैले आफूसँगै समाज र सृष्टि बचाउँछन् । मृत्युको मुखैमा गएर फर्किन्छन् सबै आमाहरु ।

कोही चोखै हुन्छन् त कतिलाई बिटुलो बनाउँछन् विभिन्न रोगले । त्यसैले त आजकलका केटीहरु बच्चा प्राकृतिक रुपमा पाउन भन्दा आफूलाई चिर्न तयार हुन्छन् । दुखाई सहन सक्दैनन् । सिजरीङ्गमा त बेहोस बनाउँछ । अनि चिर्छ । थाहा त पाईन्न । त्यो दुखाई सहनभन्दा चिरिन सजिलो लाग्छ केटीहरुलाई । हुन त बाह्र घण्टाभन्दा बढि व्यथा लागेमा आमालाई फिस्टुला जस्तो डरलाग्दो रोग पनि लाग्न सक्छ ।

साना तिना रोगमा मौन हुन्छन् आमाहरु । पचाउँछन् दुखाईहरु । बच्चाका कलिलो हाँसोसँगै उमार्छन् खुशीका मुनाहरु । त्यसो त हुनेवाला आमाहरु शारिरीक एक्सर्साइज गर्न छाडे अचेल । र त पाउन गाह्रो हुन्छ । पहिलाका आमाहरुले घाँस काट्दा काट्दै बच्चा पाएर ल्याउँथे रे ।

जंगलमा दाउरा काट्न जाँदा पोल्टामा बच्चा ल्याएको कुरा सुन्दा दन्त्य कथा जस्तो लाग्छ । कथा साँचो हो । कथाका पात्रहरुका करिब ९० प्रतिशतका पाठेघर खस्ने समस्याबाट ग्रसित थिए । छन् । अनि मर्दका दश वटी । कथा सकिन्थ्यो ।

विश्वव्यापिकरणसँगै हातमा विश्व छ । दुनियाँको कुरा मिनटमा थाहा हुन्छ । विकसित देशमा महिलाहरु बच्चा पाउन सक्दिन भन्न थाले । धनीले गरिव महिलालाई प्रयोग गरेर सरोगेट मदर बनाएको सुनिन्छ । गरिवहरुले पेसा बनाएका छन् सरोगेसीलाई । त्यो बाध्यता होला । रहर होईन ।

एक जना विदेशी महिला भन्दै थिईन्, के बच्चा पाउन जरुरी छ ? कसैले बाध्य पार्न सक्छ ? म त स्वतन्त्र छु । नपाउन पनि सक्छु । बच्चाको रहर लागे एडप्ट गर्छु । जवाफ एएए भन्नु बाहेक केहि थिएन । धेरै भए कर त छैन भन्न सकिन्थ्यो । वरिपरि भएकाहरु मुखामुख मात्र गरे । केहि बोलेनन् ।

नेपालीको लागि अलि नौलै लाग्थ्यो सुन्दा पनि । ऊ प्रयोग गर्दै थिई । नेपालमै पनि धनी र सम्पन्न महिलाहरुले धेरै बच्चा पाउँदैनन् । अड्कल्छन् ।

Lama collectio News Middle

एउटै पाएर कति आमाहरु अब पुग्यो भन्छन् । परिवार र समाजको दवावमा पाउनु भिन्न कुरा हो । पाठेघर मान्छे बनाउने मेशिन मात्र हो । यस्तै सोच्छन् पुरुषवादीहरु । र त मेशिन बनेका छन् कति पाठेघरहरु । मानाै‍ निर्जिव हुन् ।

मान्छेका चेतहरुसँगै समयले कोल्टे फेर्दै छ । समयसँगै राम्रा र नराम्रा कुरा भित्रीएका छन् । अचेलका केटीहरुमा बच्चा पाउने लालसा त छ ।

तर त्यसै नर्मल पाउन डराउँछन् । तर अपरेशन गर्न डराउन्नन् । यो फेशन जस्तो हुन लाग्यो । त्यति मात्र हैन, कुण्डली मिलाएर पाउने रहर उत्तिकै छ ।

छोरा छोरी राम्रा र असल बनाउनका लागि शुभ समय पारेर डाक्टरलाई अनुरोध गर्छन् । अनि निकाल्छन् । तर ज्योतिषिहरु त्यो अप्राकृतिक भयो भन्छन् ।

एक जनाले राम्रो समयमा पाउनको लागि १५ दिन अगाडि बच्चा चिरेर निकाले । सुन्दा पत्यार नलाग्न सक्छ । तर कुरा सत्य हो । औंसी छल्नको लागि पनि सिजरिङ । यी यस्ता कुरा कति ठीक कति बेठीक विषय विशेषज्ञले जान्लान् । सर्वसाधारणले जान्ने भनेको सोझो कुरा मात्र हो ।

प्रसव पिडा खप्न नसकेर अपरेशन गर्ने गराउने चलन बढेको छ । सुन्दा सामान्य लागे पनि सामान्य हुँदै होईन । हुनु पनि हुन्न । बरु गर्भवति महिलालाई जापानमा जस्तो योगा गराउने पद्दतिको शुरुवात हुनुपर्छ । अन्य तरिका सिक्नु सिकाउनुपर्छ ।

आमालाई स्वस्थ बनाउनुपर्छ । आमा स्वस्थ भए न परिवार, समाज र राज्य स्वस्थ हुन सक्छ । रोगी आमाबाट स्वस्थ समाजको कल्पना गर्न सकिदैंन ।

अर्की एक जना बैनीले आफ्नो अनुभव सुनाउँदै भनिन्, उनका दुईटा बच्चामा एउटा नर्मल पाईन् । अर्को अपरेशन गरेर । जब पछिल्लो बच्चा नर्मल जन्मियो, तब मात्र पूर्ण आमा भएको अनुभूति भयो । सुन्नेले थाहा पाईएन किन यस्तो भयो उनलाई । पेन किलरले एक छिन अपरेशन बिर्साउला । खाटो र असर त रहन्छ नै । भोग्नेलाई थाहा होला अझ बढि । दुखे पनि बच्चा नर्मल पाउन ठीक हो । यो नपच्ने भईसक्यो अचेल ।

बिदेशका सस्ता चलन यति छिटो पपुलर हुन्छन् यहाँ । कसैलाई वास्तै छैन । त्यस विषयमा समिक्षा गर्न फूर्सदै छैन । सबै व्यस्त छन् ।

तसर्थ, आमा स्वस्थ बन्न र बनाउनतर्फ सबैको ध्यान जानु जरुरी छ । बच्चा पाउने कि निकाल्ने ? यो नितान्त जीवन र मृत्यूको कुरा हो ।

जीवन सबैलाई प्रिय हुन्छ नै । शास्वत सत्यलाई बुझ्न विभिन्न भ्रमबाट मुक्त हुनुछ । यसका लागि थाहा चाहिन्छ । खाँचो छ चेतनाकै । अनि सुझबुझकै । त्यो दायित्व राज्यकै हो । एउटी सफल र असल आमा बनाउन राज्यले लगानी गर्नुपर्छ ।

सृष्टि सञ्चालनको लागि आमाहरु जन्मीरहनुपर्छ । आमा जन्मिने क्रममा आएका विभिन्न अवरोध र बाधाहरुलाई हटाउनुपर्छ । अन्धविश्वास र भ्रमलाई चिर्नुपर्छ । अनि चिर्नुपर्छ समाजका कलुषीत विचारहरु ।

आमा आफू मरेरै पनि नयाँ जीवन दिन्छिन् । एउटा नयाँ जीवनको लागि दुर्घटित हुन्छिन् । र पनि गर्वले फूलेल हुन्छिन् । सृष्टि गरिदिन सकेकोमा ।

यो पनि एक प्रकारको सरोगेसी नै हो । भईराखेकै छ नेपालमा । फेरि पनि आमा कुनै गुनासो गर्दिनन् । दुखेसो पोख्दीनन् । चाहे जतिसुकै दुखोस् । दुखाई मिठो मान्छिन् । किनकी उनी आमा हुन् ।

(लेखक : पोखरा लेखनाथ महानगरपालिकाकी कार्यक्रम अधिकृत हुन् ।)

याे पनि पढ्नुहाेस् । 

बच्चा पाउने कि निकाल्ने ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery