www.tandavnews.com
Fact ~ In search of truth

ट्रेकिङ गाइड निर्माको सगरमाथा चढ्ने धोको

पाेखरा
विनिता सुनार/ ताण्डव न्यूज । 

छोरी मान्छे एक्लै हिँड्न हुँदैन । छोरी मान्छे नचिनेकासँग बोल्न, हाँस्न हँुदैन । हाम्रो समाजमा यस्तो सोंचले पूर्खौदेखि जडा गाड्दै आएको छ । उनको पालमा पनि यस्ता भन्ने गर्थे उनका आफ्न्तहरुले ।

यस्तै केही गलत सोचलाई लत्याउदै १६ बर्ष अघि उनी अर्थात निर्मा राईले समाजले सोचेको भन्दा थोरै फरक यात्रा तय गरिन् । हुन त उनी भन्दा अघि पनि यस्तो व्यवसायी अगाल्ने धेरै थिए । तर निर्माको यात्रा भने अलि फरक छ ।

Batas

सोलुखुुम्बु गाउँपालिका–४ मा खाइखेली हुर्किएकी निर्माले एसएलसी सकेपछि उच्च शिक्षाको ढोका खोल्न पोखरामा पाइला टेकिन् । उच्च शिक्षा हासिल गर्न आएकी निर्मालाई पोखरामा जीवन चलाउन कामको खाँचो प¥यो । जिल्ला बाहिरबाट आएको हुनाले उनलाई काम पाउन निकै गाह्रो थियो ।

काम पाउन नसकेपछि निर्माले आफ्नो गाउँको एक जना दाईलाई गुहारिन् । नातामा दाई पर्ने नरवहादुर राई थ्रि सिष्टर संस्थाको मेनेजर थिए । दाई नरबहादुरकहाँ काम पाउने आशमा निर्मा संस्थामै पुगिन् । संस्थालाई एउटा टुरिस गाईडको खाचो थियो ।

उनी छोरी मान्छे भएकै कारण गाईडको काम नपाउने भइन् । ‘नानी केटा मान्छे राख्ने भनेका छन्’ दाईले उनलाई भनेका थिए । हुन पनि त्यो वेला महिला गाइडको संख्या निकै थोरै थियो ।

‘दाई मैले पनि गर्न सक्छु गाईडको काम’ निर्माको यस्तो प्रतिक्रिया पाएपछि नरवहादुर पनि अचम्म परे । गाउँकी बहिनीलाई काम दिन पाउदा नरबहादुर पनि निकै खुशी भए । तर उनले गर्न सक्छिन् कि सक्दिनन भन्नेमा शंका थियो उनको मनमा ।

निर्माले केही पर्यटकहरुलाई पोखरा, वेनी, जोमसोम हुँदै मुक्तिनाथ मन्दिरसम्म पु¥याउनु पर्ने थियो । हुन पनि निर्माले भने जस्तै काम गर्न सफल भइन् । त्यसपछि उनको नाम अगाडी ट्रेकिङ गाईड निर्मा थपियो ।

‘त्यो वेला निकै गाह्रो थियो,’ १६ बर्ष अघिको घटना सुनाउदै निर्माले भनिन्, ‘बरु अहिले आउने वहिनीहरुलाई सजिलो छ ।’ उमेरले चारदशक पुग्न तीन वर्ष बाँकी रहदा पनि उनको जोस १६ वर्षीया किशोरी भन्दा कम छैन् ।

कुशल गाईड हुन उनलाई अनुभवले मात्र नभएर प्राकृतिक सौन्दर्यले समेत साथ दिएको सुनाईन् । ‘म एक पटक गएको ठाउँ भुल्नै सक्दिन,’ उनले भनिन्, ‘मलाई प्रकृतीसँग निकै प्रेम छ ।’ गाईड भएपछि ज्ञानले मात्र नपुग्ने उनले बताइन् । ‘पर्यटकलाई खुशी पार्ने र आफूपनि खुशी रहन सक्नु पर्छ,’ उनले भनिन्, ‘जुन टे«किङ गाइडले प्रकृतीलाई माया गर्दैन उसले पर्यटकलाई सन्तुष्टि दिन सक्दैन् ।’

झन्दै दुई दशक ट्रेकिङ क्षेत्रमा लागेकी निर्माले नेपालको थुर्पै डाँडाकाँडाँ, पहाड, पर्वत हिमालमा आफ्नो पाईलाका ढोव छाडेकी छन् । ‘यसरी हिँड्दा पर्यटकलाई खुशी राखेर देशको नाम चिनाउन पाउँदा खुशी लाग्छ,’ उज्यालो मुहार बनाउँदै भनिन्, ‘शारीरिक रुपले पनि निकै राम्रो हुन्छ, मलाई हिड्न भनेपछि साह्रै मन पर्छ ।’

सकरात्मक सोंचका साथ यस क्षेत्रमा आएकी निर्माले अन्य कुशल गाइड जस्तै पर्यटक साथीहरुलाई खुशी पार्न गीत गाउन र नाच्न पनि पछि पर्दिनन् । ‘गाइड भएपछि सबै कुरा जान्नै पर्छ,’ उनले भनिन्, ‘समाजिक, आर्थिक, संस्कृतिक र राजनीतिक सबै । पर्यटकले सोधेको प्रश्नको उत्तर दिनु पर्छ । फेरी पर्यटक पनि विभिन्न प्रकारका हुन्छन् । कसलाई के मनपर्छ सो अनुसार जवाफ दिनुपर्छ ।’

नेपालको सौन्दर्यमा विदेशी पर्यटकहरु रमाएको देख्दा उनी नेपालमा जन्मिएकोमा गौरव महशुस गर्छिन् । ‘हरियो वनजंगल, लालीगुँरास, हिमाल, झरना, चराचुरुङ्गीको चिरविर आवाजले पर्यटक असाध्यै खुसी हुन्छन्,’ उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, ‘त्यस वाहेक नेपालीले गर्ने स्वागत शैली उनीहरुलाई साह्रै मन पर्छ ।’

निर्माले रक क्लाइम्बिङ, आइस क्लाइम्बिङ, वाल क्लाइम्बिङ लगायत पोल्याडको इन्स्टक्टर द्वारा टे«निङ पनि लिइसकेकी छन् । सन् २००८ मा अन्नपूर्ण बेसक्याम छेउमा आइस क्लाइम्बिङ गरि सन् २००९ मा चुबुवोस्ट हिमालको आरोहण समेत अनुभव उनीसँग छ । यस्तै सन् २०१० मा रक क्लाइम्बिङको टेक्निकल टे«निङमा समेत सहभागी भएकी निर्मासंग ट्रेकिङ गाइड बारे धेरै जानकारी छ ।

सन् २०१० सालमा उनी नेपालको पहिलो अन्नपूर्ण ‘४’ (७,५२५) मिटर अग्लो हिमाल चढ्न सफल एक साहसी महिला हुन् । उनीसँगै मनु गुरुङ, सरस्वती विक, शान्ति राई गरी अरु तीन नेपाली महिला पनि रहेका थिए । जस मध्ये उनीले टिम लिडरको रुपमा हिमाल आरोहण गरेकी हुन् ।

इडव्लुएन र थ्रि सिष्टरले गरेको ‘कमियूनिटी एक्ससेन्ज प्रोगाममा’ सहभागी भई निर्माले विदेश भ्रमण समेत गरेको बताइन् । अमेरिकाको त्यो भ्रमणमा पोखराबाट ९ र काठमाडौ बाट १ जना गरि नेपाली १० महिलाले त्यस प्रोगाममा सहभागि जनाएका थिए । सास रहुन्जेल यात्रा गर्ने निर्माको चाहना छ । ‘ट्रेकिङ गाइडबाट म अलग रहन सक्दिन,’ उनले भनिन्, ‘अब सगरमाथा चड्ने इच्छा छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.