पोखरा,
ताण्डव न्यूज ।
पोखराको वडा नम्बर ५ मा रहेको फिर्के खोलामा पैदल मार्ग (फुटट्रयाक) निर्माणको शुभारम्भ गरिएको छ ।
पोखरालेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना अन्तर्गत काम थालनी गरिएको हो । पहिलो चरणस्वरुप शुक्रबारदेखि फिर्के खोलाबाट काम सुरु भएको हो ।

पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले शुक्रबारदेखि सुरु गरेको कामको उद्घाटन मेयर मानबहादुर जिसीले गरे ।
वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले तत्कालीन फिर्केखोलादेखि ६ मिटरसम्मको पैदल मार्ग निर्माण गरिने बताए । ‘फिर्के खोलादेखि अहिले वडा–५को राधाकृष्ण मन्दिरसम्म पैदल मार्ग जोडिनेछ,’ उनले भने, ‘त्यसपछि महानगरको योजनाअनुसार अगाडि काम बढ्छ ।’
फिर्केमा बढेको प्रदुषण कम गर्नको लागि पनि पैदल मार्ग आवश्यक रहेको उनले बताए । ‘ग्रिन बेल्ट बनाउँछौं । बाटो छोटो हुँदा धेरै सहज हुन्छ,’ उनले भने , ‘त्यो सँगसँगै फिर्केको सुन्दरतापनि हो । वातावरण सफाई पनि हुनेछ ।’
एक करोड ६० लाख डिजाइनमा आएपनि २५÷३० लाखको काम सुरु भएको उनको भनाई छ । ‘काम सुरु भयो अब पूर्ण रुपमा सम्पन्न गर्नको लागि समय लाग्नेछ,’ उनले भने ।
पत्रकार र सर्वसाधरण घाइते
फिर्के खोलामा पैदलमार्ग(फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रेलिङ भाँचिदा सर्वसाधारण र पत्रकार फिर्केखोलामा खसेर घाईते भए ।
समाचार संकलनको लागि पुगेका गण्डक न्युजका रञ्जन अधिकारी र रेडीयो अन्नपूर्णका सन्देश श्रेष्ठ तथा स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।
प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका कार्यालयका मेयर मानवहादुर जिसीले डोजर चलाएर उद्घाटन गर्ने क्रममा घटना घटेको हो ।
मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी २० मिटर तल खसेका थिए ।
पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ भने पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ भने सामान्य छन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.