www.tandavnews.com
Fact ~ In search of truth

तरकारीमा ब्रह्मलुट ! मूल्य तोक्ने कस्ले ?

पोखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा/अर्जुन गिरी

राधा अधिकारी पोखरा–१७ छोरेपाटनकी स्थानीय हुन् । छोरेपाटन चोकबाट उनको घर ५ सय मिटर भित्र पर्छ ।

उनी घरमा आवश्यक पर्ने तरकारी चोक नजिकै एक नाम नै नभएको पसलबाट किन्छिन् । अन्य दिन जस्तै वैशाख १४ गते शुक्रबार उनले त्यहाँबाट किनेको तरकारीको मूल्य र पृथ्वीचोक तरकारी मण्डीबाट बेच्ने तरकारीको मूल्यमा झण्डै दोब्बर फरक थियो ।

Batas

राधाले प्रति किलो काँक्रो ८० रुपैयाँमा, निलो आलु ५५ रुपैयाँ, करेला ११० रुपैयाँ, प्याज ५० रुपैयाँ र गोलभेंडाको ५० रुपैयाँ तिरिन् ।

त्यस दिन राधा पृथ्वीचोक मण्डी गएको भए प्रति किलो काँक्रो ४० रुपैयाँमा, निलो आलु ४० रुपैयाँ, करेला ७० रुपैयाँ, प्याज २५ रुपैयाँ र गोलभेंडा ३० रुपैयाँमा पाउने थिइन् ।

तरकारीको भाउ पसल अनुसार फरक–फरक रहेको राधाले ताण्डव साप्ताहिकलाई सुनाइन् ।

‘मनपरी छ, नकिनी पनि नहुने,’ उनले भनिन्, ‘मण्डी भन्दा दोब्बर नै पर्छ भन्ने थाहा पाए पनि नकिनी सुखै छैन ।’

छोरेपाटन आसपासमा आधा दर्जन भन्दा धेरै पसलमा तरकारी पाइए पनि भाउमा भने मनपरी रहेको उनले सुनाइन् । ‘मनपरी छ, हामीले भाउ महङ्गो भयो भन्दा उल्टो गाली खानु पर्छ,’ उनले प्रश्न गरिन्, ‘तरकारीको मूल्य निर्धारण गर्ने कस्ले ?’

राधा र उनले किनेका उक्त तरकारी एक उदाहरण मात्र हुन् । राधा जस्तै अन्य उपभोक्ता पनि यसरी नै मारमा परेका छन् । पृथ्वीचोक मण्डीमा पाइने मूल्य भन्दा बाहिर करिब दोब्बर मूल्यमा तरकारी बेचेको पाइन्छ ।

छोेरेपाटन, विरौटा, सिर्जनाचोक, लेखनाथ, बगर, नदीपुर, लामाचौर क्षेत्रमा तरकारीको मनपरी मूल्य रहेको गुनासो आएको छ । धेरै जसो पसलको न नाम छ न त तरकारीको निश्चित मूल्य । व्यवसायीले ग्राहक अनुसार मूल्य तोक्ने गरेका छन् ।

सोच्दा पनि सामान्य लाग्ने तरकारीमा खुद्रा बेच्ने व्यवसायीले उपभोक्तालाई लुट्ने गरेको लामाचौरका स्थानीय लोकबहादुर थापाले बताए ।

‘अन्य आवश्यक खाद्य वस्तुमा मूल्य निर्धारण गरेको पाइन्छ,’ उनले भने, ‘तरकारीको विषयमा न राज्यले न त उपभोक्ता मञ्चले नै कुनै अनुगमन र कारवाही गरेको पाइन्छ ।’

तरकारीको मूल्य निर्धारण गरि प्रत्येक पसलमा मूल्य सूची राख्न लगाउनु पर्ने थापाको भनाई थियो । ‘दर्ता प्रमाण–पत्र नभएका पसलले मजाले जनतालाई लुटेका छन्,’ उनले भने, ‘तरकारी जस्तो अत्यावश्यक खाद्य वस्तु मनपरी मूल्यमा दर्ता नभएका पसलले बेच्दा पनि सम्बन्धित निकाय अनविज्ञ हुनु दुर्भाग्य हो ।’

मण्डीबाट सस्तोमा तरकारी ल्याएर दोब्बर रकम लिनेलाई कडा कारवाही गर्नुपर्नेमा उनले जोड दिए ।

कृषि उपज थोक बजार पृथ्वीचोक शान्तिवन मण्डीबाट ल्याएको मूल्यमा खुद्रा व्यवसायीले मिलाएर दिने हो भने पनि ग्राहक मर्कामा पर्ने थिएनन् । अहिले तकारी सस्तोमा आएको मण्डीकै थोक विक्रेता वसन्तराज बास्तोलाले बताए ।

‘यस पटक तरकारीको मूल्य सस्तो भएको छ,’ उनले भने, ‘प्यासकै कुरा गरौँ कुनै बेला हामीले सय रुपैयाँ किलो बेच्नु पथ्र्याे, अहिले हामीले व्यवसायीलाई २५ सम्ममा प्रति किलो दिएका छौं ।’

वसन्तका अनुसार तरकारीको हकमा कुहिएर, बिग्रिएर खेर जाने गर्दछन् । ‘धेरै जसो तरकारी सबै बाहिरबाटै आउँछ,’ उनले भने, ‘ल्याउने बेलामा बिग्रिन्छ र केही ल्याएपछि, त्यही भएर पनि मूल्यमा तलमाथि हुन्छ तर हामीले मूल्यमा पनपरि गर्दैनौ । मण्डीभित्र समिति छ, जसले मूल्य तोक्छ । बाहिर कसरी कुन मूल्यमा बेच्छन् त्यो हामीलाई थाहा हुँदैन ।

एक त बाहिरबाट ल्याउँदा त्यसै महङ्गो हुनु स्वभाविकै हो । त्यसैमाथि खुद्रा बेच्नेको मनपरि मूल्यले उपभोक्ता झन् मारमा परेका छन् ।

आलु धरै मात्रामा भुटान, बङ्लादेश, भारत, काभ्रे र केही कास्कीको शिशुवा र हेम्जाबाट मण्डीमा आइपुग्छ । प्याज धेरै भारतबाट अनि माग बढेमा चाइनाबाट आउने गर्छ ।

गोलभेंडा सर्लाही, धादिङ, भारत र स्थानीय उत्पादन थोरै मात्रामा आउने गरेको पाइन्छ । अन्य तरकारी पनि बाहिरबाट आउने गरेको व्यवसायी बताउँछन् । जुन देशबाट आएपनि भैरहवा हुँदै नेपाल छिर्ने गरेको व्यवसायी बास्तोलाले बताए ।

एक पटकमा ठूलो ट्रकले २० देखि २५ क्विन्टल माल ल्याउँछ । ‘भारत, बङ्लादेश वा भुटानमा कति पर्छ हामीलाई थाहा हँुदैन, हामीले भैरहवाबाट मात्र डिल गर्न पाउँछौं,’ उनले भने, ‘एक ट्रक माल एउटा सटरले मात्र राख्न सक्दैन पाँच वटा सटरले मिलेर राख्ने गरिन्छ ।’

 

‘अनुगमन गर्न सशक्त संयन्त्रको खाँचो’

कपिलनाथ कोइराला
अध्यक्ष, उपभोक्ता मञ्च कास्की

तरकारी भनेको दैनिक आवश्यक पर्ने खाद्य वस्तु हो । स्थानीयस्तरमा उत्पादित तरकारी उत्पादन बजारमा त्यति आउँदैनन् ।

बाहिर जिल्लाबाट आयात भएका तरकारीमा बिचौलियाले अधिक नाफा खाने गरेको पाइन्छ । तरकारीकै मूल्य मात्रै अनुगमन गर्ने कुनै त्यस्तो निकाय छैन । एक त तरकारी दैनिक रुपमा मूल्य परिवर्तन हुन्छ ।

त्यसो भनिरहँदा उपभोक्तालाई मारमा पार्ने गरि बेच्न पनि पाइदैन । तरकारीको उचित मूल्य तोकेर व्यवसायीले २०–३० प्रतिशत नाफा खान मिल्छ । तरकारी बेच्ने पसलहरुमा पनि नाम नै राखिएको पाइदैन ।

त्यसमा पनि बजारमा तरकारीको मूल्य सूची पनि राखेको पाइदैन । पसलको नाम पनि नराख्ने र मूल्य सूची पनि नटाँस्ने पसललाई कारवाही गर्न सकिने प्रावधान छ ।

तरकारीको मूल्यको अनुगमन भयो भने दैनिक रुपमा नै हुनुपर्दछ । केही समय अघि जिल्ला कृषि विकास कार्यालय कास्की र विभिन्न संघ संस्था मिलेर अनुगमनका लागि समिति निर्माण गरिएको थियो ।

तर त्यस समितिले मूल्यमा मात्र हस्तक्षेप नगरी अन्य कृषिजन्य विषयमा मात्र उद्देश्य किटान गरेको थियो । अनुगमन गर्न सशक्त संयन्त्रको जरुरी देखिएको छ ।

 

‘खुद्रा बजारमा तरकारीको मूल्य अत्याधिक नाफा’

लोकेन्द्र बोहरा
बरिष्ठ कृषि विकास अधिकृत
जिल्ला कृषि विकास कार्यालय, कास्की

जिल्ला कृषि विकास कार्यालयबाट हालसम्म बजारमा उपलब्ध हुने तरकारीको मूल्य निर्धारण गरिएको छैन ।

खुला प्रतिस्पर्धाको आधारमा बजारमा तरकारीको मूल्य निर्धारण हुँदै आएको छ । किसानले उत्पादन गरेर थोक तथा खुद्रा बजारमा बेच्न लगिएको हामी पाउँछौं । तरकारीको विषयमा कुनै पनि निकायबाट हालसम्म मूल्य निर्धारण भएको पाएका छैनौं ।

बजारमा थोक भन्दा खुद्रा बजारमा बेच्न राखिने तरकारीको मूल्यमा अत्यधिक नाफा राखेको पाएका छौं । यस विषयमा विभिन्न छलफलका क्रममा प्रसङ्ग उठाए पनि किसान÷व्यवसायीहरुले तरकारी अन्य खाद्य वस्तुसँग तुलना गर्न नमिल्ने भन्नुहुन्छ ।

सड्ने, केही मात्रामा ढुवानीकै क्रममा पनि नासिने भएकोले पनि तरकारीको बजार मूल्य एकनास र निर्धारण हुन नसक्ने तर्कहरु पनि आउने गरेका छन् । विशेषतः वास्तविक किसानले तरकारीको मूल्य पाएकै छैनन् ।

न त उपभोक्ताले सुलभ दरमा उपभोग गर्न पाएका छन् ।

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.