
सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।
जमाना सामाजिक सञ्जालको छ । को कुन अवस्थामा छ भन्ने कुरा सञ्जालबाटै थाहा हुन्छ ।
अझ कलाकारको मातहतमा युटुब च्यानल एउटा ऐना हो । कलाकारको सिर्जना युटुबमार्फत छर्लङ देखिन्छन्, भेटिन्छन् ।

संगीत क्षेत्रमा पछिल्लो समय बढी चर्चा कमाउने र नसुन्नेले पनि सुन्ने गरेको अवस्था अहिले दोहोरी गीतको छ । लाइभ दोहोरीमा पारङगत माया गुरुङको नाम सर्च गर्नी हो भने पनि युटुबमा फरक–फरक शीर्षकका गज्जबको दोहोरी सुन्न पाइन्छ ।
विशेष त चोटिलो र गहकिलो दोहोरी गाउन खप्पिस भनेर माया गुरुङलाई लिने गरिन्छ । उनको नाम सर्च गरेर युटुबमा हेर्नि हो भने पनि उनलाई अझै प्रस्ट नियाल्न सकिन्छ । संगीतमा लागेको लामो समयमा उनले एउटा ओझिलो नाम पाएकी छन् त्यो हो, ‘लाइभ दोहोरी क्विन ।’ उनी यसैमा गर्व गर्छिन् । भन्छिन्, ‘म सानै देखि दोहोरी गीतमा बढी रुची राख्थे । सायद त्यसैको परिणाम पनि होला अहिले मेला–महोत्सवमा दोहोरी गाउनकै लागि बोलाउने गर्नुहुन्छ ।’
पछिल्लो समय उनी एउटा गीतबाट अझै हिट छिन् । पशुपति शर्माको लय/शब्दमा रहेको ‘रंगशाला जत्री’ दोहोरीले उनलाई थप उचाईमा पु¥यायो । उनको बारेमा यो लेख तयार पार्दा सम्म उक्त गीतले २० लाख दर्शक पाइसकेको थियो । निरन्तर लोकदोहोरीमा लाग्ने प्रण गरेकी गुरुङले हालसम्म एक दर्जन गीत बजारमा ल्याएकी छन् । तर उनले आफैले गाएको गीत भने , ‘बाचा कसम तोडेर जानीलाई’ खुबै मन पर्छ । कारण, ‘खै थाहा नै छैन् । तर, यो गीत सुन्दा निकै आनन्द आउँछ,’ उनी भन्छिन् ।
२०६१ सालदेखि औपचारिक रुपमा गीत रेकर्ड गरेकी गुरुङको पहिलो गीत ‘त्यही रुप देख्छु आँखा चिम्लेनी’ हो । लाइभ दोहोरीसँगै समयअनुसार गीत रेकर्ड गर्दै आएकी उनी मेला–महोत्सवको रोजाइमा बढी पर्ने गर्छिन् ।

स्याङजाबाट बिहे गरेर तनहुँ पुगकी गुरुङ सुरुआतको दिनमा गाउने पाइनन् । उनी सम्झिन्छन्, ‘बिहे गरेपछि केही वर्ष गीत गाउन छोडें । घरव्यवहार सम्हाल्न पर्ने पछि बच्चाबच्ची हुर्केपछि पुन गाउन थाले । घरपरिवारबाट गाउनको लागि रोकतोक भने छैन् ।’
स्कुल पढ्दा थुप्रै प्रतियोगितामा भाग लिएको सम्झना उनलाई अझै छ । त्यसबेला उनले ‘सलल बग्यो गण्डकी, हिउँचुलीमा हिउँ’ लगायतका गीत गाउने गरेको बताउँछिन् । उनकी फुपु पनि गीत गाउथिन त्यही संगीतले उनलाई अहिले गायिका बनायो । भन्छिन् , ‘फुपुले पनि गीत गाउनको लागि सल्लाह दिनुहुन्थ्यो ।’ उनकै प्रेरणा बोकेर १४ बर्षअघि पोखरा छिरेकी गुरुङ ‘माछापुच्छ्रे दोहोरी साँझ’ लोकसाइडमा गाउन सुरु गरेकी थिइन् ।
दोहोरी साँझमा ८ वर्ष गाइन् । दोहोरी साँझमा गाउनुभन्दा पहिले नै उनले थुप्रै प्रतियोगितामा गएर पुरस्कार जितिसकेको अनुभवले उनलाई निकै सहजता बनायो । उनलाई दोहोरी गाउनु खासै गाह्रो लाग्दैन रे । भन्छिन्, ‘दोहोरी गाउनु गफ गरेजस्तो लाग्छ । दोहोरी गाउन भन्दा बोल्न गाह्रो लाग्छ ।’
त्यतिबेला उनले दोहोरी साँझबाट मासिक ३२ रुपैयाँ कमाउथिन् । तर घरपरिवार चलाउन निकै गाह्रो हुन्थ्यो उनलाई । १४ वर्षपहिलेको एकदिन पोखराको फूलबारीमा एउटा कार्यक्रममा गएर ७ हजार रुपैयाँ पाइन् । त्यो रकम उनलाई निकै ठूलो लाग्यो । सम्झिन्छिन्, ‘छोटो समयमा ७ हजार पाउनु त्यतिबेला निकै ठूलो लाग्थ्यो । पहिलो स्टेज कार्यक्रम नभएपनि अतिथि कलाकार बनेर गएको पहिलो स्टेज थियो । त्यो बेला दिनमा मेलापात गर्दा थोरै रकम पाउने एकैछिन गीत गाउँदा त्यत्रो रकम पाउँदा निकै खुशी लाग्यो ।’
वर्तमान लोक संगीतको अवस्था राम्रो, नराम्रो दुबै भएपनि स्टेज पाउनको लागि गीत चल्नुपर्ने उनको बुझाई छ । ‘गीत गाएर बाँच्न सक्ने अवस्था भनेको स्टेज हो । क्षणिकको मात्रामा बाच्न सकिन्छ । भविष्य चाहिँ छैन् ’ उनी भन्छिन् ।
लोक दोहोरीको विकृति भन्दा पनि धेरै गीत राम्रा र संस्कृति झल्काउने गीत आएको उनको दृष्टिकोण छ । ‘एकादुई गीतले समस्या निम्त्याएको हो । विकृतिमूलक गीत दर्शक श्रोताले पनि हेर्नु हुँदैन्,’ उनी भन्छिन्, ‘यो समय लोकगीत मन पराउने धेरै हुनुहुन्छ । अहिले चलचित्रमा पनि लोकगीत प्याटनको गीत आएको छ, यो राम्रो पक्ष हो ।’
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमिति गण्डकीको निवर्तमान कोषाध्यक्ष समेत रहेकी गुरुङ गीत गाउनकै लागि नेपालका ३५ जिल्ला पुगेकी छन् । हाल तीज गीत रेकर्डमा व्यस्त छिन् । तीज लगत्तै पशुपति शर्मासँगको सहकार्यमा नयाँ गीतको तयारी रहेको सुनाइन् ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।