www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ-मुग्लिन सडकको पहिरो पन्छाउन दिनभर लाग्ने

चितवन (रासस)

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेका दुई ठूला पहिरो पन्छाउन दिनभर लाग्ने भएको छ ।

सो सडक खण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालका अनुसार थप पहिरो नखसे कम्तीमा दिनको ४ बजेसम्ममा दुईतर्फी सडक सञ्चालन गर्न सकिने छ । सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो ।

Batas

बिसुरालका अनुसार दुवै ठाउँमा दुई दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । सिमसिम पानी परिरहेको र दुई पहिरोका बीचमा सवारी साधन रहेकाले एकतर्फी सडक सञ्चालन गरेर बीचमा रहेका सवारी कटाउने काम १ बजेसम्म गरिसक्ने उनले बताए ।

मुग्लिनबाट तीन दशमलव १२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला तीन दशमलव तीन किलोमिटर दूरीमा छ । बीचको १८० मिटरमा मात्रै झन्डै ६० सवारीसाधन रहेको प्रहरीले जनाएको छ ।

पहिरोले पूरै सडक ढाकेको छ । टोपेखोलामा पहिरोले करीब ५० मिटर र कालीखोलामा ३५ मिटर ढाकेको बिसुरालले बताए ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले यथाशक्य छिटो एकतर्फी सवारी खुलाएर बीचमा अड्किएका गाडी सुरक्षित स्थानमा लैजान पहल भइरहेको बताए । ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खसिरहेको छ ।

यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको बताइएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.