www.tandavnews.com
Fact ~ In search of truth

मिटर व्याजको सञ्जाल तोड्दै कास्की प्रहरी

पोखरा
ताण्डव न्यूज ।

कास्की प्रहरीले यतिबेला मिटर व्याजमा संलग्न व्यक्तिलाई धमाधम पक्राउ गरेको छ । गैरकानुनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी असुल हुन नसकेपछि गुण्डागर्दी भित्रिएको एक प्रहरी अधिकृतले बताए ।

कास्की प्रहरीले यही मिटर ब्याज र गुण्डागर्दीमा सक्रिय रहेको आरोपमा आधा दर्जन भन्दा धेरै व्यक्तिलाई शुक्रबार पक्राउ गरेको छ । तर यस विषयमा कास्की प्रहरी बोल्न चाहेको छैन ।

Batas

अहिले पक्राउ परेको घटना सार्वजनिक भएपछि केही मिटर व्याजे तथा गुण्डागर्दीमा सक्रिय युवाहरुको भागाभाग भएको छ ।

विगतमा अपराधीक गतिविधिमा संलग्न रहेका व्यक्तिहरु मिटर व्याज लगाउन सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यति मात्र होइन पोखरामा केही राजनितिक नेता, होटल व्यवसायी, पत्रकार, संचारकर्मी, बैंकर, सहकारीका व्यक्ति, जग्गा दलाली, होटल व्यवसायी, मिटर व्याजको सञ्जालमा मुछिएको स्रोतले बतायो ।

‘केही व्यवसायी र समाजसेवी भन्दै विभिन्न खेलकुद तथा अन्य समाजिक संस्थामा सक्रिय रहेका व्यक्तिहरु जसले मिटर ब्याज लगाउने गरेका छन् ।

उनीहरुको पनि पहिचान भएको छ,’ स्रोतले भन्यो, ‘ मिटर ब्याजको दुनियाँमा यिनीहरु ठूलो माछा हुन । यिनीहरु यतिसम्म शक्तिशाली छन् कि केही घटना घट्यो भने प्रहरी र गुण्डाको सेटिङ मिलाउने काम समेत गर्छन् ।’

प्रमाण जुटाउन केहि गाह्रो भएको हुनाले कास्की प्रहरीलाई उनिहरु विरुद्ध कदम चाल्न समस्या भएको एक प्रहरी स्रोतले बताए ।

‘यिनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोको टोलीनै खटाएर कानुनी दायरामा ल्याउनु पर्छ,’ स्रोतले भन्यो, ‘पोखरा बिगार्ने र गुण्डा पाल्ने काम यिनीहरुले नै गरेका छन् ।’

मिटर व्याजे र गुण्डागर्दी गर्ने विरुद्ध कास्की प्रहरी यतिवेला खरो उत्रिएको स्रोतको भनाई छ । ‘कास्की प्रहरी उनीहरु विरुद्ध प्रमाण जुटाउँदै छ,’ स्रोतले भन्यो, ‘मिटर व्याजका कारण कतिको घर, जग्गा र गाडी खोसिएको छ । यो उठिवास लगाउने ठूलो गौरकानुनी खेल हो ।’

कसरी खेलिन्छ मिटर व्याजको खेल ?

मिटर व्याज भनेको मिटर घुमेजस्तै व्याज रकम फनफनी घुमेर जोडिने रकम हो । कुनै पनि व्यक्तिलाई पैसाको अत्ति आवश्यक पर्छ, त्यो वेला उच्च व्याज दरमा रकम दिनेलाई मिटर ब्याज भनिन्छ ।

सामान्यतया एक लाख रुपैया व्याजमा दिँदा एक हजार देखी दुई हजार रुपैयासम्म व्याज लिने चलन छ । तर मिटर व्याज भनेको छोटो समयमा दिइने रकम हो । जसले एक लाखको महिनामा ३० हजार देखी ५० हजारसम्म रुपैंयासम्म लिने गर्छन् ।

मिटर व्याज छोटो समयको लागि दिइन्छ । यसमा धेरै जसोले अग्रिम व्याज कटाएर रकम दिन्छन् ।

साथै कानुनी अवरोध नहोस् भनेर मिटर व्याजमा लिएको रकम बराबरको चेक लिन्छन् । तोकिएको मितिमा रकम नपाए फेरी सावामा व्याज थपेर फेरी नयाँ चेक बनाएर लिन्छन् ।

यदी रकम नै दिन मानेन भने चेक बाउन्स गरि कानुनी उपचारमा जान्छन् । केही व्यक्तिले भने गुण्डा लागएर थर्काउछन् ।

रकम तिर्न केही सिप नलागेपछि घर,जग्गा र गाडी समेत साहुको नाममा दिन्छन् ।

मिटर व्याज भित्रको अर्को खेल

मिटर व्याजमा डुवेकालाई उकास्ने नाममा अर्को मिटर व्याजेले दाउ खेल्छ । पहिले नै मिटर व्याजमा फेसेको व्यक्तिलाई साथि बनाई सहयोग गरे जसरी अझ चर्को मुल्यमा मिटर व्याजको रुपमा रकम दिन्छ ।

केही समयको लागि मिटर व्याजको तनाव कम गर्न सजिलै झन् ठुलो जालोमा फस्छन् । त्यसपछि घर, जग्गा, गाडी र व्यवसायीनै धरापमा पर्छ ।

पहिला २० देखी ५० मा व्याज लिएको व्यक्तिले त्यो ऋण तिर्न फेरी ५० देखी १०० सम्म मिटर व्याज लिन पछि पर्दैनन् । यस पछि उसको कालो दिन सुरु हुन्छ ।

रकम नदिए कानुनी रुपमा चेक छ, अर्को तिर घर परिवारनै मार्ने धम्की आएपछि घर,जग्गा, गाडी र व्यवसायनै साहुलाई बुझाउन बाध्य हुन्छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.