www.tandavnews.com
Fact ~ In search of truth

हराए असारे भाका

 

 

 

 


सन्तोष सुवेदी

पाेखरा, ताण्डव न्यूज ।

लेकको चरी बेसीमा झर्यो पाकेको बर खान
हाड मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान
असार मास कुटेका चिउरा म कति साँचुला
सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।

प्राज्ञ हरिदेवी कोइरालाका असारे गीतमा समावेश केही हरफहरु हुन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । असारको अन्तिम साता आइपुग्दा पनि असारे भाका खेतको आलीबाट गुन्जिएनन् ।

नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइमा दिनभर थाकेको बाउसे र रोपाराहरु एक अर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुख कष्ट र थकाई विर्सने गर्छन् । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङछङ आवाजसँगै असारे भाकालाई अझै मिठास थपेको हुन्छ । जसले थकाई परिश्रम विर्साउँदै बढी आनन्द प्रदान गरेको पनि हुन्छ ।

पहिला असारे गीत असार सुरु हुने बित्तिकै सुनिथ्यो तर अहिले असार सकिन लाग्दा पनि उतिसारो गीत गुन्जेको पाइदैन् । प्राज्ञ हरिदेवी कोइराला भन्छिन् ‘कृषि प्रधान मुलुकमा असारे गीत जोगाउनुपर्छ । मौलिक खालका संस्कृतिमुलक गीतहरु संरक्षण र सम्बद्र्धन गरेमा आउने नयाँ पिढीलाई बुझ्न सजिलो हुन्छ ।’

कोइरालाका ३ वटा असारे गीत र केही असार सम्बन्धी कविता संग्रह प्रकाशित छन् । मिडियामा असारे गीत बज्न छाडेको बताउने कोइराला संस्कृतिमुलक गीतलाई खोजमुलक बनाउनुपर्ने औल्याउँछिन् । हरेक समय र ऋतुसँगै आउने असारे गीत हामी सबैको संस्कृति रहेको उनको भनाई छ ।

मानो खाएर मुरी रोप्ने एक महिने पर्व जस्तै असारे महिनामा पहिले जस्तो उल्लाहास आजकल पटक्कै पाइदैन् । आजकल मेला हिड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बुढापाकाहरु बताउँछन् ।

नयाँ पिढीहरुलाई असारे गीत गाउन आउदा पनि आउँदैन् । रोपाइका बेला विउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्नि हुँदा उत्सव जस्तै मानिने असारे रोपाईको रौनक घटेको प्राज्ञ कोइराला बताउँछिन् । ‘बिहानैदेखि खान खाएर मेला जाने खेत रोप्ने हिलो खेल्ने र साँझ सम्म काम गर्ने पुरानो चलन हो । अहिले कति फेसन भयो कति हराउँदै गयो,’ उनी भन्छिन् ।

पछिल्लो सयममा रोपाईको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको कोइरालाको विश्लेषण छ । ‘रोपाईमा त गाइन छाड्यो, छाड्यो, आजभोली रेडियोबाट समेत गीत सुनिदैन,’ कोइराला सुनाउँछिन् ।

पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण संग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारहरुले सांस्कृतिक गीत भन्दा पनि व्यवसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको कोइराला बताउँछिन् । दाईको बेला गाइने गीत र संस्कारको संरक्षण हुन सक्यो भने यसले धान खेती र दाई गर्ने किसानको पनि हौसला बढ्ने उनको भनाई छ ।

नेपाली लोक गीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतहरुको संरक्षण र सम्वद्र्धन भने हुन सकेको छैन । जसले गर्दा आफ्नो संस्कृतिमुलक गीतहरु लोप हुँदैछन् । यस्ता गीतहरुलाई संरक्षण गर्न अति आवश्यक छ ।

कसरी गाउने :

असारे भाकाले भौगोलिक विविधता पनि समेटेको छ । असारेलाई पूर्वी भेगमा ‘रसिया’ भनिन्छ भने पश्चिमान्चलतिर ‘काँठेभाका’ भन्ने गरिन्छ ।

लेग्रो तानेर गीतको पहिलो लाइन झिकेपछि बीचमा अनुप्रासका टुक्कालाई मिलाएर अन्तिम फाँकी वा टुप्पो गीत भन्ने चलन छ । यस भाका फाँकीहरु १६/१६ अक्षरका हुन्छन् र हरेक पाउका १० अक्षरमा विश्रान्ति लिई लामो स्वरका लेग्रो तान्ने यो भाका गाइन्छ । यसको टुक्काको पुरनावृती भइरहने स्रष्टाहरु बताउँछन् ।

Lama collectio News Middle

असारे भाकाले थकित वातावरणलाई आनन्ददायी र रोचक बनाइदिन्छ । रोपाइ गर्दा आफ्ना दुख, पीर तथा जीवनका घटनलाई गीतका रुपमा असारे गीत गाउने पनि गरिन्छ । यो गीत यदाकता दोहोरी गाएपनि प्राय एकोहोरो बढी गाइने गरिन्छ ।

‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर,
घरमा छैन शितलु वचन, मनमा छैन थिर
छुपुमा छुपु खेतमै रोपु, हातको बिउ छउन्जेल
जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइन्जेल ।।’

रेकर्ड हुनै छोडे :

किसानको लागि असार महिना एउटा उत्सव हो । यही उत्सवमा हिलो र धानको बिउँसँगै दिनभर खेतमा रमाउने गर्छन् । असारमा गाइने र रमाउने गीतहरु नयाँ नभएपनि पुरानै गीतमा रम्नु पर्ने बाध्यता उनीहरुको छ ।

एक महिनामात्र बज्ने भएकोले पनि असारे गीत रेकर्ड उतिसाह्रो नभएको प्राज्ञ हरिदेवी कोइराला बताउँछिन् । असारे गीतको महत्व पनि जनमानसमा घट्दै गएको उनको ठम्याई छ । ‘यस्ता गीतको भाका अन्य गीतजस्तो सरल र सजिलो छैन्,’ उनी भन्छिन्, ‘लेग्रो तानेर गाउने हुँदा रेकर्ड गर्न कलाकारहरु इच्छुक देखिदैनन् ।

रेकर्ड गराएपनि धेरै गरेको पाइदैन्, २/३ वटा भन्दा बढी एउटा कलाकारले रेकर्ड गरेको पाइदैन् ।’ व्यावसायिक रुपमा पनि नचल्ने भएकोले पछिल्लो समयमा झनै कम भएको उनी बताउँछिन् । रेकर्डिङको हिसावले पनि कम भएकोले हुनसक्छ उतिसारो इन्टरनेटमा पनि गीत भेटिदैनन् । असार महिनालाई सांस्कृतिक पक्षले पनि जोडिएको हुँदा यसमा प्रयोग हुने बाजागाजा, गीतको संरक्षण हुनुपर्ने कोइराला बताउँछिन् ।
राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश विजी पनि एक महिनामात्र बज्ने भएको हुनाले व्यावसायिक रुपमा रेकर्ड कम भएको बताउँछन् । ‘गीतमा खर्च गर्नेहरु पनि एक महिनामा फुलफिल गर्न नसक्ने हुँदा रिक्स मोल्न चाहँदैनन्,’ उनी भन्छन्, ‘यी गीतहरु विशेष गीत ऋतु विशेष हुन् । यसको संरक्षणमा ध्यान दिनुपर्ने देखिन्छ ।’

राज्यको तर्फबाट रेडियो नेपालले यस्ता गीतलाई संरक्षण गर्नको लागि रेकर्डको व्यवस्था गरिनुपर्ने विजी बताउँछन् । किसानका लागि वास्तविक चाड असार भएकोले एक महिनाभरी काम गरी वर्षसम्म खान पु¥याउने र कामसँगै रमाइलो चाहिने हुँदा विउँ, हली, रोपारहरुको बारेमा गीत बनाएर गाएर मेलो सक्ने चलन रहेको उनी बताउँछन् ।

‘असारे गीत धेरै छैनन् । पुराना गीतहरु अलिअलि छन् । अरुण उपत्यकाले बरु केही रेकर्ड गराएको छ,’ विजी भन्छन्, ‘अहिलेको नयाँ पिढीले डेढ २ लाख व्यक्तिगत खर्च गरेर असार महिनालाई मात्र रिक्स मोल्न नसक्ने अवस्था छ ।’

बढी गुन्जिने असार गीत

‘हरियो डाँडा माथि हलो जोत्ने साथी…।’ स्व. धर्मराज थापाको गीतले वास्तविक असारको महिमालाई चित्रण गरेको छ । यो गीत बज्यो भने असारको झल्को आउने गर्छ ।

थापाको स्वरमा रेकर्ड भएको उक्त ‘हरियो डाँडा माथि’ बोलको गीत पछि रामचन्द्र काफ्लेको आवाजमा पनि पुन रेकर्ड गराइएको छ । ‘रिमी र झिमी पानी है प¥यौ असारे मासैमा, हिडेको हामी धान रोप्न बेंशीको फाँटैमा.. ।’ पूर्वेली लोकभाकामा तयार भएको असारे गीत नविनकुमार खड्का, हरिबहादुर खत्री, कमलबहादुर खत्री र पुस्तका खड्काले गाएका हुन् ।

‘रातोमा रातो असार फुल्यो बन र पाखामा, झ्उकिरी नानी गाउन थालिन सुरिलो भाकामा..।’ तीर्थराज अधिकारीले लेखेको यो असारे गीतलाई पदमराज ढकाल र सावित्री शाहीले गाएका छन् । नारायण रायमाझीको ‘छुपुमा छुपु’ बोलको गीत पनि असारमा गुन्जने गर्छ ।

एक वर्षअघि गायक मिलन लामाले पनि असारे गीत गाएका छन् । ‘छुपुमा छुपु खेतनै रोपौं धानको विउ छदै, मिठाइर खाम्ला राम्रैर लाम्ला चेलीको जिउ छदै’ असारे गीतमा जुनु रिजाल काफ्ले महिला स्वर दिएकी छन् ।

परम्परादेखिनै गाउन थालियो

हरिदेवी कोइराला
(प्राज्ञ/गायिका)

असारे गीतको संरक्षण गर्नुपर्छ है भनेरनै रेडियो नेपालबाट पहिलो गीत रेकर्ड गराएको थिएँ । असारे गीत गाउने प्रचलन कहिलेबाट सुरु भयो भन्दा पनि काम गर्दै जादाखेरी परम्परादेखिबाट नै चल्दै आएको हुनुपर्छ । कृषिप्रधान देशमा धानखेतीलाई मुख्य आधार नै यही भएकोले विशेष महत्वका साथ काम गरिन्छ ।

असार महिनामा गायन, साँस्कृतिक पक्ष पनि छ । एक महिनामा हिलो टेक्नै पर्छ भन्ने चलनअनुसार नै राजारानीले पनि हिला टेक्थे । धान भनेको मुख्य अन्न मात्र नभई लक्ष्मीको प्रतिक पनि हो ।

यसको विशेष जोड दिएर खाजा खानेक्रममा रोटी हाल्ने, बाड्ने चलन, गोरुलाई हिलो लगाइदिएर अक्षता लगाउने, काम सकिएपछि गोरुलाई नुहाउने चलनहरु साँस्कृतिक पक्षसँग पनि विशेष जोडिएको छ । रोपाइ सकिएपछि गाना बजाएर घरको मुख्य मान्छेलाई आदरसत्कार गर्ने चलन पनि रहेको छ । असारलाई भूमिको पूजा गरेर मनाइने रमाइलो पर्व भन्नु रुचाउँछु ।

ठाउँअनुसारका फरक असारे गीत

डा.कुसुमाकर न्यौपाने (लोकसाहित्यविद्)

नेपाली लोकगीत विभिन्न प्रकारका छन् । अनगिन्ती भएकाले ती गीतहरु यति नै छन् भनेर किटान गर्न सकिँदैन । अध्ययन गर्न सजिलो होस् भनी नेपाली लोकगीतका ती प्रकारलाई विभिन्न आधारमा छुट्ट्याउन सकिन्छ ।

बाह्रै महिना गाउन मिल्ने गीत बाह्रमासे गीत हुन् । चाडपर्वमा गाइने गीत पर्व गीत हुन् । जन्मदेखि मृत्युसम्मका संस्कार गर्दा गाइने गीत संस्कार गीत हुन् । श्रम अर्थात् कर्म गर्दा गाइने श्रम गीत अर्थात् कर्म गीत हुन् । यही श्रम अर्थात कर्म गर्दा गाइने गीतहरु पनि धेरै छन् । जस्तै : दाइँ गीत, जेठे गीत, साउने गीत, भदौरे गीत आदि । यही श्रम गीत अर्थात् कर्म गीत अन्तर्गत पर्ने एउटा गीत असारे गीत हो ।

असार महिनामा खेत रोपाइ गर्दा गाइने गीतलाई असारे गीत भनिन्छ । रोपाइ गर्दा गाइने भएकाले यस गीतलाई रोपाइ गीत पनि भनेको भेटिन्छ । ठाउँअनुसार असारे गीतका भिन्नभिन्न स्वरुप र संरचना पाइन्छन् । त्यसैले पनि असारे गीतलाई ठाउँअनुसार फरक–फरक नामकले पुकारेको पाइन्छ ।

नेपालको पूर्वी भागमा यस गीतलाई ‘रसिया गीत’ भन्छन् । गुल्मी तथा अर्घाखाँचीतिर ‘वाली गीत’ भन्छन् । पर्वत जिल्लाको उत्तरी भेकतिर यस गीतलाई ‘भलो गीत’ भन्छन् । यी नाममध्ये अहिले बढी लोकप्रिय बनेको नाम असारे गीत हो । असारे गीत भन्नासाथ अहिले दुईवटा पंक्ति भएको गीतलाई बुझिन्छ । त्यो गीतको पहिलो पंक्ति १६ अक्षरको र दोस्रो पंक्ति पनि १६ अक्षरको हुन्छ । जस्तै :

नबाइर बोक्रो, नभित्र खोक्रो, गुलियो कसार
पुरुबै ढोका खोलेर हेर्दा लागेछ असार

यो गीत कवि देवकोटाले लेखेको मुनामदन काव्यको छन्दसित मेल खान्छ । त्यसैले असारे गीतको छन्द भ्mयाउरे छन्द हो ।

उक्त छन्दयुक्त गीतलाई अरु बेला गाउँदा असारे गीत हुँदैन । असारे गीत हुनका निम्ति उक्त गीतले आप्mनो परिचायक सन्दर्भ खोजेको हुन्छ । असारे गीतका परिचायक सन्दर्भ भनेका असार महिनामा खेत रोपाइ गर्दाको सन्दर्भ हो ।

त्यहाँ हली, बाउसे, बियाडे, रोपारा (खेताली)हरु हुनुपर्छ । यस्तो सन्दर्भयुक्त वातावरणमा यिनै हली, बाउसे, बियाडे र रोपाराहरुले खेतरोपाइको काम गर्दा छुट्टै लयमा गाए भने मात्र उक्त गीत असारे गीतमा परिणत हुन्छ । जस्तै ः

गुलियो कसार
नबाइर बोक्रो, नभित्र खोक्रो, गुलियो कसार
गुलियो कसार
पुरुबै ढोका खोलेर हेर्दा लागेछ असार
लागेछ असार
पुरुबै ढोका खोलेर हेर्दा लागेछ असार

यसरी भ्mयाउरे छन्दयुक्त गीतलाई छुट्टै लयमा बाँधेर गाइयो भने त्यो गीत असारे गीत हुन्छ । यस्तो लयको गीतलाई अहिले असारे गीत भनेर चिन्नेचिनाउने गरिएको छ । ठाउँअनुसार असारे गीतका लय फरक देखिएका छन् । अरु गीत भन्दा भिन्न विशेषता भएकाले नै यो गीतलाई असारे गीत भनिएको हो ।

असार र संस्कृति

तुलसी प्रवास
(लोकसंगीतका अनुसन्धानकर्ता)

असार हरेक नेपालीको आशा अनि भरोसाको महिना हो । मानो रोपेर मुरी फलाउने महिनाका रुपमा लिन्छन् यो महिनालाई नेपालीले ।

कृषि मै निर्भर यो देशका मनिसहरुले अपनाउने संस्कृति पनि कृषिसँगै सम्बन्धित छ अझै भनौँ कृषि पनि यो देशको संस्कृति हो । हाम्रा धेरैजसो संस्कृतिको निर्माण कृषिमै आधारित छन् । हाम्रा कृषकहरु, खेती लगाउँदा, गोडमेल गर्दा, बाली थन्क्याउँदा जुनसुकै कृषि कर्मको बेलामा पनि गीत गाएर मनोरञ्जन लिने गर्दछन् ।

विभिन्न जात—जाति, धर्म—संस्कृतिका मानिसहरूको बसोबास रहेको यस देशका बस्तीहरूमा नेपाली लोकसाहित्यको भण्डार रहेको महसुस हुन्छ । दिनभरि मेलापात गर्नै, साँझपख थाकेर लस्त परेको शरीर घिसार्दै उकालीका चौतारीमा भारी बिसाएर मनको भारीलाई हलुङ्गो पार्न छेउको चिलाउनेको पात टिपेर बजाउने यस देशका बासिन्दाले लोकसाहित्यलाई नै मनोरञ्जनको प्रमुख साधन बनाएको पाइन्छ ।

असार कृषकहरूको कामको महिना हो । कृषकहरू असार रोपेर मंसिर फलाउँछन् । खेतमा रोपाइँ गर्दा आफ्नो थकाइ मेटाउन र मनोरञ्जन गर्न असारे गीतहरू सुसेल्छन् । रोपाइँको समयमा रोप्ने खेताल्नीहरू एक आपसमा हिलो छ्यापाछ्यप गर्दै माया प्रीति साटसाट पनि गर्ने गर्दछन् ।

तन्नेरीहरू जुहारी खेल्दै सबै खेतालाहरूलाई मनोरञ्जन प्रदान गर्दछन् । कतै कतै रोपाइँमा पञ्चे बाजा समेत बजाउने प्रचलन छ । रोपाइँका बेला गाउँगाउँका कृषकहरू फाँटमा जम्मा भएर रमाइलो गर्दै रोपाइँ गर्ने गर्दछन् । नदी किनाराका फाँटमा रोपाइँ गर्न झर्दा बाटोमा पनि उनीहरु गीत गाउँदै आवतजावत गर्ने गर्दछन् । यस्तै गीतहरू गाएर आफूमात्र नभई अन्यलाई पनि आनन्दित पार्ने गर्दछन् ।

यसो गर्दा मनोरञ्जन प्राप्त हुनाको साथै कामको थकान पनि महसुस हुँदैन । हात हातमा काम, गलामा गीत, ओठमा मुस्कान र मनका अभिव्यक्तिहरू उनीहरुले सरल र सहज पाराले गुन्जाउने गर्दछन् । जुन कालिदासका कोमल पदावलीयुक्त कविताभन्दा कत्ति कम छैनन् । असारे गीतका केही नमुनाहरू :

असारै मासको दब्दबे हिलो छुनलाई घिन लायो,
पातली नानीलाई फरिया किन्दा छबिस रिन लायो ।
छुपुमा छ्ुपु धानै र रोपेँ हातमा बीउ छइन्जेल,
जे खानु खाइयो, जे लाउनु लाइयो आमाको जीउ छइन्जेल ।

यसरी असार कृषिको महिना हुनाका साथै लोकसंस्कृतिको पनि महिना हो । मनका पीडा विरह पोख्ने माध्यम पनि असार हो ।

यही महिनामा उनीहरु शारीरिक परिश्रम गर्छन् र सँगसँगै आफ्ना मनका विरह, हाँसो, खुसी पनि गीतका माध्यमबाट अभिव्यक्त गर्दछन् । त्यसैले असार सबैे नेपालीको हर्षको महिना हो र नेपाली लोकसंस्कृतिका दृष्टिले पनि महत्वपूर्ण महिना हो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery