काठमाडौँ, (रासस) : सरकारले भूमिसम्बन्धी सम्पूर्ण जानकारी दिने उद्देश्यले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले ‘भूमि सुशासन’ नामक एप्स प्रयोगमा ल्याएको हो । यस एपलाई ‘नक्सा’ नामक संस्थाले विकास गरेको हो ।
एप्समा मन्त्रालयका भूमिसम्बन्धी सेवाको सम्पूर्ण जानकारी उपलब्ध हुनेछ । भूमिसम्बन्धी कानूनसमेत एप्समा समेटिएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव जनकराज जोशीले जानकारी दिए। मोबाइल एप्समा भूमि चाँजसम्बन्धी जानकारी समेटिएको छ ।

यस्तै मालपोत, नापीलगायतका कार्यालयमा दिइने निवेदनका ढाँचा डाउनलोड गर्ने व्यवस्थासमेत रहेको छ । सामान्य नागरिकले जग्गासम्बन्धी भोग्ने समस्यालाई एप्सले समाधान गर्ने प्रयास गरेको छ । जग्गाबारे सर्वसाधारणमा बारम्बार उठ्ने जिज्ञासालाई समेटेर एकै ठाउँमा उत्तर संकलन गरिएको छ ।
भूमिसम्बन्धी पदावलीको अर्थ नेपाली र अंग्रेजी दुवै भाषामा राखिएको छ । मालपोत र नापी कार्यालयको ठेगानासहितको विवरण पनि एप्समा समेटिएको छ ।
त्यस्तै भूमिसम्बन्धी कार्यालय, त्यहाँबाट प्रदान गरिने विभिन्न सेवा, आफूलाई चाहिने कार्यालय पत्ता लगाउने तरिका र नापी क्यालकुलेटर समावेश गरिएको छ ।
“यस एप्सबाट मालपोत, नापी र भूमिसुधार कार्यालयका मुख्य सेवाको विवरण आम नागरिकले सजिलै प्राप्त गर्नेछन्”, एप डेभलप गर्ने नक्साका संस्थापक उत्तम पुडासैैनीले बताए, “यस एपमा राखिएको बडापत्रमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालका सबै विभाग र कार्यालयबाट प्रदान गरिने सेवा, ती सेवा लिन आवश्यक कागजात, लाग्ने दस्तुर, समय, जिम्मेवार अधिकारीको विवरण राखिएको छ ।
नागरिकले यस एपबाट आफ्नो प्रदेश, जिल्ला र वडा नम्बर राखेपछि आफूले सेवा लिने कार्यालयको विवरण उपलब्ध हुने पुडासैनीले जानकारी गराए। उनका अनुसार यस एप्पमा रहेको नापी क्याल्कुलेटरले जग्गाको लम्बाइ, चौडाइ प्रविष्ट गराएर क्षेत्रफल विभिन्न एकाइमा परिवर्तन गर्न मिल्ने बनाइएको छ । एप्पमा सातै प्रदेश र ७५३ स्थानीय तहको नक्सासमेत उपलब्ध छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.