www.tandavnews.com
Fact ~ In search of truth

भरतपुरले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने

चितवन (रासस)

भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गरेर अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने भएको छ ।

महानगरका प्रमुख रेनु दाहालले कृषि तथा वनविज्ञान विश्वविद्यालय परिसरमा रहेको जग्गामा रंगशाला निर्माणका लागि गृहकार्य थालिएको बताए । विश्वविद्यालयलाई भरतपुर– १८ स्थित सार्वजनिक जग्गा सट्टाभर्ना गरेर रामपुरमा विश्वविद्यालयसँग क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने जग्गा लिन लागिएको छ ।

Batas

प्रमुख दाहालले फाउण्डेशनका तर्फबाट छिटोजग्गाको टुंगो लगाउन ताकेता भइरहेको जानकारी दिँदै आज रामपुरको जग्गा नापजाँच गर्ने काम भएको बताए । दाहालले भने , “फाउण्डेशनले छिटो ठाउँ दिनुप¥यो भनेर ताकेता गरिरहेको छ । कार्यविधि बनाएर काम अगाडि बढाइएको छ ।” उनका अनुसार फाउण्डेशनलाई विदेशी दाताले पनि लगानी गर्न इच्छा व्यक्त गर्दै छिटो काम गर्न ताकेता गरिरहेका छन् ।

दाहालका अनुसार झण्डै तीन अर्बको लगानीमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्नेछ जसका लागि २५० मिटर चौडाइ र ५५० मिटर लम्बाइ भएको एउटै जग्गा आवश्यक पर्छ । महानगरका अन्य क्षेत्रमा रहेको सार्वजनिक जग्गा आवश्यक लम्बाइ चौडाइ मिल्ने गरी नभएपछि विश्वविद्यालयको जग्गामा रंगशाला निर्माण गर्न लागिएको हो ।

त्रिविले विश्वविद्यालयको परिसरमा रहेको जग्गामध्ये ४० बिघामा इञ्जिनीयरिङ कलेज सञ्चालन गर्दैछ । सँगै रहेको जग्गामा रंगशाला निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विश्वविद्यालयका उपकुलपति प्रा डा ईश्वरीप्रसाद ढकालले महानगरले सट्टा जग्गा दिने गरी रंगशालाको प्रस्ताव गरेको बताए ।

महानगरले जग्गा दिने ठाउँमा भैंँसी प्रजनन केन्द्र स्थापना गर्ने तयारी विश्वविद्यालयले गरेको छ । ढकालले चितवनमा रंगशाला निर्माण गर्दा यहाँको विकासमा ठूलो टेवा पुग्ने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.