www.tandavnews.com
Fact ~ In search of truth

पोखरेली ‘जेठोबुढो’को माग बढ्दै

पोखरा
वासुदेव पौडेल ।

जेठोबुढो कास्कीको रैथाने धान हो । फेवातालको सिरान पामे सबैभन्दा बढी जेठोबुढो झुल्ने फाँट हो । अर्मला, आर्वा, कुँडहरका साथै लेखनाथका विभिन्न फाँटमा पनि जेठोबुढो धान पर्याप्त फल्छ ।

मगमग बास्नाका साथै स्वादिलो जेठोबुढोको माग पोखरासहित देशका प्रमुख शहरमा हुने गरेको छ । लिवर्डका प्राविधिक अधिकृत खेमराज च्वाइँ सुवेदीका अनुसार जेठोबुढोका डल्लो, लामो, ढल्ने, गाँज ठूलो हुनेजस्ता विभिन्न प्रजाति रहेका छन् ।

Batas

धेरै गर्मी र धेरै जाडो नहुने लेखनाथका खास्टे, दिपाङ, रुपालगायत तालको किनारामा पनि जेठोबुढो धान लगाउने गरिएको छ । भरतपोखरीको सुरौदी, कुर्लिङ, चवादीलगायत ठाउँका कृषक पनि विस्तारै यसतर्फ आकर्षित हुन थालेका छन् । जेठोबुढोका लागि पर्याप्त सिँचाइ आवश्यक पर्छ । सिँचाइ अभावका कारण कृषकले चाहेर पनि धेरै ठाउँमा उक्त धान फलाउन सकेका छैनन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा हाल ४८ हजार ६३३ हेक्टरमा धानखेती गरिँदै आएकामा २६ हजार ७५७ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ । विजयपुर खोला, सेती नहर र बेगनास तालबाट सिँचाइ हुँदै आएको कास्कीको खेतीयोग्य जमीन ६८ हजार ९६७ हेक्टर छ । स्वादिलो र उचित मूल्य पाउने भएकाले कृषक जेठोबुढो धानतर्फ आकर्षित बनेका आर्वाका अगुवा कृषक टेकनाथ बराल बताउछन् ।

“जेठोबुढाको बीउको माग कास्कीमा मात्र नभएर बाहिरका जिल्लामा पनि अत्यधिक छ”, उनले भने , “केही वर्षयता यसको बीउ गोरखा, लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, पर्वत, म्याग्दीलगायत जिल्लामा पुगिसकेको छ ।”

जिल्लामा जेठोबुढो धानको बिउको बिक्री मूल्य प्रतिकिलो रु १९० कायम गरिए पनि माग बढी भएका कारण कृषकले प्रतिकिलो रु २३० सम्ममा बिक्री गर्दैआएका छन् ।

लिबर्डले पोखराका विभिन्न स्थानमा फल्ने जेठोबुढोका छ वटा प्रजातिको संकलन गरी त्यसबाट सुधारिएको पोखरेली जेठोबुढोको बीउ उन्मोचन गरेको छ । लिबर्डको सहयोगमा आर्बाको नमूना प्राङ्गारिक कृषि सहकारी संस्था, फेवा बीउ उत्पादन समूह, जनसेवा एग्रोभेटलगायत संस्थाले जेठोबुढो धानको बीउ उत्पादन गर्दै आएका छन् ।

सुधारिएको पोखरेली जेठोबुढोको बीउ कृषकका लागि २०६७ सालमा सिफारिश गरिएको थियो भने २०६८ देखि उत्पादन शुरु भएको गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अधिकृत प्रकाश बस्ताकोटीले बताए । जेठोबुढोको उत्पादन क्षमता प्रतिहेक्टर तीनदेखि ३.५ मेट्रिक टन रहेको छ । जेठोबुढोको चामल प्रतिकिलो रु १६० पर्छ भने प्रतिपाथी रु ६०० पर्छ ।

जनसंख्याका आधारमा कास्कीमा वार्षिक एक लाख एक हजार टन खाद्यान्न आवश्यक पर्छ । हाल ७६ हजार टन मात्र खाद्यान्न उत्पादन हुन्छ । पछिल्ला वर्षमा जेठोबुढो झुल्ने बिरुवा फाँट, कुँडहर फाँट, लेखनाथका फाँट प्लटिङका कारण घडेरीमा परिणत भएका छन् ।

जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार जिल्लामा प्रत्येक वर्ष १०० हेक्टर कृषिभूमि घटिरहेको छ । शहरी क्षेत्रको लगभग ४० प्रतिशत तथा गाउँको करीब २५ प्रतिशत जमीन बाँझिएको छ । – रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.