www.tandavnews.com
Fact ~ In search of truth

नशालाई जित्नेहरु…

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

लागू औषधको कुलतमा जानेर या अन्जानमा किन नहोस, मान्छे फस्ने गर्छन् । यो यस्तो जालो हो जसमा फस्नु भनेको दलदलमा पर्नु जस्तै हो । जति लामो यात्रा उतिनै खतरनाक । लागू औषधमा पाइला टेक्नु भनेको काललाई निम्त्याउनु हो ।

यसमा फस्नेहरु अधिकांश अकालमै जीवन गुमाउछन् र परिवारले पनि उत्तिकै दुख पाउछन् । तर केही यस्ता उदाहरणहरु छन्, जो अन्जानमा लागूऔषधमा फेस तर जीवन बुझेर त्यसबाट निस्कन सफल भएका छन् ।

Batas

जसलाई हामीले नशालाई जित्नेहरु भनेका छाै‌ । जसले इच्छाशक्ति देखाएर लागूऔषधलाई चटक्कै छाडेर समाजमा राम्रो उदाहरण बन्न सफल भएका छन् ।

पोखरा–९, नयाँबजारका प्रदिप बस्नेत (३६) पेसाले निर्माण व्यवसायी हुन् । व्यवसायी मात्र नभई उनका दिनहरु आजभोलि अभियन्ताको रुपमा पनि व्यतित हुन्छन् । त्यो पनि लागु औषधको ।

सरकारी तथा गैह्रसरकारी कार्यालयको समन्वयमा होस् वा क्लव तथा सामाजिक संस्था उनी नव युवा पुस्ताहरुलाई लागु औषध बारे जानकारी दिन विभिन्न स्थानहरुमा पुगिरहेका हुन्छन् । उनका आफ्ना अनुभव सहितका किस्सा सुनाईरहँदा लागु औषध प्रयोग गर्दै गरेका र लागु औषधको प्रभावमा पर्न सक्ने युवाहरु उनलाई बढो रोचक मान्दै सुनिरहेका हुन्छन् ।

वास्तवमा प्रदिप आफैँ पनि पूर्व लागु औषध प्रयोगकर्ता हुन् । उनका जीवनका आरोहअवरोह सबै बुझ्न ०५० सालतिर फर्कनु पर्ने हुन्छ ।

कक्षा ९ मा पढ्दैताका प्रदिपले चुरोट तान्न सिकिसकेका थिए । पोखराको बसोबास उही स्तरका साथीसंगत र उत्तालो परिवेश । वातावरण नै सायद यस्तै हुनुपर्छ उनको लागु औषधको लत विस्तारै उनका शरीरका नसानसाका लागि अपर्याप्त बन्दै थियो । चुरोटबाट गाँजा, अल्कोहल र ट्याब्लेटसम्म पुगेपछि पनि प्रदिपलाई कुनै होस थिएन् ।

संगतमा भएका आफू भन्दा ठूला दाईहरुले नै अनेकथरीका लागु औषध किन्न पठाउने भएर पनि उनलाई सम्झाउने कोही भएनन् । पढाईमा नैराश्यता, रिस, आवेग, झगडा उनको दैनिकी स्वभाविक थियो । प्रदिपको पूर्णत होस गुमिसकेको अनुभव छ उनीसँग । परिवार, छिमेक, समाज, बन्धुबान्धवको कसैको पर्वाह छैन् । बस् वेपर्वाह धुवाँ उडाउन पाइरहुँ । उनी यस्तै सोच्थें ।

कलिलै उमेरमा लागु औषधको लतमा परेपछि परिवार चिन्तित थियो । त्यसताका पोखरामा लागु औषधमा फसेका व्यक्तिहरुलाई पुर्नस्थापना गरिने संस्थाहरु थिएनन् । ट्याब्लेट, ब्राउन सुगरको प्रयोगलेसम्म नसालाई मात चढाउन नसक्ने भईसकेपछि भने प्रदिपको रोजाई सिरिन्ज बनिसकेको थियो । अग्लो उचाई, गलेको शरीर अनि झुस्स च्याम्से अनुहार मानौं की उनको जीवनमा अब कुनै राग छैन् ।

परिवारको एउटा छोरो अध्ययनमा रुचि राख्दैन् । जो लागु औषधको खोजीमा महिनौसम्म विदेशी मुलुक भारतमा गएर बसिदिन्छ । परिवारले समेत आस मारिसकेका व्यक्ति थिए प्रदिप ।

झण्डैं दशक बितिसकेको थियो प्रदिपले लागु औषध प्रयोग गर्न लागेको समयको अर्घेलो पक्कै थिएनन् प्रदिप त्यसैकारण पनि उनको नसिवमा हुनुपर्छ । ०६२ सालतिर पोखरामा रिचमन फेलोसिप नेपालको कार्यालय खुल्यो । जसले लागु औषधमा फसेकाहरुलाई नयाँ जीवन प्रदान गर्ने काम गर्छ । फेलोसिप नेपालको बारेमा प्रदिपले जानकारी पाए पछि उनी स्वयम् त्यस कार्यालयसम्म पुगेको उनको सम्झना छ ।

लामो समय नसाको लतमा फसेको व्यक्ति कुनै जादुमय तवरबाट जीवनमै पुनरावलोकन सम्भव थिएन् । निरन्तर ३ महिनाको साधना पश्चात्त उनी केही पुर्नजीवित भएको महशुस गरे र थप बाँकी ३ महिनाको लागि स्वयम् प्रदिपकै अनुरोधमा पूर्णत ६ महिना परिवार बेगर रहेर लागु औषधको जीवनबाट पुर्नस्थापित हुने अभ्यास गरे ।

फेलोसिप नेपालमा रहँदा उनको जीवनप्रतिको आर्कषण र रोजाईलाई सो संस्थामा कार्यरत अधिकारीहरुको नजरमा परेपछि उनी पनि सोही संस्थाका लागि काम गर्ने भए । काम थियो आफू जस्तै लागु औषधमा परेका व्यक्तिहरुलाई जीवनप्रतिको थप आशा जगाउनु र समाजमा पुर्नस्थापित गर्नु । झण्डैं तीन वर्षसम्म फेलोसिप नेपालका लागि काम गरेका प्रदिपले आफू जस्तै सयौं युवाहरुलाई उत्प्रेरणा जगाउने काम गरेका छन् । लगत्तै युएनडिपिसँगको सहकार्यमा एचआईभी एड्स र लागु औषध सम्बन्धी जनचेतना जगाउने काम गरे ।

आफू पनि समाजमा पुर्नस्थापित भएर अन्य युवालाई पनि प्रभावमा पर्न नदिन र फसिसकेकाहरुलाई पनि समाजमा स्थापित गराउँदै जाँदा उनले जीवनको बाँकी शेषको अझ महत्व बुझें ।

‘कति महत्वपूर्ण समय मैले खेर फालेछु हेर्नुस् त’, उनी भन्छन्, ‘संसारका सारा खुशी एउटा अध्याँरो कोठामा सिमित रहेनछन्, त्यो त नसाको लतमा एउटा अहंकार मात्र रहेछ, म खुला संसारमा बाँच्न जानिसकेको छु ।’ स्थापित व्यवसायी र कुशल सामाजिक अभियन्ता प्रदिपका लागि आफ्नो जीवनकालमा खेर फालेको सो समयको कर्जा अहिले चुकाउन मन छ त्यो पनि बदलामा खुशीले किस्ता किस्तामा ।

हरेक समय नकारात्मक समयले थलिन गाह्रो हुने रहेछ । उनी विगत सम्झदैं भन्छन्, ‘साथी भाईसँगको सामिप्य, परिवारको हेरचाह र समाजप्रतिको उत्तरदायित्व मैले बेलैमा चिन्न सकेछु ।’

समयको कुनै कालखण्ड लाग्ने त्यो अन्धकारमय जीवनबाट बउरिदैं पुर्नस्थापित भएका प्रदिप पारिवारिक बन्धनमा खुसी साथ व्यवसायीक जीवन बिताइ रहेका छन् । उनको इच्छा भनेकै अहिलेका नवयुवा पुस्तालाई ड्रग्ससँगको सम्पर्कबाट टाढा कसरी राख्न सकिन्छ भन्ने नै छ । ड्रग्ससँग कोही पनि व्यक्ति सम्झौता गर्नु नपरे हुन्थ्यो भन्ने उनी सुनाउँछन् ।

गोपालको सगरमाथा चढ्ने जोश !

म एक एचआईभी संक्रमित पूर्व लागु औषध प्रयोगकर्ता अनि पूर्व राष्ट्रिय ए डिभिजन फुटबल प्लेयर । मैले सन् २०१५ मा विश्वभरी रहेका सम्पूर्ण एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै नेपालबाट म सगरमाथा चढ्न गएको थियो ।

तर र्दुभाग्यवशं महाभूकम्पका कारण एभरेष्ट बेसक्याम्प पनि अछुतो रहन सकेन् । जुन घटनामा मैले ५ जना साथी गुमाउन पुगे । त्यसपश्चात्त हाम्रो अभियान रोकिएको थियो । हामीले पुनः सन् २०१९ मा ‘स्टेप अप क्याम्पियन’ अभियानलाई पूर्णता दिन लागिपरेका छौं । पोखरामा रहेका विभिन्न सरकारी गैह्रसरकारी, युवा क्लवको हातेमालोमा क्यापियन अगाडि बढाईरहेका छौं ।

विशेषत अहिले हामीलाई आर्थिक सहयोगको खाँचो छ । हामीसँग दृढ संकल्प छ । आत्मीविश्वासी छौं । हामीलाई थाहा छ हामी सगरमाथाको चुचुरोमा पुग्न सक्षम छौं । तथापी, आर्थिक बिना हाम्रो अभियान सफल भने हुन सक्दैन् । त्यसकारण हाम्रो अभियानमा सहयोग गर्न चाहने महानुभावहरुलाई हामी यसै मिडिया मार्फत पनि हार्दिक अपिल गर्दछौं ।

यस अघिको अभियानमा पनि हामीसँग जोडिएका सम्बद्ध संघ संस्था निकायको सहयोगमा नै हामी अघि बढेका थियौं । एजेन्सी लाई तिरिने शुल्क एवं सगरमाथा चढ्न प्रयोग गरिने उपकरण खरिदको लागि हामीलाई आर्थिक सहयोग अपरिहार्य रहन्छ ।

तपाईहरुलाई लाग्न सक्छ यस अभियान किन त ? सामान्यतया एचआईभी संक्रमित प्रति समाजले हेर्ने दृष्टिकोण छ । सोच्ने विद्यमान धारणाहरु जुन छ । यी सबै पक्षहरुलाई परिवर्तन गर्ने उद्देश्यले नै हामी सगरमाथा चढ्ने अभियानमा छौं ।

हरेक व्यक्ति जन्मिएपछि आफ्नो समाज र राष्ट्रप्रति उसको दायित्व रहन्छ । यस्तै कुराहरुबाट म आफू पनि प्रेरित भएर राष्ट्रलाई चिनाउनका लागि विश्वभरी रहेका संक्रमित व्यक्तिहरुको प्रतिनिधित्व गरेर सगरमाथा चढ्दै छु । र अवश्य पनि मैले यस अभियानलाई सार्थक बनाउन सके भने सर्वप्रथम त मेरो देश नेपालकै नाम अघि आउँछ ।

मैले दिन सक्ने भनेकै राष्ट्रका लागि नाम हो पहिचान हो । जीवनमा मैले धेरै काम त गर्न नसकौला तर एचआईभी संक्रमितहरुप्रति हेर्ने दृष्टिकोण, गरिने व्यवहारहरु जरुर परिवर्तन गर्ने छु ।

अन्य मानिस सरह हामी पनि शारीरिक रुपले स्वस्थ्य छौं हामीसँग पूर्ण आत्मविश्वास छ । म आह्वान गर्छु सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरिदिनुहुनेछ भन्ने विश्वास लिएको छु । ताकी भोलि व्यक्तिको नाममा होइन राष्ट्रको नाममा कीर्तिमान कायम रहनेछ ।

समाजले स्वीकार्नुको विकल्प छैन

शिव न्यौपाने
निर्देशक, हाम्रो परिवार नेपाल
लागु पदार्थ रक्सी उपचार तथा पुर्नस्थापना केन्द्र, बैदाम

लागु औषधमा फसेका वा रक्सीको लतमा लागेका व्यक्तिहरुलाई पुर्नस्पाथना गराउने कार्य हाम्रो परिवार नेपाल संस्थाले गर्दै आएको छ । ०७२ सालमा आमा समुहको सहयोगमा स्थापना भएको उक्त संस्थाले विभिन्न जिल्लाका लागु औषध दुव्र्यसनीमा रहेका व्यक्तिहरुलाई रिहाविलिटेनको काम गर्दछ ।

हाम्रो परिवार नेपालका निर्देशक शिव न्यौपानेका अनुसार हाल उक्त संस्थाले ४६ जनाको उपचार गराईरहेको छ । कास्की, स्याङ्जा, लमजुङ, गोरखा, पाल्पा, पर्वत, मनाङ लगायत अन्य जिल्लाबाट पनि लागु औषध प्रयोगकर्ताहरु सो संस्थामा रहेर उपचार गराइरहेका छन् ।

न्यौपानेका अनुसार लागु औषध नियन्त्रणसँगै पुर्नस्थापना केन्द्रको सञ्चालनले लागु औषधमा फसेका मानिसहरुलाई पुनः परिवार एवं समाजमा स्थापित गराउन महत्वपूर्ण भूमिका खेलिरहेको बताउँछन् । १६ वर्ष उमेर समूह देखि ६५ वर्षसम्मका व्यक्तिहरु हाल उक्त परिवार नेपाल संस्थाको उपचारमा सहभागि छन् ।

रिकभरिङ नेपाल गण्डकी अध्यक्ष समेत रहेका न्यौपानेका अनुसार लागु औषध प्रयोग क्षणिक संयमता विहिन समय हो । यसबाट प्रभावित व्यक्तिहरुलाई हेयको दृष्टिबाट हेरिनु सो नागरिक सामाजिक उत्तरदायित्वबाट विमुख हुनु हो । त्यसकारण जति पनि पुर्नस्थापना केन्द्रबाट परिवार तथा समाजमा फर्किएर जानु भएका व्यक्तिहरुलाई समाजले पनि स्वीकार्नुको विकल्प छैन् ।

उनीहरुलाई समाजले सामाजिक गतिविधिमा परिचालन गरी समाजको प्रति दायित्व बोध गराउन सकिन्छ । हिनताको भावनाले होइन । भातृत्वको सम्बन्ध विकास गरी पुनः समाज स्थापित हुन चाहेका व्यक्तिहरुलाई समाजले आफू सरह व्यवहार गरिदिन जरुरी छ ।

हामीले पुर्नस्थापना केन्द्र सञ्चालनको अनुभवमा यहाँबाट परिवारमा फर्किनु भएका व्यक्तिहरुलाई सहजै विश्वास नगर्ने पाएका छौं । अब, सोच्ने शक्तिलाई केही सकारात्मक र व्यवहारिक बनाई सबै सरह व्यवहार गर्न सकेमा लागु औषध प्रयोगकर्ता पुर्नस्थापित हुन समस्या देखिदैन् ।

 

सचेतना नै मुख्य कुरा हाे

अमृतकुमार भट्टराई
परामर्शदाता,एफएनओ कास्की

यति बेला लागुऔषधको प्रयोग विश्वको साझा समस्या को रूपमा देखिएको छ । र यो डरलाग्दो समस्याबाट नेपाल पनि अछुतो छैन् । नेपालमा पनि लागुऔषध प्रयोगकर्ता को संख्या दिनानु दिन बढ्दै छ ।

१) लागुऔषध के हो ?

कुनै पनि एउटा यस्तो पदार्थ जसलाई प्रयोग गरिसकेपछि मानिस को केन्द्रीय स्नायु प्रणालिमा असर गर्दछ जसको परिणाम स्वरूप मानिस को ब्यवहार र सोच्ने तरिका फरक हुन्छ जसलाई निरन्तर प्रयोग गर्दै जाँदा मानिसको कलेजो फोक्सो एवं शरीरका विभिन्न भागहरूमा असर पु¥याउँदछ । लागुऔषधको प्रयोगले मानिसको मानसिकतामा पनि असर गर्दछ ।

२) दुव्र्यसन के हो ?

यसरी लागुऔषध लाई निरन्तर प्रयोग गर्दै जाँदा शरीरमा एक प्रकारको लागुऔषधको प्रयोगलाई सहन सक्ने क्षमताको विकास हुनपुग्छ । त्यस अवस्थामा मानिस पूर्ण रूपले लागुऔषधमा नै निर्भर रहन पुग्छ अथवा भनौं उसका हरेक दैनिकीहरू लागुऔषधमा नै निर्भर रहन्छन् र यो अवस्था नै दुव्र्यसनको अवस्था हो ।

३) लागुऔषध प्रयोका कारणहरू :

लागु औषध प्रयोग गर्नुका पछाडि धेरै कारणहरू हुन सक्छन् तर अनुसन्धानले देखाएका केही कारणहरूमा

१) उत्सुकता र परिक्षण – मानिसको उमेर अनुसार विभिन्न चिजहरू प्रति उत्सुकता र कौतुहलता जागि रहन्छ यो चिज प्रयोग गर्याे भने कस्तो हुन्छ होला भन्ने सोचको कारण अधिकांश युवाहरू लागुऔषधको दलदलमा फसेको पाईन्छ ।

२) दौतरी दबाब तथा अरू भन्दा फरक देखिन्न खोज्नु –एक अनुसन्धानले देखाए अनुसार नेपाल सबै भन्दा धेरै युवाहरू लागुऔषधमा फस्नुको प्रमुख कारण दौतरी दाबाब देखिन्छ आफ्नो साथि लागुऔषध प्रयोगको लागि गरेको अनुरोध लाई नाई भन्न नसक्नु, लागुऔषध प्रयोग नगर्ने साथिहरू को माझ मैले लागुऔषध प्रयोग गरे भने म उनिहरू भन्दा फरक देखिन्छु भन्ने सोच, अरू प्रयोग गरेको देखासिकि गर्नु आदि

३) पारिवारिक कारण– परिवारका अरू सदस्यहरूले प्रयोग गर्ने, कलहको वातावरण, परिवारबाट एक्लिएर बस्नु पर्ने वातावरण आदि

४) अन्य –बेरोजगारी, तनाब, बिछोड असफलता अदिको कारणबाट पनि मानिस लागुऔषधको शिकार बनिरहेको छन् । लागुऔषध दुव्र्यसनलाई नियन्त्रण गर्नको लागि विभिन्न कार्यक्रमहरू पनि नेपालमा सञ्चालित छन् । नेपाल सरकार गृह मन्त्रालय अन्र्तगत लागुऔषध नियन्त्रणमा कार्यक्रम नेपाल छ । सँगसँगै विभिन्न प्रहरी कार्यालयहरू सामुदायिक सेवा केन्द्रहरू, युवा समुह आमा समुह, विभिन्न गैह्र सरकारी संघसंस्थाहरू नियन्त्रणको अभियानमा लागिरहेका छन् ।

लागुऔषध नियन्त्रणका लागि विभिन्न नीति एवं रणनीतिहरू पनि राज्यले अगाडि सारेको छ यति हुँदाहँुदै पनि लागुऔषधको प्रयोग दिनानुदिन बढिरहेको छ । केन्द्रीय तथ्यांक बिभाग को तथ्यांक अनुसार २०६९ साल सम्म आई पुग्दा ९३००० हजार भन्दा धेरै लागुऔषध प्रयोग कर्ताहरू नेपालमा रहेको देखाएको छ ।

आज ६ बर्षको बिचमा झन् यो तथ्यांक बढेको देखिन्छ अनुसन्धानले देखाए अनुसार लागुऔषध प्रयोगकर्ताको संख्या बार्षिक ११.५५ को दर बढ्ने गरेको छ अब हामी अनुमान लगाउन सक्छौ । आज आएर यो संख्या कति भयो होला । ८ राज्यले लागुऔषध

नियन्त्रणका लागि गरेका कार्यहरू :

१) ओसार पसार न्युनिकरण, लागुऔषधको अवैध उत्पादन, ओसार पसार, बेचबिखन, भण्डारण, सञ्चयलाई निरूत्साहित गर्नको लागि लागुऔषध नियन्त्रण ऐन २०३३ नेपालमा लागु छ यही ऐन अनुसार लागुऔषधको प्रयोग उत्पादन, ओसार पसार बेचबिखन एवं सञ्चय गर्नेलाई कानुनी दायरामा ल्याई कारबाही पनि भै रहेको छ ।

२) माग न्युनिकरण– लागुऔषधको बढ्दो माग लाई घटाउनको लागि प्रयोग कर्तालाई उपचार सम्म पुर्याउने, विद्यालय एवं समाजिकस्तरका लागुऔषध बिरुद्धका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने कार्यहरू पनि भईरहेका छन् ।

३) क्षति न्युनिकरण कार्यक्रम –लागुऔषध औषध प्रयोग कारण हुने विभिन्न सामाजिक अपराध एवं विभिन्न रगतजन्य संक्रमण विभिन्न रोगहरूबाट प्रयोगकर्ता लाई बचाउन सफा सुई वितरण, मेथाडोन उपचार पद्धति, बुर्फाे नर्फिम कार्यक्रम आदि सञ्चालनमा छन् । नेपालमा नियन्त्रणको प्रयास नभएको हैन भएको छ तर यसमा पनि धेरै धेरै चुनौति हरू देखिन्छ ।

लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार लागुऔषधको अवैध ओसार पसार उत्पादन सञ्चय बेचबिखनलाई हातहतियार तस्करी पछिको ठुलो अपराधको रूपमा हेरिन्छ यो अपराध हो । यसलाई कानुन निषेध गरेको छ भन्ने जान्दाजान्दै पनि लागुऔषध बेचबिखन ओसार पसार र उत्पादनमा मानिसहरूको चाख बढेको देखिन्छ ।

किन त भन्दा लागुऔषध ब्यापारमा फाईदा धेरै छ जोखिम सहेर रातारात पैसा कमाउन खोज्नेहरू यस्तो दुव्र्यसनको ब्यापारमा मख्ख छन् । लागुऔषधलाई नियन्त्रण गर्नको लागि नेपाल प्रहरीको एउटा ईकाई नै परिचालित छ । लागुऔषध नियन्त्रण ब्युरो यति हुँदाहुदै पनि नियन्त्रण चुनौति पूर्ण छ किन त भन्दा नयाँ नयाँ नाम नै नसुनेका लागु औषधहरू भित्रनु, तस्करहरूले नयाँ नयाँ तस्सरी तरिकाहरू अपनाउनु, लागुऔषध पहिचान गर्ने प्रविधिको विकास नहुनु आदि छन् ।

समय र आवश्कता अनुसार नीति रणनीतिहरू परिमार्जन हुन नसक्नु राज्य लागुऔषध दुव्र्यसन र दुव्र्यसनिप्रति संवेदनशील हुन नस्कनु वैदेशिक सहयोगमा केही समयको लागि योजना आउँछन् तर उक्त योजनाको समाप्ति पछि के गर्ने ? कुनै योजना नहुनु, राज्य पक्षबाट कुनै पनि उपचार एवं पुनःस्थापन केन्द्रहरू सञ्चालनमा ल्याउन नस्कनु लागुऔषध नियन्त्रण गर्ने सबालमा यस्ता चुनौतिहरू धेरै छन् यस्ता चुनौतिहरूलाई चिर्दे लागुऔषध प्रयोग जस्तो समस्यालाई न्युनिकरण गर्न राज्य लाग्नु पर्छ ।

अनि मात्रै हामी लागुऔषध रहित स्वच्छ समुन्नत समाजको परिकल्पना गर्न सक्छौं ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.