www.tandavnews.com
Fact ~ In search of truth

फिल्ममा गीत चोरीका चर्चित काण्ड

सुशन घिमिरे
पोखरा, ताण्डव न्यूज ।

चोर भन्ने शब्द आफैमा राम्रो होइन । आधुनिक समाजमा चोरहरुको परिचय फराकिलो बन्दै छ । जस मध्ये बौद्धिक वा कला चोरी एक हो । बिशेषगरि संगीत, साहित्य र कलाका क्षेत्रमा यस्तो चोरीका घटना बढ्दो छ ।

नेपाली फिल्म क्षेत्र चोरीका घटना घटिरहने प्रमुख थलो बनेको छ ।

Batas

यो क्षेत्रमा गीत संगीत चोरी हुने क्रम बढ्दो छ । खास गरि पुराना लोक शैलीमा बनेका गीतहरु चोरीको शिकार बनेका छन् । यसरी चोरी गर्नु भनको अरुको सिर्जना माथि बलात्कार गर्नु जस्तै हो ।

पछिल्ला केही बर्षमा नेपाली मौलिक तथा पुराना गीतहरुलाई नयाँ फिल्ममा समावेश गर्दा चोरीको आरोप बढि लाग्दै आएको छ ।

ठूलो बिवादमा मुछियो छक्का पन्जा टिम

स्वर्गीय कान्छा मगर नेपालीको गीत चोरी भयो । छक्का पन्जा २ मा समावेश ए दाजु नसमाउ नाडीमा बोलको गीत चोरी गरिएको भन्दै सर्जकका नातीले मिडियामा बोले ।

छक्का पन्जाको अर्को गीत पनि विवादमा तानियो । तिमी उता किनारामा बोलको गीतमा झ्याम्म झ्याम्म शब्दलाई लिएर सर्जक आरजु बिष्ट सल्यानिले चोरीको आरोप लगाए । यद्यपि उनको तर्क उतिसाह्रो बलियो देखिएन । तर, अर्को नेपाली फिल्म देवर बाबुमा समावेश क्यारु मार्यो मायाले सँग भने ठ्याक्क मिल्छ ।

गत सोमबार छक्का पन्जा ३ को पहिलो गीत पहिलो नम्बरमा सार्वजानिक भयो । डेभिड शंकर र बिन्दु परियारको आवाजमा सार्वजनिक भएको गीतको मेलोडी ठ्याक्कै मिल्न गयो । टिका पुन र दिनेश काफ्लेको आवजमा रहेको औठी चिनो मायाले साटेको बोलको लोक गीत सुन्नुहोस् सहजै पत्ता लगाउन सक्नुहुन्छ ।

यो टिमले निर्माण गरेको भनौं या जोडिएका पछिल्ला फिल्मका कुनै न कुनै गीत चोरीको आरोप खेप्दै आएका छन् ।

स्मरण रहोस् प्रर्दशन कै क्रममा छक्का पन्जा फिल्मलाई एक युवाले हलमा खिचेर युट्युवमा राखेपछि फिल्मका निर्माता दिपकराज गिरी र दिपाश्री निरौलाले प्रतिलिपि अधिकारको उजुरी दिए । प्रहरीमा उजुरी दिँदा डराएर ति युवकले आत्महत्या गरेका थिए ।

कृः निर्माता थुनामा, ११ लाख जरिवाना

‘उकालीमा पछि पछि ओरालीमा अघि अघि’ यो गीत पुरानो फिल्म सम्झनामा समावेश छ । निकै चर्चित गीतको पहिलो लाइन अनमोल केसी अभिनित फिल्म कृ मा समावेश गरिएको थियो । सोही गीत चोरीएको आरोपमा फिल्म सम्झनाका निर्देशक शम्भु प्रधानले उजुरी दिए ।

कृ का निर्माता समेत रहेका भुवन केसीले अभिनय गरेको करिब ३५ बर्ष पुरानो फिल्मको गीत समावेश गरेकै आरोपमा अर्का निर्माता सुवास गिरी थुनामा परे । एक रात थुनामा परेका गिरीले ११ लाख समेत जरिवाना तिरे । यो बिषयले फिल्म क्षेत्रमा ठूलै चर्चा पायो । गिरी र प्रधानका पक्ष अनि विपक्षमा धेरै बोले ।

अपहरण शैलीमा समातिएको भनेर निर्माता गिरीले मानहानीको मुद्धा समेत हाल्ने चेतावनी समेत दिएका थिए । त्यो बिषय यसै सामसुम भएको छ ।

शत्रु गते : सहमतिमा सकियो बिवाद

शत्रु गतेको रुपै मोहनी बोलको गीतलाई कुमार बस्नेतले चोरीको आरोप लगाए । आफ्नो गीत रक्सी खान जाउँ सँग ठ्याक्कै मिलेको भन्दै मिडियामै मुख खोले ।

यो गीतमा टंक बुढाथोकीले संगीत दिएका थिए । छक्का पन्जा ३ को लागि तयार गरिएको उक्त गीत दिपक र दिपाले शत्रुगतेको टिमलाई दिएका थिए ।

शत्रु गतेकै अर्को गीत ओडाउँला पिरतीको बर्को तिमिलाई पनि चोरीको आरोप लाग्यो । कालिप्रसाद बास्कोटाले संगीतमा तयार पारिएको उक्त गीतलाई अर्का संगीतकार तथा गायक राज सागरले चोरीको आरोप लगाए ।

उक्त गीत गितञ्जली नामक एल्बममा समावेश सधैं भरि सताउने चाहना छ तिमिलाई बोलको गीतसँग मिल्दो छ । यि दुवै गीतका एरेन्जर थिए, रिकेश गुरुङ । चोरीको आरोप लागेता पनि ठूलो विवाद र समस्यासँग जुध्नबाट यो फिल्मको टिम जोगियो ।

चोर्न खप्पिस आल्मोडा

पुराना गीतहरुलाई तोडमोड गरेर चोर्न खप्पिस छन् आल्मोडा राना उप्रेती । उनैका कारण निर्माताहरुले दुख पाए । चोरीको आरोप खेपे । छक्का पन्जा होस् या कृ यि सबै फिल्ममा चोरीका आरोप लागेका गीतमा आल्मोडाको संगीत र आवाज छ । बारम्बार चोरी गर्नेको शैलीमा सुधार त आएन, तर करोडौं खर्च गर्ने निर्माताहरु उनको गीत प्रयोग गर्ने सम्बन्धमा सचेत बन्न सकेनन् ।

आल्मोडा नेपाली लोकशैलीका गीत संगीतलाई बढि तोडमोड गर्ने गर्छन् । उनलाई दर्शकहरु माझ परिचित बनायो, पानी पर्यो असिना झर्यो बोलको गीतले । यो गीत उनको आफ्नै सिर्जना पनि थिएन ।

चोरीको आरोपले निर्माताहरुले दुख पाइरहँदा उनी मौन थिए । फिल्मको मात्रै होइन , अन्य गीतहरुलाई पनि शब्द र ट्युनिङ चोर्ने गरेको उदाहरण छन् ।

प्रतिलिपि कानुनी व्यवस्था

नेपाल प्रतिलिपि ऐन २०५९ को दफा २७ मा प्रतिलिपि अधिकार उल्लंघन भएको भेटीएमा १० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना साथै ६ महिना जेल वा दुवै हुनसक्ने व्यवस्था छ ।

यस्तैै दोस्रो पटक प्रतिलिपि अधिकार उल्लंघन भएमा २० हजार देखि दुई लाख जरिवाना अनी एक वर्षसम्म जेल वा दुवै सजायको व्यवस्था हुन सक्ने भनेर उल्लेख गरिएको छ । कानुनी रुपमा व्यवस्था भएतापनि यसको प्रयोग भने उति साह्रो भएको पाइदैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.