www.tandavnews.com
Fact ~ In search of truth

डा केसीलाई स्वास्थ्य संयन्त्रको कमाण्ड सम्हाल्न प्रधानमन्त्रीकाे प्रस्ताव

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न गठन गरिने स्वास्थ्य शिक्षा अनुगमन संयन्त्रको नेतृत्व गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीलाई प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रको सुधारका लागि मागको सीमामा मात्रै अल्झिनु पर्छ भन्ने पक्षमा आफू नभएको बताउँदै प्रधानमन्त्रीले नेतृत्व लिएर काग गर्न आग्रह गरे ।

Batas

आफ्ना माग पूरा गर्न पहलकदमी लिएकामा धन्यवाद दिन भन्दै प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका डा केसीलाई उनले भने, “म प्रधानमन्त्री भएका बेला तपाईं अनशन नै बस्नुपर्ने थिएन । माग पूरा गराउन अरु धेरै विकल्प थिए र छन् ।”

“जनताको स्वास्थ्य सेवासँग गासिएका विषयमा तपाईंसँग सरकारको कुनै विमति थिएन । स्वास्थ्य शिक्षाको क्षेत्रमा सुधार गर्न र यसमा भएका विकृति अन्त्य गर्न एउटा बलियो संयन्त्र बनाउँ,” प्रधानमन्त्री ओलीले केसीलाई भने , “त्यसको कमाण्ड तपाई सम्हाल्नुस्, दुर्गमका जनतामा स्वास्थ्य सेवा पु¥याउन अवरोध गर्ने विरुद्ध डण्डा चलाउने संयन्त्रको नेतृत्व तपाईं नै गर्नुस्, तपाईंको पछाडि बसेर सरकारले सहयोग गर्छ ।”

प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भए पनि आफू त्यस्तो प्रशासनिक जिम्मेवारीमा नरहने र त्यसका लागि कैयौँ योग्य चिकित्सक र प्रशासक रहेको केसीले बताए । “म त्यस्तो संयन्त्रमा बस्दिन, बाहिरै बसेर काम गर्छु, अन्य योग्य व्यक्ति धेरै हुनुहुन्छ”, केसीले भने  ।

प्रधानमन्त्री ओलीले आफ्नो संकल्प देश बनाउने भएको र जनताको स्वास्थ्य तथा शिक्षामाथि आफ्नो संकल्प र प्रतिबद्धता कमजोर नरहेको बताए । प्रधानमन्त्रीले स्वास्थ्य क्षेत्रमा सुधार गर्न केसीसँग भएका सम्झौतामा मात्रै सीमित रहनुपर्छ भन्ने आफूलाई नलागेको र त्यसबारे खुला भएर काम गर्न तयार रहेको बताए ।

“जनतालाई कसरी सुलभ स्वास्थ्य सेवा दिन सकिन्छ, कसरी सबैलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन सकिन्छ भन्ने कुरामा तपाईंसँग भएका सम्झौताको सीमामा मात्रै बस्नुपर्छ भन्ने छैन”, प्रधानमन्त्रीले भने , “सरकार त्योभन्दा फराकिलो भएर जान चाहन्छ ।”

प्रधानमन्त्रीले कुनै निजी मेडिकल कलेजसँग गासेर आफूलाई नहेर्न केसीलाई आग्रह गरे । “तपाईहरुलाई के भ्रम नहोस् भने, फलानो कलेजलाई सम्बन्धन दिनु वा नदिनुसँग मेरो कुनै लिनुदिनु छैन”, प्रधानमन्त्रीले भने , “चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्ने कुरामा म प्रतिबद्ध छु ।” -रासस
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.