
काठमाडौँ ।
भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपालले पाकिस्तानमाथि ४–० को फराकिलो जित हासिल गरेको छ ।
भर्खरै भुटानको थिम्मुमा सम्पन्न खेलमा नेपालले सातौँ मिनेटमै अग्रता लिन सफल भयो । नेपालका लागि अनुष्का शेर्पाले साताै मिनेटमा पहिलो गोल गरिन् । खेलको १३ औँ मिनेटमा सविता रानामगरले दोस्रो गोल गरिन् । सविताले डिबक्स बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो ।
पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालका लागि ५६ औँ मिनेटमा सविताले दोस्रो व्यक्तिगत गोल गर्दै नेपालको अग्रता कायमै गरिन् । त्यस्तै रजनी थोकरले ५९ औँ मिनेटमा अर्को गोल गर्न सफल भइन् ।यो जितसँगै नेपालले समूहचरणमा महत्वपूर्ण ३ अङ्क जोडेको छ ।
अफगानिस्तान र मल्दिभ्सबाहेक सार्कका छ मुलुकले प्रतियोगितामा सहभागिता जनाएका छन् ।
प्रीति राईको कप्तानीमा रहेको नेपाली टोलीमा गोलकिपर सावित्री किसान, पूजा थापा, करिना धिमाल, डिफेन्डर खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामामगर, सलोनी रानामगर, सरिता न्यौपाने, सविना चौधरी र मनमाया परियार छन् । मिडफिल्डरमा सुष्मा तामाङ, रिया बानु, मनिषा विष्ट, सविता रानामगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल र फरवार्डमा रजनी थोकर, निकिता थोकर, चन्द्रा भण्डारी र अनुष्का शेर्पा छन् ।
मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन टोलीमा छन् ।
यसअघि बंगलादेशमा भएको पहिलो संस्करणमा नेपाली टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । त्यतिबेला नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेन । नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तर, भारतसँग १०–० फराकिलो गोलअन्तर र भूटानसँग १–१ गोलको बराबरी खेलेको थियो ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.