www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा चौताराको विनाश

सुनील उलक
पोखरा, ताण्डव न्यूज ।

पोखरा साँच्चै कति वर्ष पुरानो हो वा यहाँको वस्ति विकास कहिलेबाट भएको हो भन्ने कुनै एकिन ऐतिहासिक तथ्य भेटिदैन ।

यहाँका भूगोलविद्हरू तथा इतिहासकारहरू गहिरिएर अध्ययन गरेको भेटिदैन । तर पनि हामी पोखरा नामले नै अनुमान गर्न सक्छौ, यो कुनै पोखरीको कारणले नै बन्न गएको होला भन्ने ।

भूगोलविद् टोनी हेगनले पहिलो पटक पोखराको अध्ययन गरेका थिए । त्यसपछि भूगोलविद् हर्क गुरूङले २०१९ भदौ देखी २०२० को बैशाखसम्म पोखराको विस्तृत अध्ययन गरेका थिए । टोनी हेगन तथा हर्क गुरूङ दुवैको एउटै निश्कर्ष थियो । पोखराको उत्पती अन्नपूर्ण क्षेत्रमा भएको ठूलो भूस्खलन पछि सेती नदिको बहाव रोकिन गई बनेको ताल फुटेपछि आएको बाढीले यस क्षेत्र जलमग्न भएको थियो ।

यो बाढीले पोखरामा थुप्रै ठूला–ठूला ढङ्गाहरु बगेर आएका थिए । यसै मध्यको एक पृथ्वीनारायण कलेजको हाता भित्र देख्न सकिन्छ । यस ढुङ्गाको पिधँमा स्थापना गरिएको भीमकाली पराजुलीहरुको देवी हुन् । पराजुलीहरुले पाएको विर्तामा भीमकालीको स्थापना गरेपछि भीमकाली पाटन नामाकरण भएको हो ।

पछि यहाँ जम्मा भएको पानी विस्तारै बगेर बनेको समथल भूभागमा केही वर्ष पछि घाँस र रुखहरु उम्रन थालेपछि क्रमश वस्ति योग्य हुन थाल्यो ।

२०६७ मा पेरिस डिडरोट युनिभर्सिटीका प्रोफेसर मोनिक फोर्टले अर्को अध्ययन थाले । जसले प्रमाणित गरिदियो, कि पोखरा ठूलो प्राकृतिक विपद् पछि बनेको वस्ति हो । उनको अध्ययनले पोखरा उपत्यकामा ११८५, १३१२ असार ५ तथा १४०२ मा तीन ठूला भूकम्प आएको थियो ।

१३१२ को भूकम्पको कारण सेती नदिको बहाव रोकिन गए पछि बनेको ताल फूटेर आएको बाढीले ल्याएको करिव ९ क्यूविक किलोमिटर लेदो माटो तथा ढुङ्गा सहितको बिशाल पानीको भण्डार यस क्षेत्रमा थुप्रिन गएर यहाँ ४० मीटर सम्मको गहिराइ भएको ठूलो ताल बनेको थियो । कति समयसम्म ताल रहिरहेको ज्ञात हुन नसके पनि सो पानी बिस्तारै बहदै गएपछि हर्क गुरूङका अनुसार भाराभुरे देखी दोभानसम्मको करिव ४८ किलो मिटर लामो भूभाग बनेको थियो ।

साथै यस क्षेत्रको जमिनी धरातलको मापन गर्दा २८०० फिटको अन्तर बनेको थियो । जसले गर्दा पानी सहजै बग्न गएको अनुमान गर्न सक्छौं ।

चौधौं शताब्दीमा लमजुङबाट घलेहरूको पोखरा प्रवेश भएको भनिदा पोखराको नामाकरण नै भएको थिएन । तर यस क्षेत्रमा रहेको पानीको ठूलो ताल सुकिसकेको थियो । कास्की र वरपरका डाँडाकाँडामा भुरेटाकुरे मुखिया तन्त्र सुरू हुँदै बिस्तारै मगरहरूको राज्य शुरू भयो, यसपछि घलेहरूले राज्य गरे त्यसपछि खानहरूले राज्य गरे ।

यिनै खानहरूमा कुलमण्डन खान (शाह)को समयमा वि.सं. १५६२ जेठ ३१ मा लोमाथाङ नजिकै केन्द्र बिन्दु भएर गएको झण्डै ८.६ रेक्टर स्केलको भूकम्पले नेपालको एक तिहाइ जनसंख्याको मृत्यु भएको थियो । यहीँ भूकम्पले यहाँको जमिनको धरातलमा परिवर्तन आयो । यस पछि कुलमण्डन शाहले यस स्थानमा गाई पालनको सुरूवात गरे तर मानव वस्तिको सुरूवात भने हुन सकेन । साथै, गाईपालनको लागि ठूला–ठूला चौर र चौतारा बनाउने पहिलो सुरूवात पनि यही बेला भयो ।

पोखरा उपत्यकामा औलोको प्रकोप बढी भएको हुँदा मानव वस्ति बढ्ने क्रममा पनि गर्मीबाट जोगिन धेरै चौतारा बन्ने क्रम बढ्यो । साथै हिन्दू आख्यानहरूको सहारा लिदैँ वरपिपल सँगै रोपेर चौतारा बनाउने क्रम पनि बढ्यो । मालेपाटन, पस्र्याङ, बैदाम क्षेत्रमा आँपको बोटहरू अत्यधिक रोपिए । सिमलचौरमा सिमलका अत्यधिक सिमलको रूखहरू रोपिए । यसरी विभिन्न रूखहरू रोपिए साथमा चौताराहरू पनि बने । यसरी १५ आंै शताब्दीमा शुरू भएको यो क्रम १९ औं शताब्दीको मध्य सम्म ब्यापक भयो । तर पछि चौतारा बनाउने होइन मास्ने क्रमको सुरूवात भयो ।

पोखरामा चौतारा मास्ने क्रमको सुरुवात पोखरामा स्थापित सलाई फ्याक्ट्रीबाट भएको थियो । वरपिपलका चौतारा काटिएनन् तर सिमलका रूखहरू निकै काटिए त्यसबेला । सिमलचौरका सिमल पुरै काटिए । बरपिपलका चौतारा पञ्चायतकालबाट काटिन थालेको हामी पाउछौ । पोखरामा कति चौताराहरू थिए भन्ने एकिन तथ्य भेटिदैन तर नेपालमा सबैभन्दा बढी चौताराहरू पोखरामा थिए भन्ने स्पष्ट प्रमाणहरू भेटिन्छ । पोखराको प्रमुख चौताराहरुमा लामा चौतरा, भुसा चौतरा, छातेको चौतारा, यस्तै चौतारा सम्बन्धी जगन्नाथ अधिकारीजीको रिसर्चमा केही नौला तथ्यहरू हामी पाउन सक्छौ ।

वि.सं. २०३४ सम्म पोखरामा ६३२ चौताराहरू थिए । २०५७ सम्म आइपुग्दा केवल २७८ चौताराहरू बचे । मात्र २३ वर्षमा ३५४ चौतारा मासिए । यसरी चौतारा मास्नेमा सबैभन्दा अगाडी वडा नं. ९ पर्दछ । जहा ५५ वटा चौतारा थिए । २०३४ मा केवल ९ वटा चौतारा बचेको थियो । आज २०७५ आइपुग्दा शायद ३ वटा चौतारा मात्र बाँकी छ । सबै वडामा लापरवाह थिएन १७ नं. वडामा १७ मा १७ नै बचेका थिए ।

अझैं पनि धेरै चौताराहरु यो वडामा पाउन सक्छौ । यसरी पञ्चायत कालमा निर्दयी बनेको सरकार गणतन्त्र पछि फेरी निर्दयी बन्न थालेको छ । अबको केही वर्षमा बजार क्षेत्रका सम्पूर्ण चौताराहरु मासिने छन् । राजनीति गर्ने नेता, उनका कार्यकर्ता तथा चाप्लुसी गर्दै पछि पछि हिड्ने चम्चाहरू देशको लागी कहिल्यै निस्वार्थ भएर लागेनन् । स्वार्थमा चुर्लुम्म डुबेर राज्यदोहनको अभिलाषा सधै बोकिरहे ।

सायद यसैले नै पोखरामा रहेका चौर, पोखरीको साथ–साथ चौताराहरु पनि समाप्त हुँदै गएको हामीले भागेका छौं ।

लेखकबाट थप

साँगुमुखका घरहरू

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop