www.tandavnews.com
Fact ~ In search of truth

गाई भैसीँ देखि कुखुराका चल्लासम्म लगाइएको कर फिर्ता गर्यो बाग्लुङ नगरपालिकाले

बागलुङ ।

बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर कटौती गरिएको हो ।

गत आवमा दैनिक उपभोग्य सामान थोकमा रु सात हजार कर लिइएकामा चालु आवमा रु. पाँच हजार ५०० तोकिएको छ । त्यस्तै अफसेट प्रेसको रु १० हजारबाट रु सात हजार, बस, ट्रक बिक्रीमा रु १२ हजारबाट १० हजार कायम गरिएको छ भने गाईभैसी फार्ममा रु एक हजार ५०० लिने गरिएकामा अहिले रु एक हजार बनाइएको छ ।

कपडा तथा छाला जुत्ता मर्मत, सिलाइ केन्द्र, स्वदेशी शैलुन, पोल्टी फार्म, कपास ‘रिसाइक्लिङ’ मा पनि कर घटाइएकोे छ । जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कर घटाइएको नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्काले बताए।

नगरसभाको निर्णयअनुसार गत आवमा तोकिएको करलाई समायोजन गरिएको उनको भनाइ थियो । नगरपालिकाले कतिपय व्यवसायमा भने चालु आवमा कर वृद्धि गरेको छ । तेह्र प्रकारका व्यवसायमा गत वर्षको तुलनामा यो वर्ष कर बढाइएको हो । सबैखाले उत्पादनका वितरक, डिलर, फेसन, ज्वेलर्स, रङ्गरोगन, सीसा, प्लाइ, फेन्सी, कपडा तथा छाला जुत्ता, ग्रील उद्योग, मदिरा फलफूल तथा तरकारी, पशुपंक्षी दाना पसल लगायतमा पनि कर बढेको छ ।

स्थानीय तहले करको बोझ बढेको गुनासो बढिरहेको बेला उक्त नगरपालिकाले भने केही राहत दिलाउने काम गरेको छ । सर्वसाधारणको मनोभावना बुझेर सेवा तथा सिफारिशलाई निःशुल्क बनाइएको उपप्रमुख खड्काले बताए । “बाहिर सुनिएजस्तो गरी करको बोझ थपिएको छैन,” उनले भन्नुभयो, “कर प्रणालीलाई प्रगतिशील बनाउनतिर लाग्छौँ ।”

व्यवसायीसँग समन्वय गरेर नै करलाई व्यवस्थित गरिने जानकारी दिँदै नगर प्रमुख जनकराज पौडेलले नगरपालिकाले उठाउने करको केही हिस्सा व्यवसायीकै हितमा प्रयोग भइरहेको उल्लेख गरे। उनले भने, “कर वृद्धिमा भन्दा दायरा बढाउनेतिर हाम्रो जोड छ ।” बागलुङ उद्योग वाणिज्य सङ्घले भने नगरपालिकाले अनावश्यक रूपमा कर बढाएको आरोप लगाएको छ ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.