www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सञ्जालमा ब्ल्याकआउट

केही अघि सहकर्मीको छोरा जन्मियो । शुभकामना दिन फोन गरेँ, अनि सोही क्रममा परिवारको प्रतिक्रिया के छ त ? भनी सोधेँ ।

उनले रमाइलो उत्तर दिइन् – ‘अनुहार अँध्यारो पार्नु भएको छ सबैले नातिनी चाहिएको नाती भयो ।’ केही घरहरूको सत्य कथा । मेरी सहकर्मीले रमाइलो अपवाद सुनाइन्।

धेरै परिवारमा छोरा चाहिएको हुन्छ छोरी जन्मिन्छन्, केही घरहरुलाई छोरी चाहिएको हुन्छ छोरा जन्मिन्छन् । आवश्यकता एकातिर र वास्तविकता अर्कातिर भइदिन्छ । नातिनीको अपेक्षामा नाती जन्मिए पनि ती सहकर्मीले नाति जन्माएकै कारण परिवारका सदस्यबाट भने पक्कै अपहेलित हुनुपर्ने छैन् ।

Batas

अझ् खुसी त उनले छोरा जन्माएकोमा यस कारण लाग्छ कि यी दैनिक जस्ता दुःखद खबरले उनलाई भविष्यमा पिरोल्ने छैन । केही कामका लागि घरबाट निस्किएकी उनकी छोरी घर नर्फकिँदा सम्म उनको मन अत्यासिने छैन् ।

पुरुष सहकर्मीले बेलाबेला म छोरीको बुवा हुँ भोलि मेरी छोरीले स्वतन्त्रतापूर्वक हिँड्न सकोस्, रमाउन सकोस् भनि विभिन्न आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पोष्ट गर्छन् त्यसले भावुक बनाउँछ ।

मैले यो सामग्री लेख्दै गर्दा धेरैको फेसबुक प्रोफाइल अँध्यारो बनाइएको थियो । कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी बालिकाका परिवारलाई न्याय गर्नका लागि राज्यका निकायलाई दबाब दिन अहिले सामाजिक सञ्जालमा ‘जस्टिस फर निर्मला ह्रयास्ट्याग’ र फेसबुक प्र्रोफाईल ‘ब्ल्याकआउट’ चलिरहेको छ ।

सञ्जालको विरोधमा टाइमलाइनमा काला फोटा देखिन्छन् । शान्तिपूर्ण रूपमा फेसबुक तथा ट्विटरमा गरिएको आन्दोलन हो ब्ल्याकआउट । बलिदान चलचित्रको गीतमा भनिएझैँ साथमा केही नहुनेहरु आवाज लिएर उठेको समय हो यो । घटनास्थल नजिकै हुनेहरु भौतिक रुपमा र टाढा हुनेहरु सामाजिक सञ्जाल मार्फत आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

निर्मलाकै न्यायका लागि सडकमा भइरहेको आन्दोलनमा भने रगतका राता टाटा देखिन्छन् । सोही क्रममा एक बालकको ज्यान गयो । घटनाको एक महिना आसपासमा पनि राज्यले पीडित पक्षलाई न्यायको अनुभूति गराउन सकेको छैन । घटनाको लामो समयपछि मनोसामाजिक अपाङ्गता भएका व्यक्तिलाई हत्याराको रूपमा उभ्याएर सरकारले वास्तविक अपराधीलाई लुकाएको पीडित परिवार र स्थानीयको आरोप छ ।

कसैले आन्दोलनमा घुसपैठ भएको अथवा सम्भावित घटना रोक्न गोली चलाएको उद्घोष गरेपछि निर्मला घटनामा पीडित पक्षको आक्रोश र पीडालाई समयमै सम्बोधन गरिएको भए न आरोप लगाए झैँ आन्दोलनमा घुसपैठ हुन्थ्यो न त राज्यले गोली खर्चिनु पथ्र्यो । एक जना व्यक्तिको हत्याको विरोधमा भएको भनि विरोधमा उठेका जनतालाई राज्यले हत्या गर्नु कुनै पनि हालतमा क्षम्य हुँदैन । जनताको अभिभावक हुँदाहुँदै न्याय खोसेर लिनुपर्छ भन्ने नजिर जनतामाझ नबसाओस् राज्यले ।

अहिले दिनहुँजसो बलात्कारका घटना समाचारमा छाउँछन् । पछिल्लो समय किशोर अवस्थाका बालकबाट भएका बलात्कारका घटना पनि बढ्दो छ । १३/१४ वर्षका बालक दोषी घोषित भई सुधारगृहमा जान्छन् । किशोर अवस्थाका व्यक्तिबाट भएका अधिकांश घटनामा शिक्षा र कानुनी ज्ञानको अभाव, अभिभावकको निगरानी कम तथा सामाजिक सञ्जाल प्रमुख कारण देखिन्छन् ।

नवलपरासी पूर्वमा आठ महिने बालिका बलात्कृत भएको घटना, पर्वतमा ९० वर्षीया वृद्धा बलात्कृत भएको घटना हाम्रा समाजका काला पक्षहरु हुन् । देशमा अहिले दैनिकजसो दुई ओटा बलात्कारका घटना दर्ता हुने हामीलाई नै बस् दिन नबिग्रिएर बचेको भनि सोच्न बाध्य बनाउँछ । संसारकै उत्कृष्ट कानुन बनाएको उद्घोष ग¥यौँ तर कार्यान्वयनको पक्ष सधै फितलो नै रह्यो ।

ऐन कानुन कार्यान्वयन गर्ने पक्ष बलियो हुनाको साथै समाजमा कानुन तथा तोकिएका सजायको प्रचार गरिनु आवश्यक छ । यो कसुर गरे बापत् यो सजाय भनि सार्वजनिक स्थलमा होडिङबोर्ड राख्न, स्थानीय सञ्चार माध्यममा सूचना प्रसार तथा विद्यालयमा पनि पढाउन जरुरी छ । जुनसुकै पद र वर्गको व्यक्ति कसुरवाल किन नहोस् ऊ उम्किन नपाओस् ।

राज्यले अभिभावक भएर पीडित जनतालाई न्याय दिलाओस् । तब न सडक तातिन्छन् न सदन नै । छोरीको सुरक्षाका लागि बावुआमा डराउनुपर्दैन । न त दाजुभाइ नै अंग रक्षकका रुपमा चाहिन्छ । न त सामाजिक सञ्जालमा ब्ल्याकआउट अभियान चल्छन् ।

लेखकबाट थपः

कुरा करको

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.