www.tandavnews.com
Fact ~ In search of truth

तीज गीतमा रहरको लगानी

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज

डिजिटल स्टार पोखराका सञ्चालक तारानाथ आचार्य यतिखेर अल्लि फुर्सदमा छन् । रातदिन नभनी तीज गीत रेकर्ड, एरेन्जमा व्यस्त आचार्यले यो पटक ५३ वटा गीतको एरेन्ज गरे भने उनको स्टुडियोबाट ६० तीज गीत रेकर्ड भए ।

‘अब चाही तीजको माचो सकियो । अल्ली फुर्सद मिलेको छ । अब दसैं र अन्य गीतको पालो सुरु हुँदैछ, उनी भन्दै थिए । उनको मात्र होइन पोखराकै अर्को स्टुडियो नमस्ते ब्रोडकास्टिङ रेकर्डिङलाई पनि तीजले निकै तीजले व्यस्त बनायो ।
सञ्चालक छवि सुवेदीका अनुसार स्टुडियोबाट २१ वटा तीज गीत रेकर्ड भए । पोखरामा यी बाहेक पुन रेकर्डिङ स्टुडियो, पल्स रेकर्डिङ स्टुडियो, सिद्धार्थ रेकर्डिङ स्टुडियो पनि छन् । यी स्टुडियोमा पनि केही प्रतिशत मात्रामा तीज गीत रेकर्ड भएको हुने गर्छ ।

एउटा गीतको अडियोमात्र तयार गर्नको लागि २० देखि २२ हजारसम्म खर्च हुने गर्छ । गीत रेकर्डिङको आंकलनलाई नियाल्दा पोखराबाटै तीज गीत रेकर्डको लागि मात्र भनेर साढे १६ लाख रुपैयाँ लगानी भएको छ ।
यो त भयो सुन्नमात्र मिल्ने गीतको तयारी । अब भिडियोतर्फ जाऔं । सामान्य रुपमा भिडियो बनाउँछु भनेपनि ५० हजार त पुग्छनै । तबमात्र पूर्णरुपमा गीत तयार हुन्छ । प्रचारको लागि टेलिभिजनमा प्रोमो बजाउनै परो । एउटा गीतमा एक डेढ लाख खर्च गरेपछि बल्ल गीत हेर्न र सुन्न लायक बन्छ ।

तीज गीतमा भइरहेको यो लगानी वर्षेनी थपिदै गएको छ । पूराना कलाकारले निरन्तरता दिनु र नयाँ कलाकार तीज गीत प्रति बढी झुकाव बढ्दा लगानीको कुनै प्रभाव नै नगरी खर्च गर्नेको जमात बाक्लो देखिन्छ ।

लगानी अनुसारको रकम उठ्छ त ? यसको माध्यम के त ? प्राय सबै कलाकारको एउटै स्वरको उत्तर आउँछ, ‘स्टेज कार्यक्रम ।’ डिजिटल स्टारका सञ्चालक तारानाथ आचार्य भन्छन्, ‘युट्युब राखेको भिडियो भ्यूर्अस राम्रो गयो भने मात्र पैसा आउने एउटा आधार हो । तर सबै गीतको भ्यूर्अस जान्छ भन्न सकिदैन र कम्पनीले सबै गीतको रोयल्टी नदिएको पनि हुन सक्छ ।’ उनले डिजिटल स्टारको युट्युब पनि सञ्चालन गरेका छन् ।

यो वर्ष २० वटा तीज गीतलाई आफ्नै युट्युबमा सार्वजानिक गरेका आचार्य लगानी गरे अनुसारको पैसा नउठेपनि च्यानल मजबुत हुने बताउँछन् । उनी आफ्नो युट्युब च्यानलबाट अपलोड भएका गीत भ्यूर्असको आधारमा कलाकारलाई रोयल्टी समेत दिने गरेको दाबी गर्छन् ।

‘लगानी उठ्ला नउठ्ला तर तीजबाट आत्मसन्तुष्टी हुन्छ । मैले पनि यो तीजमा लगानी गरेको छुँ । चेली–२ नामक गीतमा एकलाख रुपैयाँ खर्च भएको छ,’ उनी भन्छन्, ‘लगानीको प्रवाह नगरी गीतलाई निरन्तरता र मौलिक गीतको खोजी गर्नुपर्छ जस्तो लाग्छ ।’

प्राय मेलामहोत्सव तीजको छेकोमा बढी हुने गर्छन् । तीज आउन एक महिनाअघिदेखि कार्यक्रमको माचो चल्ने गर्छ । मेलामहोत्सवको आसले पनि नवदेखि राष्ट्रिय कलाकार तीज गीतको तयारीमा हुन्छन् । गीतमा केहीले भने रहरले लगानी गरेका छन् ।

गायक रामजी पौडेलले यो पटक ७ वटा तीजका गीतमा आवाज र सिर्जना गरे । उनलाई यो वर्षको तीज गीतमा भने लगानी गर्नु परेन ।

अघिल्ला वर्षको तीजमा केही प्रतिशत लगानी गरेपनि यो वर्ष लगानी नगरेको पौडेल बताउँछन् । ‘अहिलेको तीजमा आर्थिक लगानी नगरेपनि बैचारिक लगानी पक्कै गरेको छु । धेरै गीतमा शब्द, लय सिर्जना गरेको छु,’ उनी भन्छन्, ‘गीत भन्ने बित्तिकै लगानीको कुरा आउनेनै भयो । अहिलेको समयमा गीतमा लगानी गरेर नाफा कमाउनु भन्दा पनि कलाकारले आफ्नो अस्तित्वको लागि गर्नुपरेको जस्तो लाग्छ ।’

गीतबाट नाफा नभएपनि सबैले गीत गर्दा खल्लो महसुस हुने भएकोले गीत गर्नुपरेको उनको तर्क छ । ‘दर्शक श्रोताले नै तीजको गीत खै त भन्नुहुन्छ । अरुबेला भन्दा तीजका गीत बढी चर्चा हुनेहुँदा पनि कलाकारहरु यसमा लगानी गर्न कस्सिएको पाइन्छ,’ उनी भन्छन्, ‘तीजमा मात्र होइन अरुबेलाका गीतमा पनि लगानी अहिले बालुवामा पानी खन्याएजस्तै हो ।’

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अञ्चल कार्यसमिति धौलागिरीका अध्यक्ष राजेन्द्र सापकोटापनि तीज गीतलाई निरन्तरता दिँदै आएका छन् । यो वर्षको तीज गीतमा ३ वटामा स्वर दिएका सापकोटा एउटा गीतमा लगानी समेत गरेका छन् ।

एक लाख २० हजार लगानी गरेका सापकोटा तीजमा हुने मेलामहोत्सवबाटै पैसा उठ्ने आधार देख्छन् । भन्छन्, ‘लगानी उठ्ने अरु आधार त केही छैन् । त्यही हो मेला महोत्सव नै अहिलेको मुख्य टार्गेट भन्नुपर्छ ।’ मौलिकतालाई टेकेर तीज गीतमा निरन्तरता दिँदै आएको उनको भनाई छ । ‘कतिपयले सोखको रुपमा पनि गीत निकाल्ने गर्नुहुन्छ । गीत परम्परा धान्नको लागि पनि निकाल्ने गरिन्छ ।’

गायिका तुलसी क्षेत्रीले पनि यो वर्षको तीज गीतमा एक लाख खर्च गरिन् । ‘माइतैमा दिल बस्यो’ नामक तीज गीतमा उनीसँगै पार्वती जिसीको पनि स्वर रहेको छ । उनले पनि लगानीको उठाउने माध्यम स्टेज नै देखेकी छन् । ‘भिडियोले आम्दानी हुँदैन । गीत, संगीत नशा हो । तीज आउन लाग्यो भनेपछि भिडियो बनाउन मन लागिहाल्छ,’ क्षेत्री भन्छिन्, ‘भिडियो आत्मसन्तुष्टिको लागि मात्र बनाउने हो ।’

गायक तथा सञ्चारकर्मी कृष्ण सुवेदी भन्छन्, ‘जति कलाकार स्टेजमा व्यस्त हुन्छन् उनीहरुलाई गीतसंगीतबाट जिविकोपार्जन समेत भएको छ भने कतिपय सोख र रहरले पनि लगानी गरेको पाइन्छ ।’ अडियो र भिडियो बिक्री ठप्प भएपछि कलाकारले राहत कम हुने गरेको उनको भनाइ छ । ‘युट्युबमा राख्दैमा सबैले हेर्ने होइनन् । गाउँका स्रोताको लागि त टेलिभिजनमा आउने भिडियो नै हो,’ उनी भन्छन्, ‘ भिडियो बनाउँदा बाहेक टेलिभिजनमा गीतको विज्ञापन गर्नुपर्दा थप खर्च हुने गर्छ ।’

एकैदिनमा सकिने गरी सामान्यस्तरको म्युजिक भिडियो बनाउन पनि एकलाख लाग्ने उनको अनुभव छ । केही वर्ष अघिसम्म सिआरबिटी र पिआरबिटीबाट केही रकम उठ्ने गरे पनि अचेल त्यसबाट पनि खासै पैसा नउठ्ने उनले सुनाए ।

युट्युबबाट पैसा आउँछ ?

जति सजिलोसँग युट्युबबाट पैसा आउँछ भनिन्छ उत्तिकै कमाउन गाह्रो छ । अहिलेको समयमा श्रोता दर्शकको मुखमा झुन्डिने खालका गीत मात्र युट्युबमा चल्ने गरेको पाइन्छ ।

युट्युबबाट कमाइ हुन्छ भनेर गीतको भिडियो बनाउनु बेकार पनि ठान्छन कतिपय । युट्युब प्रयोगकर्ताका अनुसार नेपालमा हेरिएको युट्युबबाट पैसा धेरै आउँदैन गुगलसँग जोडिएको विदेशमा युट्युब हेरिए मात्र अपलोडको पैसा आउँछ ।
नेपालका उत्पादनको विज्ञापन गुगलमा सेयर हुने अवस्था नआएसम्म नेपालबाट कमाइ नहुने उनीहरुको तर्क छ । युट्युबमा भिडियो अपलोड गर्ने पोखराका डिजिटल स्टारका सञ्चालक तारानाथ आचार्य दर्शकले गीत पूरै हेर्दिए अलिकति पैसा आउँछ कि भन्ने आस रहेको बताउँछन् ।

उनका अनुसार विदेशी दर्शकले बढी हेर्दिए मात्र पैसा आउने माध्यम हुन्छ । विशेषत भारत, अमेरिका, अरब देशका श्रोताले युट्युबमा राखेको भिडियो बढी हेरिनुपर्ने उनी बताउँछन् ।

तीज गीतमा मौलिकता: 

वर्ष दिनको तीजमा बाबा लिन आउनुभो,
हाम्री बज्यै पापीनीले शिरफूल लुकाइदिइन,
शिरफूल पनि लाउँदिन, घर पनि आउँदिन
दैलो पोते गरे बज्यै तिरै शिरफूलले…’ ।।

यो गीत गायिका प्राज्ञ हरिदेवी कोइरालाले गाएको गीत हो । त्यो समय गीतमा पीडा, वेदना, गरगरगहनाका कुरा गीतमार्फत पोखिन्थ्यो । वर्षभरीका पीडा, वेदना गीतमा उनेर गाइएका गीतहरु अझै पनि सुन्दा तीज आउको छनक हुन्छ ।

Lama collectio News Middle

तीजका गीत सुनेर कहाँ के घटना घट्यो, के भयो भन्न बारे थाहा पाइने, वर्ष भरीका घटना गीतले तत्कालिन समयकालका वर्णन गरिएको पाइन्थ्यो । तर, पछिल्लो केही वर्षयता तीज गीतको नाममा रत्यौली भित्रियो भन्ने विषयमा आलोचना हुने गरेको छ । समयसँगै तीज गीतमा परिवर्तन आएको पाइन्छ ।

अहिलेको तीजमा मौलिकपन हराएको अग्रज कलाकारहरु बताउँछन् । छाडा, उत्ताउला खालका गीतले परिवारसँगै बसेर सुन्न र हेर्न नमिल्ने, तीजमा माया प्रेमको चित्रण गरिएको आरोप रहँदै आएको छ । सामाजिक संवेदना तीजको गीतमा पोखिनुपर्छ ।

सिर्जनात्मक, रचनात्मक गरेर तीजलाई तीज जस्तै मनाऔं र बाहिरी देखावटी र गरगहना, प्रदर्शन गर्ने थलोको रुपमा तीजलाई हेर्न नहुने केही कलाकारहरु बताउँछन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बिजी भन्छन्, ‘बीचमा तीज गीत धर्माराएको थियो, तीज रत्यौली भएरै प्रस्तुत भएको थियो । तीज गीतमा केटामान्छेको सहभागीता देखिने बित्तिकै विग्रदै गयो कि ।

स्टुडियोमा पुरुषले गाइदिए, सुन्नलाई नाच्नलाई मजा हुन भयो । तर पुरुषको सहभागीता त्यति राम्रो होइन गाउनेमा । तर के छ भने बाउ र छोरी, चेलीबीचको संवाद नराम्रो भने होइन तर अरुमा जानुभएन, माया प्रेमका कुरा नआउन परो ।’

यी कुरा केही हदसम्म हटेको उनको आंकलन छ । दोहोरी गीत प्रतिष्ठानले पनि स्टुडियोमा खबरदारी गरेको हुँदा गतवर्षको तुलनामा यो पटक तीज आफ्नौ लयमा फर्केर लागको बिजी बताउँछन् । ‘चेली माइतीबीचको संवाद नै तीजको शोभा हो । यो पर्व गीत हो । यसले कुनैन कुनै ऐतिहासिक, धार्मिक महत्वसँग जोडिएको हुन्छ,’ उनले भन्छन्, ‘कलाको नाममा सुनाउने भन्दा पनि देखाउने बढेको थियो । अहिलेबाट मौलिक गीत खोजको भान भएको छ । सुधार भएको अनुभव भएको छ ।’

लोप हुँदै तीजे गीतहरू

तुलसी प्रवास अनुसन्धानकर्ता, लोक संगीत

समाजका हरेक जातिले आफ्नो जीवन संघर्षलाई हलुको पारी पीर व्यथा र वेदनाका भारीहरू बिसाई एकैछिन भए पनि रमाउन विभिन्न विश्रान्तिका क्षणहरूको व्यवस्था गरेको हुन्छ , जसलाई हामी पर्व भन्दछौँ ।

हामी नेपाली वर्षभरिमा के —कति पर्व मनाउँछौं त्यसको लेखाजोखा छैन । यहाँ प्रत्येक जाति र सम्प्रदायले आ—आफ्नै प्रकारका पर्वहरू मनाउने गर्दछन् । यस्ता पर्वमा गीतहरू गाउने नाच्ने परम्परा पुस्ताैँदेखि चल्दै आएको छ । तीजे गीत नेपाली लोकगीतको क्रृतुपर्व गीतअन्तर्गत पर्ने एउटा महत्वपूर्ण गीत हो ।

तीजेगीत प्रचलनको इतिहास हेर्ने हो भने यी गीतहरु नारी वेदनालाई अभिव्यक्त गर्ने गीतको रुपमा प्रचलनमा आएका हुन् ।

विवाह भएर टाढा–टाढा गएका छोरीचेलीहरु माइतीमा जम्मा भएर आ–आफ्ना गुम्फनहरु पोख्ने र मन हलुको पार्ने गीतहरुको रुपमा विकास भएका हुन् तीजे गीतहरु ।

पहिलेका यस्ता तीजे गीतमा नारी संवेदनाका आवाजहरु गुञ्जिन्थे । ती संवेदनाहरु विभिन्न परिवेशले जन्माएका हुन्थे ।

परिवारिक असमानता, लैङ्गिक असमानता, बाध्यात्मक अवस्था आदिले नारी संवेदनामा गहिरो चोट पु¥याएपछि ती तीजेगीत बनेर पोखिन्थे र सबैलाई सोचनीय बनाउँथे । जस्तै :

भित्र बाहिर गरे पनि रुचाउँदिनन् सासूले
रुँदा रुँदै पछ्यौरी यो भिज्यो अाँसुले ।
………………………………………
यो घरको भाँडाकुँडा होटेलकै छ चाल
घाँस काट्न वन जाँदा कोरें कपाल ।।

विवाह भएर पराई घर गएकी चेलीलाई माइती घर अत्यन्तै प्यारो हुन्छ । ‘माइती गाउँको कुकुर पनि प्यारो’ भन्ने नेपाली उखान नै छ । दाजुभाइ भएको माइती घर चेलीलाई सबैभन्दा प्यारो लाग्ने गर्दछ । त्यसको अभिव्यक्ति तीजमा गीत मार्फत यसरी गर्ने गर्दथे पहिले :

वनैमा राम्रो वनका चराचरीले, घरैमा राम्रै छोराछोरीले
गोठौमा राम्रो माली भन्ने गाईले, माइतैमा राम्रो दाजुभाइले ।

यस्ता गम्भीर भाव बोकेका तीजे गीतहरु अहिले लोप हुँदैछन् । वर्तमान समाजको आधुनिकीकरण, पश्चिमीकरण जस्ता प्रभावले यो सुन्दर नेपाली मौलिकता हराउँदै गएको छ ।

यसरी पहिलेका तीजे गीतमा नारी संवेदनाका आवाजहरु गुञ्जने गर्दथे । त्यस्ता गीतमा नेपाली समाजको वास्तविक चित्र प्रतिबिम्बित हुने गथ्र्यो । तीज आउनासाथ दाजुभाइले जस्तोसुकै महत्वपूर्ण कामलाई छोडेर भए पनि दिदी बहिनी लिन जानै पथ्र्यो । दिदी बहिनीलाई ल्याएर घरको मिठोमसिनो जे छ त्यसलाई सबैले बाँडिचुँडी दर भनेर खाने चलन थियो ।

दर भन्नाले माइतीमा आमा भए आमाले नत्र भाउजूले वा दाजुभाइले दिदी बहिनीलाई पकाएर खुवाउने परिकारको नाम हो । अहिले यसमा पनि धेरै विकृति देखा परेका छन् । विशेष गरी सहरिया समाजमा यस्तो विकृति धेरै बढेको छ । तीजका नाममा तीज आउनु अगाडि देखि नै होटल, पार्टी प्यालेस आदिमा गएर ‘दर’ खाने भनेर रमाइलो गर्नाले तीजको महत्व घटेर गएको छ । परिवार र माइती प्रतिको आत्मियता पनि यसले कमजोर बनाउँदै गएको छ ।

तीजे गीत नारीप्रधान गीत हुन् । यस्ता गीत पुरुषले गाउनु भनेको हाम्रो संस्कृति विपरीत हो । यसलाई मनोरञ्जनका रुपमा मात्र हेरिनु हुन्न । व्यवसायीकरणका नाममा मौलिक व्यवहार र मौलिक अनुशासन नै धरापमा पार्ने गरी प्रस्तुत हुनु भनेको अनुशासनहीनता हो ।

पुरुषले गाएका गीत पनि त राम्रै छन् नि भन्ने तर्क केही मानिसहरुले गर्ने गर्दछन् । राम्रो हुनु र मौलिकता गुम्नु फरक कुरा हुन् । राम्रो भइन्छ भनेर एउटा पुरुष महिला नै बन्न खोजेमा के होला ? जति सुन्दर महिलाले गाउँदा र नाच्दा देखिन्छ एउटा पुरुष जिन्सको पाइन्ट लगाएर, कानमा मुन्द्रा र चुल्ठो बाटेर उफ्रदै मञ्चमा तीजका गीत भनेर नाच्दा त्यत्ति नै कुरुप देखिन्छ । जनै पूर्णिमा पुरुषको चाड, तीज महिलाका चाड भन्ने बूढापाकाको भनाइ नै रहेको छ । त्यसैले नेपाली गीत संगीत र संस्कृतिको मौलिकता बचाउने हो भने तीजे गीत नारी आवाजमै हुनपर्छ ।

नारीकै सुख दुःखका कथाहरु समेटिएकै हुनपर्छ । प्रेमी प्रेमिकाका मायाप्रेमका गीत गाउन त अरु अवसर छँदै छन् नि । किन तीज नै कुर्न पर्या हो हाम्रा कलाकारहरुलाई ? तीज गीतमा पुरुषहरुले महिला कलाकारहरुलाई गीत गाउन सहयोग गर्ने गीत लेखिदिने आदि गर्न हुन्छ तर आफै गाउने उफ्रने गर्नु शोभायमान हुँदैन । अहिलेका जुन गीत तीजका गीत भनेर बजारमा आएका छन् ती अधिकांश गीत तीजेगीत नभएर तीजका अवसरमा गाइएका प्रेम गीत हुन् ।

यी उच्छृङ्खलतालाई छोडेर अहिलेका तीजगीतमा पनि धेरै सकारात्मक अवशेषहरु जीवितै छन् । आधुनिक प्रविधिको सही उपयोग गरेर पुराना भाका र गीतहरुलाई जीवितै राख्ने गायक गायिका पनि केही मात्रामा सक्रिय छन् । यसले के स्पष्ट हुन्छ भने हाम्रो संस्कृतिमा अँध्यारा पाटा मात्रै छैनन् उज्याला पाटा पनि छन् । मात्र आवश्यकता उज्यालोलाई बचाइ राख्नुको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
Hotpop