www.tandavnews.com
Fact ~ In search of truth

भुइँमै पठनपाठन

म्याग्दी । 

यहाँको एक विद्यालयमा भुइँमै बसेर पठनपाठन गरिँदै आएको छ ।

अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयका विद्यार्थी फर्निचर अभावमा भुइँमा बसेर पढ्न बाध्य भएका हुन् । गत साउन २९ गते कालीगण्डकीमा आएको बाढीले विद्यालय भवन बगाएको थियो । भवन बगाएपछि कक्षा कोठा अभावका कारण पठनपाठनमा समस्या भएको प्रधानाध्यापक शान्ति राम्जालीले बताए।

“अहिले स्थानीयवासीको घरमा पठनपाठन सञ्चालन गरेका छौँ, फर्निचर नहुँदा समस्या भएको छ,” उनले भने । अहिले म्याट्रेस भुइँमा ओछ्याएर विद्यार्थी बस्ने व्यवस्था गरिएको छ । फर्निचर नहुँदा विद्यार्थीलाई लेखपढ गर्न अप्ठ्यारो भएको छ । कालीगण्डकीले विद्यालयको ६ कोठे भवन बगाउँदा रु २५ लाख बराबरको क्षति भएको प्रअ राम्जालीले बताए । बाढीका कारण कोप्चेपानीका १० परिवार विस्थापित भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उक्त विद्यालयलाई रु ५० हजार सहयोग गरेका छन् । उनले विद्यालय भवन पुनःनिर्माणका लागि सो सहयोग गरेका हुन् । अध्यक्ष पुनले भवन पुनःनिर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको बताए। उनले आफ्नो पारिश्रमिकवापतको रकम कोषमा जम्मा गरेर गरीब, विपन्न र अनाथ बालबालिकालाई सहयोग गर्दै आएका छन् ।

ज्यान गुमाएका परिवारलाई सहयोग 

म्याग्दी प्रवासी नेपाली सङघ (मोना) दक्षिण कोरियाले रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका एक युवाको परिवारलाई आर्थिक सहयोग गरेको छ । सङ्घले मंगला गाउँपालिका–५ मुसरबारीका थमबहादुर थापाको परिवारलाई मङ्गलबार रु दुई लाख ६५ हजार सहयोग गरेकाे हाे। थापाको दक्षिण कोरियाको अन्सान शहरमा दुई महिनाअघि दुर्घटनामा परी निधन भएको थियो । दक्षिण कोरियाबाट पठाइएको सो रकम मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र मालिका–६ का वडाध्यक्ष सन्तनाथ सुवेदीले मृतक थापाका परिवारलाई हस्तान्तरण गरेका हुन् ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.