पाेखरा,
विनिता सुनार/ ताण्डव न्यूज
‘थाहा पाए तिम्रो बानी, भनिदिन्छु म त सबै’ यो गीत नसुन्ने सायद कम नै होलान् । २०६१ साल ‘अ स्टोरी’ नामको एल्बमले बजार पिट्यो । एल्बमसँगै गायिका एन्जिला गौचनको नाम पनि उत्तिकै चर्चामा आयो । यही एल्बमको गीतले एन्जिलालाई साङ्गीतिक क्षैत्रमा छुट्टै पहिचान बनाउन सफल भयो ।
मुस्ताङ थासाङ्ग गाउँपालिका–४, थकाली रहनसहनमा हुर्किएकी एन्जिलाले सङ्गीतमा नै आफ्नो करिअर बनाउने उद्देश्य बोकेर आज भन्दा १८ वर्ष अघि आफू काठमाडौ पुगेकी थिइन् ।

सङ्गीतमा नै भविष्य खोज्दै गर्दा एन्जिलाले पद्मा कन्या कलेजबाट म्युजिकमा नै ब्याचलर्स गरेकी थिइन् । सङ्गीत क्षेत्रमा अझै अघि बढ्न उनले डोरेमी सङ्गीत पाठशालामा २ वर्षको क्लासिक सङ्गीत पनि सिकेकी हुन् । सङ्गीतमा केही गर्छु भनी उनी काठमाडौ सम्म आएर पढ्दा परिवारबाट दाइ र दिदीको भरपुर साथ पाएको उनले सुनाउँछिन् ।
२०६१ सालमा आफ्नो पहिलो एल्बम ‘अ स्टोरी’ सार्वजनिक भएपछि दर्शकबाट सोचेको भन्दा राम्रो रेसपोन्स पाएको त्यो क्षण अझै पनि उनको सम्झनामा छ । यस एल्बमको एउटा गीतले यस क्षेत्रमा मलाई स्थापित नै गराएको थियो । त्यही गीतबाट हरेक ठाउँहरुबाट स्टेज सो पनि गरेको थियो ।
तर उनले यस क्षेत्रमा आफूलाई निरन्तर लैजान नसकेको बताउँछिन् । ‘ठूलो परिवारमा विवाह भएकाले पनि समय मिलाउने गाह्रो भयो,’ उनले भनिन,् ‘जति नै गाह्रो समय आएपनि गायन क्षेत्रलाई छोड्न सकिँन ।’ गायन क्षेत्र आफ्नो लागि दुःख बिसाउने चौतारी रहेको उनी बताउँछिन् । ‘खुलेर रमाउने ठाँउ नै यही हो,’ उनले भनिन् ‘ सायद त्यही भएर १३ वर्षपछि पनि त्यसै क्षेत्रमा आएको छु ।’
थकाली समाजका मानिसहरु आफ्नै व्यवसायमा बढी समय दिने भएकाले गायन क्षेत्रमा खासै आएका थिएनन् । जसकारण उनलाई थकाली समाजमा भने त्यति राम्रो मान्दैनथे । २०७४ सालमा थकाली भाषामा ‘थासाङ्ग ल्हम्बु’ एल्बम निकाले पछि उनीले आफन्तहरुबाट निकै राम्रो तारिफ पाउन सफल भइन् । एन्जिला थकाली भाषाको गीत निकाल्ने पहिलो गायिका हुन् ।
१३ वर्षको अन्तराल पछि एन्जिलाले तेस्रो एल्बम ‘एन्जिला’ लिएर आएकी छन् । सोहन मानन्धरकोे शब्द तथा सङ्गीत रहेको गीत ‘त्यो पहिलो नजरमा’ युट्युबमा पनि राखिएको छ । आँचल शर्मा र पासाङ योञ्जन लामालाई एन्जिलाको यस गीतको म्युजिक भिडियोमा देख्न सकिन्छ ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.