www.tandavnews.com
Fact ~ In search of truth

पोखराको ताहामचाकाे इतिहास

सुनिल उलक
ताण्डव न्यूज ।

नेवारहरू संस्कृतीमा धनी छन् । आफ्नो संस्कृती जगेर्ना गर्न नेवारहरू जति अरू सिपालु हुदैनन् पनि । वर्षको ३६५ दिनमा ३६६ वटा चाड मनाउछन् भनेर नेवारलाई भन्ने गरिन्छ । त्यसैले त पुरानो कथन छ, ‘राणा बिग्रियो मोजले नेवार बिग्रियो भोजले’ । नेवारहरू हरेक अवसरलाई चाडको रूपमा मनाउन अग्रसर हुन्छन् ।

तर पोखराका छब्बिस कुरियामा बसोबास गर्ने नेवार जात्रा मनाएर व्यापार बृद्धि गर्दथे । पुराणमा लेखिए अनुसार भाद्र कृष्ण प्रतिपदाको दिन यमलोकको ढोका एक दिनको लागी खुल्दछ यसै अवसरमा आफ्ना मृत आफन्तजनले पनि सहज प्रवेश पाउन भन्नको लागी नेवार सम्प्रदायमा ‘सापारू’ मनाउने चलन बस्यो ।

Batas

यस दिन सिङ्गारिएको गाइ वा गाइको प्रतिकात्मक रूपमा बनाइएको ताहासाँ तथा दोक चा साँ मा सेतो कपडा भुइसम्म बाँधेर सो समाइ गाइको पुच्छर समातेर बैतरणी तारिनेको रूपमा बजार परिक्रमा गर्ने परम्परा बस्न गयो । गाइको रूपमा बनाइने प्रतिकात्मक रूप तिनै सहरमा केही भिन्न देखिन्छ । भक्तपुरमा ताहासाँ (ताहामचा) बनाएर, काठमाडौ मा बालकहरूलाई सिङ्गारेर शिरमा उल्टो पेरूङ्गो राखेर त्यसमा गाइको चित्र टाँसेर तथा पाटनमा बिभिन्न देवीदेवताको रूपमा सजिएर बजार परिक्रमा गर्ने गरिन्छ । पाटनमा गाइजात्राको भोलिपल्ट मतया अर्थात दिपयात्रा गर्दै मन्दिर तथा बिहारहरूको परिक्रमा गर्ने गर्दछन् । अन्य क्षेत्रमा भने आफ्नो पूर्वज आएको ठाउको आधारमा गर्न थालेको भेटिन्छ ।

भक्तपुरमा ताहामचाको साथमा बिभिन्न नाचहरू पनि यसै दिन नचाउने प्रचलन छ । जस्तै –
ताहामचा गना ते ग्वाखू प्वाले ते
ग्वाखु प्वाले मन्ह्यासा खुशीङ चुइक छ्वे
भन्दै गीत गाउदै घिन्ता घिसिङ नाच्ने गर्दछन् । यो मौसम सर्प निस्कने र सर्पको बच्चा जन्माउने समय हुँदा गीतले प्राकृतिक जीव प्रतिको माया दर्शाउछ ।

पोखरामा

पोखरामा पनि अठारौ शताव्दीको शुरूमा प्रवेश गरेका नेवारहरूले आफ्नो बाहुल्यताको आधारमा भक्तपुरको सापारूलाई नै भित्राएको पाउछौ । कुनै लिखित दस्तावेज केही नभेटिएको परिस्थितीमा पोखराका अग्रजहरूसँग भएको जानकारीलाई नै दस्तावेज मान्नुपर्ने हाम्रो बाध्यता छ । पोखरामा पनि १९९० को दशक सम्म ताहासाँ बनाएर बजार परिक्रमा गरेको भन्ने बाजेको मुखबाट सुनेको भन्दै बयोबृद्ध अग्नीमान बाटाजु बताउँछन् ।

 बिसं २०२१ भाद्र ९ गते फोटोग्राफर स्टुवर्ट उल्मान पोखराको ताहामचा

गाइ नै बनाएर गाइको चारवटा खुट्टामा लामो लामो बाँस राखेर बनाइने ताहासाँलाई बजार परिक्रमा गरिन्थ्यो । गाइ नै नबनाए पनि डोकोमा बाँस राखेर दोक चि साँ बनाउने चलन भने अध्यावधी छ । भक्तपुरमा झै पोखरामा पनि यसरी बनाइएका अग्ला अग्ला मृतात्माको प्रतिक आकृतीलाई ताहामचा भनिन्थ्यो ।

madi
machhapuchre

भक्तपुरमा जसरी नेवारहरूले जसरी सापारू वा साँजात (गाइजात्रा)को साथमा मनोरञ्जनको रूपमा घिन्ता घिसी, माक प्याख, हनुमान नाच प्रदर्शन गरे झै बिसं १९४० को दशकमा त्यसबेलाका नामुद संगीतकार रत्न कुमार बिजुक्छेले एउटा नृत्य नाटक प्रदर्शन गरेका थिए भनेर बाजेको मुखबाट सुनेको भन्दै अग्नीमान बाटाजूज्यूले नाटकको कथा सुनाउँथे । दही लीला नाम दिइएको नाटकमा चार जना गोपीनीहरु दहीले भरिएको घडा लिएर नाच्दै कृष्णलाई जिस्काउदथे । कृष्ण सो दही खोसेर खान खोज्दथ्यो । यसरी गोपिनीहरू र कृष्ण बिचको यो रमाईलो नृत्य कृष्ण जन्माष्टमीको केही दिन अगाडी हुने हुदा यसको आकर्षण अझ बढी हुन्थ्यो । यस नाचलाई मन पराए पछि गाउबाट नाच हेर्न आउनेको संख्या अचानक बढ्न थाल्यो ।

यसले त्यसबेला अप्रत्यक्ष रूपमा ब्यापार बढ्न थाल्यो । त्यसपछि यो नाच वर्षेनी देखाउन थाल्यो । वहा पछि शुकराम बैद्य (पदम बैद्यका बुबा) ले यस नाचलाई अझ सुधार गर्दै तेर्सापट्टीबाट पनि देखाउन थाले । बिस्तारै दहि लिलाको दहिको घडा हटाईए पनि दहि लिला नै भनिन्थ्यो । पछि यो नाच बिस्तारै अन्यले पनि अनुसरण गर्न थाले । लामाचौतारा, मोहरिया टोल, गणेश टोल पनि थपिदै आए । यसरी निस्कने नाच भीमसेन मन्दिरमा रहेको नासस्द्यस् को दर्शन गराउन लगिन्थ्यो ।

यसरी नौलो प्रस्तुति गर्दा यसको व्यापकता बढ्दै गयो । यहि क्रममा मोहरिया टोलबाट नाचमा नाच्नेहरूमा केही परिवर्तनको सुरूवात भयो । नाचमा नाच्ने गोपिनीलाई पखेटा तथा शिरमा ताज राखेर परी बनाइयो । केही बिरोध भए पनि पछि यसलाई नै स्विकार गरियो । यस पछि नाचले रौनकता देखायो । नाचमा पनि समय समयमा परिवर्तन हुदै गयो ।

बिसं २०२१ भाद्र ९ गते फोटोग्राफर स्टुवर्ट उल्मान पोखराको ताहामचा नाच

बिसं २०२५ सालमा रानी रत्नको जन्म दिन र कन्या स्कुलको वार्षिकोत्सव मनाउने क्रममा कन्या स्कुलको प्राङ्गणमा अनौपचारिक रुपमा प्रतियोगिताको आयोजना गरिएको थियो । बिसं २०३८ सालमा पहिलो पटक पोखराको युनेस्को क्लवबाट प्रतियोगिताको आयोजना भयो । २०४१ देखी पोखरा सांस्कृतिक परिवारले आयोजनाको जिम्मेवारी लियो ।

४३ साल पछि महेन्द्रपुल क्लवले आयोजनाको जिम्मा लियो । तर नियमित आयोजना हुन सकेन । २०५० सावन १९ गते स्थानिय क्लवको रूपमा स्थापित सिद्धार्थ क्लवले जमर्को गरेर पुरा पनि गर्यो । २०५० मा नै नेवाः खलः कास्कीको जन्म भएको थियो । २०५१ मा पनि प्रतियोगिता आयोजना भएन । २०५२ देखी भने नेवाः खलः कास्कीले निरन्तरता दिन थाल्यो ।

नेवारले सांस्कृतिक आयोजनाहरु गरिएको देखिए पनि वास्तवमा बाठा नेवारहरूले आफ्नो व्यापार बढाउन नै यस्ता कार्यक्रमको थालनी गरेका थिए । पोखरामा वर्षेनी हुने गाइजात्रामा नाच हेर्न तथा घरायसी सामग्री किन्न घान्ड्रुक देखी सिकलेस, गिलुङ, घलेगाँउसम्मका गुरूङ तथा शिखा घाराका मगर तथा थाकखोलाका थकाली पनि आइपुग्थे । चामल पिठो आफै बोकेर आउने कोही आफन्त कहा कोही नेवार इष्टकहा बस्दथे ।

हप्ता दिन बसेर फर्कदा बजारबाट आबश्यक लत्ताकपडा, भाडावर्तन तथा मरमसलाहरू किनेर फर्कन्थे । समग्रमा भन्नु पर्दा १८औ शताव्दीको शुरुमा नेवारहरुले पोखरामा प्रवेश गरेपछि नै पोखराको सांस्कृतिक, धार्मिक तथा आर्थिक विकासले गति लियो । पोखरा आजको पोखरा बनाउनुमा छब्बिस कुरियाका नेवारहरुको प्रमुख भूमिका छ ।

(लेख पोखराका अग्रजहरू तथा इतिहासकार डा. पुरूषोत्तम लोचन श्रेष्ठसँगको कुराकानीको आधारमा लेखिएको हो ।)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

classic tech
You might also like

Comments are closed.