www.tandavnews.com
Fact ~ In search of truth

पर्यटकको रोजाइ : सिद्धगुफा र रक क्लाइम्बिङ

दमौली,  (रासस) 

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर यतिबेला पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेकोे छ । विमलनगरमा रहेको दक्षिण एशियाकै ठूलो मानिएकोे सिद्धगुफा र रक क्लाइम्बिङ पर्यटकका लागि पहिलो रोजाइ बनेकाले यहाँ पर्यटकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको हो ।

गुफा अवलोकन र गुफाभित्र रहेका वस्तुको खोजबिन गर्नका लागि पनि अहिले पर्यटकको वृद्धि भएको सिद्धगुफा व्यवस्थापन समितिका अध्यक्ष लालकुमार श्रेष्ठले बताए । यो गुफा पृथ्वीराजमार्गको डुम्रेबाट २ किलोमिटर पूर्व विमलनगर माथि डाँडामा छ । विमलनगरबाट करीब आधा घण्टाको यात्रा गरी पुगिने गुफामा जो कोही पनि मोहित हुन्छन् । विभिन्न जीवजन्तु तथा भगवान्का आकृति र चमेरोका कारण पनि उक्त गुफा आकर्षणको केन्द्रबिन्दु बनेको हो ।

करीब ४०० मिटर लामो यस गुफाभित्र समयअनुसार विभिन्न खेल हुने गरेकाले गुफा अवलोकनका लागि दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको अध्यक्ष श्रेष्ठले बताए । विमलनगरमै साहसिक एवं मनोरञ्जनात्मक रक क्लाइम्बिङका लागिसमेत पर्यटकको आवागमन बढेको छ ।

चट्टान आरोहण र यहाँको प्राकृतिक सुन्दरताले पनि लोभ्याउने रक क्लाइम्बिङ गर्न आउने पर्यटकले बताएका छन् । एक सय पचास मिटर लम्बाइ र १५ मिटर चौडाइ रहेको सो पहरा हिमाली क्षेत्रबाहेक राजमार्ग क्षेत्रकै सबैभन्दा उत्कृष्ट र लामो आरोहण मार्ग भएको अध्यक्ष श्रेष्ठले बताए ।

पृथ्वीराजमार्गसँगै जोडिएको उक्त क्षेत्रमा आउने पर्यटकले मस्र्याङ्दी नदीमा र्याफ्टिङ गर्नाका साथै सिद्धगुफा अवलोकन पनि गर्न सक्ने भएकाले रक क्लाइम्बिङ गर्ने पर्यटक बढेको उनले बताए । हाल चुनपहरामा दुई मिटरको फरकमा ११ क्लाइम्बिङ रुट खोलिएका र एकैपटक २२ ले जनाले क्लाइम्बिङ गर्न मिल्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.