www.tandavnews.com
Fact ~ In search of truth

शिक्षक सेवाका परीक्षार्थी होटेल व्यवसायीको मारमा

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

शिक्षक सेवा आयोगको परीक्षा दिन आएका परीक्षार्थीहरु स्थानीय होटल व्यवसायीका कारण चरम आर्थिक मारमा परेका छन। पर्वतमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी साविकको धौलागिरीका ३ जिल्लाहरु मुस्ताङ, म्याग्दी र बागलुङबाट फाराम भरेका झण्डै ६ हजार भन्दा बढी परीक्षार्थीहरु सदरमुकाम कुश्मामा आएर बसिरहेका छन्।

देश संघियतामा गएर स्थानीय तह बनेसंगै कुश्मा बजारमा सेलाएको बिभिन्न व्यवसायमध्ये होटल व्यवसाय पनि एक हो। लामो समय काम चलाउ व्यपार गरेर जसोतसो सटर र घर भाडा तिर्दै आएका व्यवसायीले भने शिक्षक सेवा आयोगको परीक्षामा सहभागी हुन आएका परीक्षार्थीहरुसंग चरम महंगोमा खाना खुवाउने र होटलमा बास बस्ने दिने गरेको गुनासो बढेको छ।

Batas

यतिका ठूलो जनशक्ति धान्न सक्ने कुश्माका होटलको क्षमता नभएका कारण सानादेखि ठूला सम्म सबै होटलमा एक छाक खाना पाउन समेत कठिन भएको छ भने सुत्ने बिछ्यौना पाउन झनै सास्ती भएको छ। बागलुङ नगरपालिकाबाट परीक्षामा सहभागी बन्न आएका परीक्षार्थी उदय केसी भन्छन, ‘एक छाक सादा भात खाएर एक रात सुतेको २ हजार रुपैयाँ तिरेँ।

अरु कोही साथीले त २५ सय रुपैयाँ सम्म तिर्नु परेछ।’ होटल व्यवसायीहरुले उनीहरु बसेको र खाएको बिल भने दिएका छैनन। आफन्त र साथी भएकाहरु आफन्त र साथीकोमा बसेको भएपनि नातागोता नभएका अन्य परीक्षार्थीलाई भने चरम समस्या भएको छ।

परीक्षा शुरु हुने भएको दिन बिहीबार र त्यो भन्दा अघिल्लो दिन बुधबार मात्र बस्नको लागि होटल खोज्दै आएकाहरु सबैभन्दा बढी मारमा परेका छन। बस्नको लागि कोठा र खाना खाने ठाउँ समेत नपाएका कारण उनीहरु चर्को मूल्य तिरेरै भएपनि बस्न र खान बाध्य भएका छन्। परीक्षार्थीको भिड नलाग्दै केही दिन पहिले नै होटल बुक गरेर बसेकाहरु भने सामान्य अवस्थाकै खर्चमा बसिरहेका छन।

बेनी जोमसोम सडक खण्ड बेला बेलामा बन्द भैरहने गरेका कारण पनि मुस्ताङबाट परीक्षा दिन पर्वत आउनेहरु २÷३ दिन पहिले नै पर्वत झरेका थिए। मुस्ताङ जिल्लाबाट फाराम भरेका देशका अन्य जिल्लाहरु सल्यान, कालिकोट, जाजरकोट सहित मधेशीको कोटामा फाराम भर्नको लागि मधेशबाट पर्वतमा भित्रिएका परीक्षार्थीहरु भने ४÷५ दिने पहिले नै होटल बुक गरेर बसेका थिए।

सप्तरी घर भई मधेशी कोटामा बागलुङ जिल्लाबाट फाराम भरेर परीक्षाको लागि कुश्मामा बसेका अनिलकुमार यादव भन्छन, ‘यहाँ त बस्न खानै मुस्किल रहेछ। म त पहिलो आईहालेँ। शुरुमै होटलमा रुम लिएकाले महंगो तिर्न परेको छैन। अरु अरुले त धेरै पैसा तिर्यो रे भन्ने सुन्दै छु।’

परीक्षामा सहभागी हुन आएका नजिकका परिक्षार्थीहरु कम्तीमा पनि ३ दिन सदरमुकाम बस्नुपर्ने छ। अशोज ११ गते माध्यमिक, १२ गते निम्न माध्यमिक र १३ गते प्र्राथमिक तहको परीक्षा तोकिएको छ। तीनै तहको परीक्षामा सहभागी बन्नेहरु कम्तीमा पनि ३ दिन होटलमा बस्नैपर्ने बाध्यता छ।

तहगत रुपमा परिक्षा सकिँदै गएपछि परीक्षार्थीको चाप भने क्रमश घट्दै जान थालेको छ। कतिपय परीक्षार्थीहरु कुनै एक तहमा मात्र सम्मिलित हुन आएका कारण पनि माध्यमिक तहको परीक्षामा मात्र सहभागी हुन आएका कतिपय फर्किएका छन।

पर्वतमा तोकिएका परीक्षा केन्द्रहरु सदरमुकाम र आसपासका क्षेत्रमा भएका कारण सबै परीक्षार्थीहरु सदरमुकाममै बस्नुपर्ने बाध्यता रहेका कारण पनि होटल व्यवसायीको मनोमानी बढेको हो। सदरमुकाम आसपासमा रहेका केन्द्रमा पनि बस्ने होटलहरुको व्यवस्था नभएका कारण परीक्षार्थीहरु सदरमुकाम बसेर केही समयको गाडीको यात्रापछि परीक्षा केन्द्रमा जाने गरेका छन।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.