www.tandavnews.com
Fact ~ In search of truth

माथिल्लो तामाकोशीको एक अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौँ ।

राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेका माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ ।

आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको जनाएको हो । आयोजनाले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई साधारण शेयर बिक्री गरिसकेको छ ।

Batas

यस्तै गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आयोजना प्रभावित दोलखावासीलाई समेत साधारण शेयर बिक्री गरिसकेको छ । आयोजनाले दोलखावासीलाई रु एक अर्ब पाँच करोड बराबरको साधारण शेयर बिक्री गरेको थियो । तेस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको आयोजनाले जनाएको छ ।

दोलखाको लामाबगरमा निर्माणाधिन माथिल्लो तामाकोशी ४५६ मेगावाट क्षमताको आयोजना हो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजना आगामी पुस मसान्तमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि निर्माण व्यवसायीले तोकिएअनुसार काम नगर्दा केही समय पर धकेलिने अवस्था सिर्जना भएको हो ।

आयोजनाले सर्वसाधारणका लागि न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । धितोपत्र निष्कासन छिटोमा कात्तिक १९ गतेसम्म बन्द हुनेछ भने बढीमा मङ्सिर १४ गतेसम्म हुनेछ ।

आयोजनाको हालसम्म ९७ प्रतिशत भौतिक प्रगति भएको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल लिमिटेड छन् । निर्माण सामग्रीको ढुवानीमा देखिएको समस्याका कारण आयोजनाको निर्माण प्रक्रियामा केही शिथिलता आएपनि दशैँलगत्तै निर्माण कार्यले तीव्रता पाउने विश्वास लिइएको छ ।(रासस)

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.