www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै प्रहरी बनाउने प्रक्रियामा गण्डकी प्रदेश सरकार !

पोखरा
ताण्डव न्यूज ः

संघीय सरकारसँगको रस्साकस्सीकै बावजुत प्रदेश २ पछि गण्डकी प्रदेश सरकारले प्रदेश प्रहरी ऐन ल्याउने काम सुरु गरेको छ । आइतबार बसेको गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकले ऐन ल्याउन आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई प्रहरी सम्बन्धी विद्येयक ल्याउन सैद्धान्तिक सहमति दिएको हो ।
‘प्रदेशको आफ्नै प्रहरी बनाउन प्रहरी ऐन बनाउनु पर्छ त्यसका लागि मन्त्रीपरिषदको बैठकले स्वीकृत प्रदान गरेको छ,’ सरकारका प्रवत्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले भने ‘संघले यसको कानुन नपठाएकोले केही ढिलो भइरहेको छ ।’
कानुन मन्त्री हरिबहादुर चुमानले भने संघीय सरकारले कानुन नपठाएसम्म बाँकी कामहरु सक्नेगरी प्रक्रिया अघि बढाएको बताए । ‘संघीय सरकारले प्रदेश प्रहरी गठन गर्न अन्तरिम आदेश पठायो,’ उनले भने, ‘हामीले कानुन पनि छिटै पठाउनुस् बरु केही ढिला भए हुन्छ प्रक्रिया अघि बढाउछौँ भनेर भनेका छौँ ।’
केही दिन अघि मात्रै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी ऐन ल्याउन हतारो छैन भनेर सार्वजनिक कार्यक्रममै बोलेका थिए । तर, प्रदेश २ को सरकारले संसदबाट नै प्रहरी ऐन पारित गरेपछि गण्डकी सरकारले पनि हतारिएर प्रहरी ऐन ल्याउने प्रक्रिया सुरु गरेको हो । संघीय सरकारले प्रहरी ऐन बनाई नभ्याउँदै प्रदेश २ ले आफ्नो प्रहरी ऐन संसदबाट पारित गरिरहँदा गण्डकी सरकारले पनि ऐनको ड्राफ्ट तयारी अबस्थामा रहेको बताएको छ ।
‘हामीले ऐनको ड्राफ्ट तयार गरेर आन्तरिक रुपमा अध्ययन पनि गरिसकेका छाँै,’ कानुन मन्त्री चुमानले भने, ‘विज्ञहरुको अध्ययन पछि हामी ऐन ल्याउँछौँ । हामी हाम्रो अनुकुलले ऐनको ड्राफ्ट तयार पार्छाैँ । पछि संघबाट आएको ऐन हेरेर थपघट पनि गर्छाैँ ।’
गण्डकी सरकारले प्रदेश प्रहरीको नेतृत्व एआइजीले गर्न सक्ने गरी ड्राफ्ट तयार पारेको स्रोतको दाबी छ । यस विषयमा कानुन मन्त्री चुमानले पनि प्रदेशको नेतृत्व एआइजीले गर्दा नै राम्रो हुने तर्क गरे । गण्डकी सरकारको कामको पहिलो प्राथमिकता नै प्रहरी ऐनलाई बनाएर काम अघि बढाएको उनको भनाई छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.