www.tandavnews.com
Fact ~ In search of truth

‘राज्यले नै कानुन पालना नगर्दा मानवअधिकार प्रत्याभूत हुन सकेन’

पाेखरा । 

राज्यले आफैँले बनाएको कानुनको सहि कार्यान्यवन गर्न नदिएको पोखरामा आयोजित एक कार्यक्रममा सहभागीहरूले गुनासो गरेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यलयले आयोजना गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ को प्रकाशन पूर्व समिक्षा कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेशका निर्देशक दिपकजंगध्वज कार्कीले कानुनको सहि कार्यान्वयन गर्ने प्रहरीले घटनाको उजुरी नलिने, उजुरी लिएका घटना दर्ता नगर्ने जस्ता कार्यले मानवअधिकारको प्रत्याभूत हुन नसकेको बताए ।

Batas

उनले मानवअधिकार उल्लंघनका कारणहरू के के हुन् ? भनेर पत्ता नसके घटनाहरू घटिरहने तर पीडित नघट्ने बताए । मानवअधिकार उल्लंघनका कारणहरू पत्ता लगाऔं, मानवअधिकार शिक्षालाई जवाफदेहीमुखी बनाऔं अनि जवाफदेही निकायसंग जवाफ मागौं’ उनले भने ।

कार्यक्रममा इन्सेक, कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेले सन् २०१८ जनवरी देखि हालसम्म कास्की जिल्लामा घटेका मानव अधिकार हनन् तथा ज्यादतीका घटना सम्बन्धी विवरण प्रस्तुत गरेका थिए ।

विवरण अनुसार कास्कीमा राज्य र गैरराज्य पक्षबाट भएका विभिन्न घटनामा परी २ सय २२ जना ब्यक्ति प्रभावित भएका छन् ।

यस वर्ष कास्कीमा यस्तै राज्यपक्षबाट भएका घटनामा परी ११ जना महिला र ४८ जना पुरूष गरी ५९ जना तथा गैरराज्यपक्षबाट भएका विभिन्न घटनामा १ सय ४९ जना महिला र १४ जना पुरूष गरी १ सय ६३ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका अधिकृत देवी शर्माले पीडितले म पीडित छु भन्ने थाहा पाउँदा पाउँदै पनि विभिन्न कारणले न्यायिक निकायसम्म पुग्न नपाउने अवस्था कायमै रहनु दुखदः भएको बताइन् ।

‘घटनाको प्रकृति हेर्दा मन दुख्छ, घटना घट्ने क्रम रोकिएको छैन, शक्ती सम्पन्न वर्गले न्यून वर्गलाई राजनीतिक शक्तिको आडमा दबाउने प्रवृत्ति हाबी हुँदा पीडित सधै अन्याय परे’ उनले भनिन् । शर्माले यसै वर्ष मन्त्रालयले सामाजिक जागरण अभियान सुरूवात गर्न लागेको जानकारी दिइन् ।

जिल्ला प्रहरी कार्यलय, कास्की स्थित महिला तथा बालबालिका सेवा केन्द्र प्रमुख इन्सपेक्टर चन्द्रा गुरुङले सबैजसो अपराध र हिंसाको घटनाका प्रमुख कारण मादक पदार्थ रहेको बताइन् । उनले मादक पदार्थ सेवनको क्रमलाई नियन्त्रण गर्न सके घटनाहरूमा कमी आउने भनाई राखिन् ।

जिल्ला अदालत बार इकार्ईका अध्यक्ष मुक्तिनाथ सापकोटाले इन्सेकले दैनिक घटेका घटनाहरूलाई अभिलेख गरेर सु–सुचित गराउँदै आएको प्रति धन्यवाद ज्ञापन गरे ।

शान्तिका लागी नागरिक समाजको सञ्जाल, कास्कीका अध्यक्ष विष्णु बरालले इन्सेकले समाजलाई सु–सुचित गर्ने काम गर्दै आएको भन्दै अब घटना संकलन संगसंगै घटना न्यूनीकरणमा समेत प्रभावकारी भुमिका खेल्नुपर्ने बताए । कुसंस्कार र कुरितिलाई छोड्न नसक्दा आज पनि महिला हिंसाका घटना घट्ने क्रम जारी रहेको बरालको भनाई थियो ।

 

गैरसरकारी संस्था महासंघ, कास्कीका अध्यक्ष पदमराज पहारीले मानवअधिकार वर्ष पुस्तक मार्फत इन्सेकले समाजमा मानवअधिकार चेतना बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए । पहारीले राज्यले माध्यामिक स्तरको पाठ्यक्रममै मानवअधिकार सम्बन्धी जानकारी समावेश गर्नुपर्ने बताए ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश संयोजक शिवप्रसाद खकुरेलले वर्ष पुस्तकमार्फत इन्सेकले राष्ट्रिय तथा अन्तराष्ट्रिय तहमा नेपालको मानव अधिकारको अवस्था चित्रण गर्ने, राज्यलाई मानवअधिकारको संरक्षणका लागि बनाउने तथा मानवअधिकारको सचेतनाका जगाउने बताए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.