www.tandavnews.com
Fact ~ In search of truth

विषालु घाँस खाँदा एक दर्जन बाख्रा मरे

गलेश्वर ।

म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–३ घुमाउनेतालमा विषालु घाँस खाएर स्थानीयवासी अनिल शाहीका १२ बाख्रा मरेका छन् ।

चरन क्षेत्रबाट गोठमा फर्किएका बाख्रा बिहीबार गोठमै मरेको अवस्थामा भेटिएका थिए । व्यावसायिक बाख्रापालन गरिरहेका स्थानीय कृषक शाहीका अनुसार चरन क्षेत्रबाट ल्याएपछि घाँस नखाने, झोक्रिनेजस्ता लक्षण देखिएको थियो ।

गोठभित्र धमाधम बाख्रा मर्न थालेपछि कृषक शाहीले भेटेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीलाई जानकारी गराएका थिए । केन्द्रका प्रमुख चिकित्सक जीवन आचार्यको नेतृत्वमा गएको टोलीले विषालु घाँस खाएर बाख्रा मरेका जनाएको छ । बाख्रा मरेपछि करीब  तीन लाख रुपैयाँ बराबरको क्षति भएको कृषक शाहीले बताए।

केन्द्रका पशु प्राविधिक सुवास रेग्मीले दिएको जानकारीअनुसार चरन क्षेत्रमा पाइने विशाक्त घाँसकै कारण बाख्रा मरेका हुन् । “अज्ञात रोग वा महामारी होइन्, चरन क्षेत्रमा भेटिने विषालु घाँसको पहिचान नहुँदा बाख्रा मरे”, रेग्मीले भने।

रेग्मीका अनुसार मरेका सबै बाख्रामा एकै किसिमको समस्या देखिएको छ । १२ बाख्रा मरेका र पाँचको उपचार भइरहेको रेग्मीले बताए। रासस

सांकेतिक तस्बिर:गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.