www.tandavnews.com
Fact ~ In search of truth

पर्वतमा लागुऔषधविरुद्ध ‘स्टेपिङ अपरेशन’

 

 

 

पर्वत ।

लागुऔषध र्दुव्यसनीको सङ्ख्या बढ्दै गएपछि प्रहरीले ‘स्टेपिङ अपरेशन’ शुरु गरेको छ । पर्वतमा लागुऔषधको समस्या भित्रभित्रै फैलिएको भेटिएपछि ‘स्टेपिङ अपरेशन’ शुरु गरेको हो । अपरेशनपछि प्रहरीले ठूलो सफलता प्राप्त गरेको दाबी गरेको छ ।

Batas

पर्वत प्रहरीले गएको साउनयता नौ वटा लागुऔषध मुद्दा दर्ता गरेको हो । पर्वतमा गएको आव २०७४÷७५ मा जम्मा दुई वटा र २०७३÷७४ मा एउटा मात्रै लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेको थियो । भदौ महीनामा एउटा, कात्तिक र मङ्सिरमा तीन÷तीन वटा मुद्दा दर्ता गरेको छ भने पुसमा दुई वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रमा समेत र्दुव्यसनीको समस्या जटिल भएको भेटिएको प्रहरीले जनाएको छ । अघिल्ला वर्षको मुद्दा हेर्दा पर्वतमा लागुऔषधको खासै समस्या छैनजस्तो लागेको थियो प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले भने, “समुदायमा पुग्दा भित्रभित्रै भुसको आगो जस्तो फैलिएको भेटेपछि स्टेपिङ अपरेशन शुरु गर्यौँ ।

जनताबाट गुनासो आएपछि निगरानी बढाउँदा पक्राउ पर्न थालेपछि उनीहरुले खरीद गर्ने ठाउँ र सेवन गर्ने साथीदेखि छिमेकी बागलुङ र म्याग्दीसमेत पुगेर र्दुव्यसनी पक्राउ गर्न प्रहरी सफल भएको उनको भनाइ छ ।

पर्वतमा केही लागुऔषध बागलुङबाट भित्रिने गरेको पाइएको छ भने अलि ठूलो परिणाम पोखराबाट र सुनौलीसम्म समेत पुगेर खरीद हुँदै आएको प्रहरीको भनाइ छ । अभियानका क्रममा प्रहरीले गाँजा र चरेश बढी सेवनकर्तालाई पक्राउ गरेको छ भने नर्फिन, फेनेरागन र डाइजिपाम तथा ट्याब्लेटजस्ता लागुऔषधको पनि प्रयोग भएको पाइन्छ ।

लागुऔषधका प्रयोगकर्ता बढी मात्रामा कुस्मा, जलजला र मोदी गाउँपालिकाबाट पक्राउ परेका छन् । र्दुव्यसनमा फस्नेमा बढी जनजाति र दलित समुदायका युवायुवती रहेको प्रहरीले जनाएको छ । युवा र विद्यार्थी र्दुव्यसनमा फस्न थालेपछि अपरेशन सँगसँगै प्रहरीले जनचेतना जगाउने अभियान पनि थालेको छ ।

पर्वतका सबै विद्यालयमा पुगेर लागुऔषधका विरुद्ध विद्यार्थीमा सचेतना कक्षा सञ्चालन गरिएको र अभिभावकका बीचमा समेत सचेतना कक्षा सञ्चालन भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए । सेवनकर्तालाई पक्राउ गर्ने र जनचेतनासमेत सँगसँगै लगेपछि र्दुव्यसनीमा कमी आउने विश्वास लिएकोप्रहरी नायब उपरीक्षक तिवारीको भनाइ छ । रासस

सांकेतिक तस्बिर :गुगलबाट

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.