www.tandavnews.com
Fact ~ In search of truth

आज सोमबार देखि श्रीस्वस्थानी व्रतकथा

काठमाडौँ ।

प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्ल पूर्णिमासम्म मनाइने घरघरमा श्रीस्वस्थानी व्रत सोमबार आज देखि शुरु हुँदैछ
स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ प्रत्येक वर्ष घर–घरमा स्वस्थानीको कथा सुनाउने गरिन्छ । यसै अवसरमा महिनाभार साँखुस्थित शालीनदीमा ठूलो मेला लाग्ने गर्दछ ।

नूनसमेत नखाई कठोर व्रतविधि पालना गरेर गर्नुपर्ने व्रतको शुरुवात् आज बेलुकी माधवनारायणका पुजारीबाट जल लिएर गरिने समिति अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले जानकारी दिए ।

पूजारीसँग जल लिनुअघि आजै व्रतालुले हातगोडाका नङ काटी शुद्ध वस्त्र पहिरिन्छन् । व्रतालुले घ्यू, चाकु र पालुङ्गो सेवन गर्छन । मध्यान्ह्कालमा माधवनारायणसहित शिव पार्वतीको पूजा गरी स्वस्थानी श्रवण गरिन्छ ।

व्रतालु माघ शुक्ल पूर्णिमासम्म यहीँ बस्नुपर्ने व्रतविधि छ । एक महीने व्रत अवधिमा पशुपति, फर्पिङ, दक्षिणकाली, बनेपा, पनौती, शङ्खमूललगायत तीर्थस्थलमा व्रतालु पैदलयात्रा दर्शनका लागि जाने गर्छन् । खाली गोडा पैदलयात्रा गर्नुपर्ने विधि रहेको साँखु शालिनदीको ऐतिहासिक एवं धार्मिक परम्पराबारे अनुसन्धानरत इतिहासविद् प्रकाश श्रेष्ठ ‘सक्व’ ले बताए ।

स्वस्थानीको महिमा

पार्वतीले स्वस्थानीको व्रत बसेर महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धारका लागि महादेवकै स्वीकृतिमा उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ ।

देवीदेवताका लीलाका प्रसङ्ग जोडिएकाले स्वस्थानी कथाले सुन्ने र सुनाउने सबैलाई मन्त्रमुग्ध पार्छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार एक महिनासम्म निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीको उद्धार गरेका थिए ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालिनदी तथा सतीदेवीको अङ्ग पतन भएका स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने विश्वासमा ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

एकतीस अध्याय रहेको यस व्रतकथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको छ । श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने र मनले चिताएको पुग्ने पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

शिवसहितको उक्त मूर्ति राजा प्रताप मल्लको पालामा नेपाल संवत् ७९४ मा स्थापना गरिएको मूर्तिपदमा उल्लेख छ ।

स्वस्थानीमा कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिनाका साथै सधैँ सत्यको जित र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गर्न खोजिएको छ । एक महीनासम्म चल्ने स्वस्थानी व्रतलाई एउटा विशेष पर्व नै मान्ने चलन छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.