www.tandavnews.com
Fact ~ In search of truth

राष्ट्रियसभा बैठकमा काँग्रेसको अवरोध

काठमाडौँ ।

राष्ट्रियसभाको आजको बैठक नेपाली काग्रेसको अवरोधका कारण स्थगन भएको छ ।

आफ्ना शीर्ष नेता स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै काँग्रेसले आजको बैठक सञ्चालनमा अवरोध गरेको हो ।

यसअधि माघ दुई र सात गतेको बैठक पनि काँग्रेसले सोही कारण अवरुद्ध गरेको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौवटा ठूला अस्पताल सङ्घ अन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र (तनहुँ) र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय नगरेको बताइन्छ । यसमा काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।

आजको बैठक शुरु हुने वित्तिकै नेपाली काङग्रेसका सांसद आ–आफ्ना स्थानमा उठेका थिए । यसपछि राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले काग्रेसका सांसद बद्री पाण्डेलाई बोल्न समय दिए ।सांसद पाण्डले प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताललाई सरकारले कुन निकाय अन्तर्गत सञ्चालन गर्ने भन्ने कुनै निर्णय नगरेकोमा आपत्ति जनाए ।

उनले गणतन्त्र स्थापना, शान्ति प्रक्रिया, संविधान निर्माणमा आफ्ना शीर्ष नेताको योगदानलाई कही कतैबाट अवमूल्यन गर्ने काम नहोस् भन्दै ती अस्पतालले जनताको स्वास्थ्य सेवा गर्ने अवसर पाउनुपर्छ भने।

सांसद पाण्डेले चालु अधिवेशन विधेयक अधिवेशन समेत भएकाले नेपाली काँग्रेसले सरकारलाई रचनात्मक भूमिकामा सहयोग गर्ने छ भने । त्यसपछि पनि नेपाली काङग्रेसका सांसदहरु आ–आफ्ना आसनबाट उठिरहेएकाले अध्यक्ष तिमल्सिनाले बैठक १५ मिनेटका लागि स्थगन गरे ।

आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ लाई टेवल गर्ने लगायतका कार्यसूची रहेको थियो । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.