पोखरा
ताण्डव न्यूज ।
गण्डकी प्रदेश सकारले प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाको तयारी सुरु गरेको छ । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यसको तयारी थालेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले ‘नास्ट’ स्थापनाको लागि प्रारम्भीक छलफल सुरु गरेको बताए । ‘यसको लागि पहिले ऐनहरु आवश्यक हुन्छन् त्यसैले यस क्षेत्रका विज्ञ र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानसँग सहकार्य गर्न लागिएको हो,’ मन्त्री लम्सालले भने, ‘सरकारले नास्ट स्थापनाको लागि कार्यक्रम बनाइसकेको छ । त्यसैले अब ढिला नगरी समिति नै बनाएर अघि बढ्न लागिएको हो । पहिले यसबारे अरुले सोच्न सक्दैनथ्यो केन्द्रले मात्र सोच्थ्यो । अहिले प्रदेशले सोचेर काम अघि बढाएको छ । त्यसैले संघीयताको कार्यान्वन प्रदेशबाटै हुन्छ र भएको छ ।’

अध्ययनको लागि एक करोड
प्रदेश सरकारले प्रादेशिक विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापनाको तयारी तथा अध्ययनको लागि भनेर बजेट समेत विनियोजन गसिसकेको मन्त्री लम्सालले जानकारी दिए । उनका अनुसार नास्टको शिर्षकमा चालु वर्षमा एककरोड रुपैयाँ रकम विनियोजन भएको छ ।
यो बजेट नास्टको सुरुवात गर्नका लागि मात्रै भएको र आगामी आर्थिक वर्षमा थप बजेट विनियोजन सरकारले गर्ने उनले विश्वास दिलाए । मन्त्री लम्सालले प्रतिष्ठानको कार्यालय राख्नको लागि पोखराकै पृथ्वीनारायण क्याम्सले भवन उपलब्ध गराउने बाचा गरेको पनि बताए ।
११ सदस्यीय समिति गठन
प्रदेशमा नास्ट स्थापनाको लागि ऐन कानुन निर्माणको लागि अध्ययन गर्न नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना (नास्ट) का बैज्ञानिक डा. किशोर पाण्डे संयोजक रहनेगरी ११ सदस्यीय समिति पनि गठन गरेको छ । पाण्डेको संयोजकत्वमा बनेको समितिको राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महाविर पुनलाई पनि सदस्यको रुपमा राखिएको छ ।
अन्य सदस्यहरु विषयगत क्षेत्र र विज्ञताको आधारमा राखिने भएको हो । उक्त समितिले अध्ययन गरी मन्त्रालयलाई प्रतिबेदन बुझाउने र सोही प्रतिबेदनको आधारमा काम अघि बढ्ने बताइएको छ ।
© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.