www.tandavnews.com
Fact ~ In search of truth

सुशीला मृत्यु प्रकरणबारे के भन्छन् स्थानीय ?

पोखरा
ताण्डव न्यूज ।

‘हत्यारा छुटाउन जानेलाई पनि कारवाही होस्’

Batas

श्रीमानकै कुटपिटबाट सुशीला कार्की बिवाह भएको एक महिनाबाटै हिंसामा पर्नुभएको थियो । उहाँको ससुराबाट एकदम ठुलो साथ थियो ।

उहाँले मेरो माइतको बुबा नभए पनि घरको बुबा हुनुहुन्थ्यो मलाई उहाँको ठुलो साथ छ भन्नुहन्थ्यो । बुबा बितेपछि झन श्रीमानले हेला गर्न थाले । सुशीलाले सहेको पीडाको कुने सिमा थिएन् ।

अन्य श्रीमतीहरुले जस्तो श्रीमानको साथ केही पाईनन् । उनले एक छाक पनि सुखले खाएको हाम्रो १४ नम्बर वडा बासीले कहिल्यै देखेन । एयरपोर्टले अधिग्रहण गरेको जग्गा भित्र एउटा सानो छाप्रो थियो । त्यो सानो छाप्रोमा सुशीलालाई राखिएको थियो । उनले निकै दुख गर्थिन् तर श्रीमानबाट केही सुख भएन ।

उनको श्रीमान राती १२ ,१ बजे आउनी अनि दमन मात्र गर्थे । श्रीमानले त्यती मात्र होइन यसरी कुट्थे की सुशीला ज्यान जोगाउन पातीको गाँझमा लुकेर रात काट्ने गर्थिन् । सुशीलाको पक्षमा हामी बोल्दा १४ नम्बर वडामा ठूला ठूला लिडरले ‘मुख छदाँछदैँ नाकले पानी खाओ’ भन्दै हामीलाई कहिले सहयोग गरेनन् । महिलाको पीडा वडामा पनि सुनिएकाे छैन । १४ नम्बर वडा बासी दिदीबहिनीले सहारा पाउनुभएको छैन ।

एक त सुशीला आफैले पीडा सहेर बस्ने गर्थिन् । पिटेको आवाज कहिल्यै बाहिर आएन, भित्रै दमन गरेर राखे । यो घटना भएपछि पनि अस्पतालमै सुशीलालाई श्रीमानले यातना दिएका थिए ।

अब सुशीलाका हत्यारा श्रीमान मात्र होइन उनलाई छुटाउन प्रहरी कार्यालय गएका व्यक्तिलाई पनि प्रहरीले कारवाही गर्नुपर्छ । उनीहरुकै साथ र सहयोगले सुशीलालाई दमन गर्दै आएका थिए । त्यसैको कारणले अहिले यस्तो घटना भयो ।

‘रुदारुदै ज्यान गयो’

बालकुमारी वझा
छिमेकी

पुस ११ गते राती झण्डै १० बजेतिर मेरो घरको पश्चिमतिरको सटरमा ड्यामड्याम हान्नुभयो । मेरो ठुलो छोराले ममी कसले सटर हान्यो भन्यो । मैले को हो ? भन्दा म सुशीला हो भन्ने आवाज आयो । किन सुशीला के भयो ? भने मैले भो सटर अहिले नखोलुम गेट बाटै आउनुस भने । उ गेटबाटै घुमेर आइन् । ढोका खोल्न नभ्याउदै उ एक्कासी दोडिदैँ आएर म सुतिराखेको ठाउँमा आएर छातीमा सुत्दै रुनु भयो । मैले के भो भनेर सोध्दा खेरि उनले  त्यो आइमाई ‍‍‍‍‍‍…सँग मिलेर हिड्छस भने हिड् हिडिनस् भने म तलाई ठिक पार्छु भनेर श्रीमानले कुटेकाे भनिन् ।

त्यो राती उनले केही नखाकी रैछन । मैले के खान्छौ भनेर सोध्दा केही खान मानिनन्, पानी खान्छु भनिन् । एक गिलास पानी दिए एक सासमै पिईन् । पानी पिउन बित्तिकै उनको गालाबाट रगत चुहिएला जसरी राती भइन् । राती अवेर भएको हुनाले मैले उनलाई सुशीला आफै गएर घरमा पुर्याइदिए ।

भोलीपल्ट दिनभरी घरमा झगडा भाथ्योरे मैले सुनिन् मलाई अरुले सुनाए ।  साँझपख सुशीला त घरमै छैन रे भन्ने सुने मैलै घर भित्रै त कतै लडिनन भन्ने सोचे । दुई तिन दिन उनको घरमा बत्ति पनि बलेको देखिन, सुनसान अन्धकार थियो घर । पुस १५ को दिन दिउँसो रामबहादुर घरमै चस्मा लाएर मज्जाले चिया खाएर बसेका थिए । मैले गएर खोइ त नि सुशीला ? भनेर सोध्दा जीएमसीमा छ भने । के भएर हो भनेर सोधे ,प्रेसर हाई भएर, भने उनले ।

मैले किन हामीलाई खबर गर्नुभएन त ? भनेर भन्दाखेरि ,छोराले खुट्टातिर समात्यो मैले टाउकोमा समाए ,मेरै कार हालेर लगियो, कसलाई थाहा किन दिन पर्यो,भने उनले ।

१६ गते हामी सुशीलालाई भेट्न हस्पिटल गएका थियौ भेट्न जाँदा उनले मलाई छातीमा राखेर रुनुभो । भेटेर फर्केपछि मैले मेरा केही साथीहरुलाई लिएर फेरि भेट्न जाने भने तर पछि था भो उनी जीएमसीमा छैनन थेरापीमा लगे भन्ने । अनि फागुन १ गते जाम्ला भेट्न भनेर सल्लाह गरेको थियौँ १ गते आउन नपाउँदै उहाँको मृत्यु भयो । रुदारुदै ज्यान गयो ।

‘यो सरासर मर्डर हो’

सबिना क्षेत्री

कोषाध्यक्ष,मझेरी महिला विकास समिति

 

म यहाँ बस्न थालेको १० वर्ष बढी भयो । मैले बुझेसम्म उहाँको विगत पनि पीडादायी छ । पहिलेदेखि नै उहाँलाई श्रीमानले दुख दिने गर्नुहुँदो रहेछ । मैले थाहा पाएपछि पनि उहाँलाई श्रीमानले कुट्ने पिट्ने गरेको थाहा पाएँ ।

बन्दै गरेको एयरपोर्ट नजिकै सानो झुप्रोमा बस्नुहुन्थ्यो । पछि श्रीमान् घर बनाएर बस्न थाले । उहाँ त्यही झुप्रोमा बस्दै गर्दा , आगलागी भयो । आफन्तकै घरमा डेरा लिएर बस्न थाल्नुभयो । नयाँ घरमा श्रीमानले बाेलाएपछि उहाँ जानुभएन ।

श्रीमान् रामबहादुर कार्कीको अर्को श्रीमती पनि थिइन् । बच्चा पनि थियो । उसलाई पनि छाड्यो राम कार्कीले । अहिले काठमाडौँ हो की कता हुनुहुन्छ रे ति श्रीमति । उसलाई पनि धोका दियो ।

हामी महिलाहरुले उहाँहरुको सम्बन्धका लागि पटक–पटक प्रयास गर्यौ । वडाका प्रतिनिधिहरुलाई पनि गुहार्यौँ । कसैले पनि सुनेको नसुन्यै गरे । पटक–पटक प्रयास गरियो भएन ।

सुशीला श्रीमान् बस्ने घरको १०० मिटर पर मात्रै डेरामा बस्नुहुन्थयो । हामी फेरी प्रयास गर्यौँ ।

अन्ततः सुशीलालाई घर जाने वातावरण मिल्यो । श्रीमानकै घरमा बस्न थालेपछि पनि हामी सोध्थ्यौँ । अझै पनि केही दुख छ कि भनेर । उनले दुख लुकाउँथिन् । ‘श्रीमानसँगै बस्न त पाएकी छु । उ जो सँग हिँडे पनि म सहेरै बसुँला । अंश चाहिएको छैन । घर भनेर टाउको घुसाउन पाएको छु । अब यो बारे केही नबोलौँ । म सहेर बस्न सक्छु ।’ भन्नुहुन्थ्यो ।

घटना नलुकाएर सत्य भनेको भए आज यो घटना हुन्थेन नि ।  अर्को कुरा यसमा देवी भुजेलको पनि हात छ । राम कार्की २२ घण्टा उसको घरमा हुन्छ । खाने, बस्ने, कपडा धुने सबै त्यहि हुन्छ । उसको पनि भुमिका छ यसमा । दुवैलाई छोड्न हुन्न ।

दिउँसो पनि भान्जीसँग झगडा भएको रहेछ । घरायसी पीडामा रहेको मान्छेलाई प्रेसर हाई भो भनेर ढलेको भन्न पाइन्छ । कुक्करले हानेको भन्ने पनि सुनिएको छ । घाँटीमा निलडाम छ रे । यो सरासर मर्डर हो ।

सम्बन्धीत समाचार

सुशीलालाई श्रीमानले नै मारेको आरोप

सुशीला मृत्यु प्रकरण : न्यायका लागि समिति गठन

भिडियो हेर्नुहोस्

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.