www.tandavnews.com
Fact ~ In search of truth

आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्द

बलेवा ।

एक वर्ष पहिले मलेशियाबाट फर्किएका बागलुङको निसिखोला गाउँपालिका–३ झिँवाखोलाका राजमन बुढा यतिबेला तरकारी बारीमा देखिन्छन ।

विदेशमा गुमाएको पाँच वर्ष सम्झँदै बुढाले आफ्नै बारीमा लगाएको तरकारीमा भविष्य खोजिरहेका छन । तीन वर्ष बहराइनको होटलमा काम गर्दाका दुःख र दुई वर्ष मलेशियाको एक कम्पनीमा सुरक्षा गार्डको रूपमा काम गर्दाका दुःख अहिले पनि उनको मानसपटलबाट बाहिरिएको छैन । सानोतिनो किराना पसल गरेर गाउँमै बसेका बुढा धेरै सम्पत्ति कमाउने र उज्यालो भविष्यको सपना देखेर खाडी मुलुकदेखि मलेशियासम्म पुगे तर त्यहाँको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले सुखको सास फेर्न सकिने देखेर उनी मलेशियाको दुई वर्ष बिताएर नेपाल फर्किए ।

झिँवाखोलाकै विमल शाही एक वर्ष पहिला दुबईबाट फर्केका हुन्। राम्रो कमाइ हुने आशामा दुबई पुगेका शाही एक वर्षमै गाउँ फर्केर बुढासँगै सामूहिक तरकारी खेतीमा लागेका छन् । विदेशमा धेरै दुःख भोगेका शाही र बुढाले गाउँमा फर्केर सरसल्लाह गरी गाउँमा नै केही उद्यम गर्ने सोच बनाए। बजारको राम्रो व्यवस्था रहेको र माटोमा गरेको मेहनतले प्रतिफल दिने देखेर उहाँहरूले तरकारी खेती गर्ने सोचे ।

उनीहरूले बनाएको योजनालाई झिँवाखोलाकै अर्का युवा श्यामबहादुर शाहीले साथ दिएका छन् । विदेशमा गएर दुःख गरेको अनुभव नभए पनि श्यामले विदेशका दुःखको विषयमा सुनेका छन् । त्यसैले उहाँहरू सबै मिलेर अहिले झिँवाखोलामा सामूहिक तरकारी खेती गरिरहेका छन् ।

पछिल्लो समय विदेश पलायन हुने युवाको घुइँचो देखिन्छ । कतिपय युवा विदेशमा गएर कमाइ गरिरहेका छन् भने कतिपय युवा हण्डर खाएर स्वदेश फर्किएका छन् । विदेशमा गरेको दुःख सम्झेर देशकै माटोमा भविष्य खोज्ने पनि छन् । त्यस्तै भविष्यको खोजीमा रहेका छन् झिँवाखोलाका तीन युवा । स्थानीयस्तरमा नै तरकारीको बजार रहेकाले सुविधा पनि हुने र कृषिमा आत्मनिर्भर बन्ने आफूहरूको चाहना पनि पूरा हुने भएकाले सामूहिक तरकारी खेतीमा लागेको बुढाले बताए ।

उनीहरूले निसीखोला कृषि फार्म दर्ता गरेर व्यवसाय शुरु गरेको एक वर्ष भयो । अहिले उनीहरूले तरकारी बारीमा सबैखाले तरकारी उत्पादन गरेका छन । शुरुमा चार लाख लगानी गरेर स्थानीयको केही जमीन भाडामा र केही जमीन आफ्नै प्रयोग गरेका उनीहरूले लगानी बढाउने योजना बनाएका छन् । “तरकारीको उत्पादनले राम्रै उत्पादन हुने देखिएको छ, लगानी बढाएर मौसम र बेमौसमका तरकारी उत्पादन गर्दैछौँ”, बुढाले भने ।

तरकारीसँगै उनीहरूले गाउँलेका लागि तरकारीका बिरुवा उत्पादनसमेत गर्दै आउनुभएको छ । गाउँमा आवश्यक बिरुवा आफ्नै फार्ममा उत्पादन गरेर गाउँलाई बिरुवामा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बुढाले बताए । “हामीले उत्पादन गरेको वस्तुले हाम्रो बजार पाउँछ”, बुढाले भने, “व्यवसायलाई अलि बृहत् तरिकाले सञ्चालन गर्न स्थानीय र केन्द्र सरकारबाट सहयोग र प्रोत्साहन पाए अझै राम्रो हुन्थ्यो ।”

नयाँ व्यवसाय भएकाले तत्कालका लागि मुनाफाको आशा नराखेको उनीहरू बताउछन् । व्यवसाय व्यवस्थित बनाएर महीनामा एक लाखदेखि दुई लाखसम्म खर्च कटाएर आम्दानी गर्ने लक्ष्य रहेको शाहीले बताए । मध्यपहाडी लोकमार्गले यहाँका अन्य कृषकले उत्पादन गरेको वस्तु बजारीकरणका लागि खासै समस्या छैन ।

स्थानीय सरकारले युवालाई कृषिलगायतका विषयमा विभिन्न खालका तालीम सञ्चालन गर्ने र युवालाई व्यावसायिकतर्फ आकर्षण गर्न विभिन्न योजना बनाए यस क्षेत्रका युवा स्वरोजगार बन्न सहज हुने उनीहरूको भनाइ छ । विदेशमा गरेको दुःखभन्दा आफ्नै माटोमा गरेको दुःखले छाक टरे आनन्दको अनुभूति हुने बुढा बताछन् । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.