www.tandavnews.com
Fact ~ In search of truth

दक्ष नभइ विदेशिन्छन् नेपाली कामदार

नारायण ढुङ्गाना
काठमाडौँ ।

नेपाली कामदार वैदेशिक रोजगारमा दक्ष नै नभइ जाने गरेकाले समस्या झेल्दै आएका छन् । जसका कारण ‘म्यानपावर’ कम्पनीदेखि दलाल र रोजगारदाता कम्पनीबाट समेत नेपालीले दुःख पाउने गरेका छन् ।

आवश्यक सीप र दक्षताको अभावमा कतिपय नेपालीले रोजगारी नै नपाउने अवस्था समेत छ । दक्षता अभावले रोजगारी पाएका पनि न्यून तलबमा काम गर्नुपर्ने बाध्यता छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशमा काम गर्न जानेमध्ये जम्मा एक दशमलव पाँच प्रतिशत मात्रै दक्ष छन् ।

Batas

चौबिस प्रतिशत अर्धदक्ष छन् भने अधिकांश अदक्ष कामदार रोजगार गर्न भनेर विदेशिएका बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले बताउनुभयो । अधिकांश अर्धदक्ष कामदार जापान र कोरियामा छन् ।

उनले अहिले नेपालको आर्थिक परिसूचक राम्रो रहेको र रेमिट्यान्स बढ्दो क्रममा रहेको बताउँदै कूलगार्हस्थ उत्पादनमा विप्रेषण बढ्ने अनुमान गरिएको उल्लेख गर्नुभयो । नेपालमा गत वर्ष विप्रेषण आप्रवाह ८.६ प्रतिशतले वृद्धि भई रु ७५५ अर्ब छ करोड पुगेको थियो । पछिल्लो छ महीनामा विप्रेषण आप्रवाह ३०.२ प्रतिशतले वृद्धि भई रु ४४३ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा वार्षिक पाँच लाख युवा रोजगारीका लागि योग्य हुन्छन् । अहिलेसम्म ४३ लाख कामदार वैदेशिक रोजगारमा गएको तथ्याङ्क छ । नेपालबाट ११० मुलुकका लागि मात्रै रोजगारीका लागि अनुमति भए पनि १६७ देशमा नेपाली रहेको जनाइएको छ । कोरियामा मात्रै आधिकारिक रुपमा गएका ३५ हजार र अनौपचारिक तथ्याङ्कमा पाँच हजार नेपाली रहेको जनाइएको छ ।

कोरियाबाट न्यून विप्रेशण

सरकारी तथ्याङकलाई आधार मान्दा एक नेपालीले कारियाबाट औषध रु एक लाख ७० हजार कमाउँछन् । त्यसलाई आधार मान्दा रु ६३ अर्ब आउनुपर्नेमा गतवर्ष रु १७ अर्ब मात्रै भित्रिएको छ । कोरियाबाट आउनुपर्ने मध्ये यो २५ प्रतिशत मात्रै विप्रेशण हो ।

चालीस हजार कामदार हिसाब गर्दा यो वर्ष करीब रु ८२ अर्ब भित्रिनुपर्ने राष्ट्र बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक ढुङगानाले बताए। तर छ महीनाको अवधिका जम्मा १६ करोड डलर मात्रै भित्रिएको छ । यो वर्ष बढेर रु ३६ अर्ब आउने अनुमान छ ।

यसरी हिसाब गर्दा ३६ अर्ब आयो भने पनि ४३ प्रतिशत मात्रै रेमिट्यान्स भित्रिने देखिन्छ । यसलाई १०० प्रतिशतमा पु¥याउनुपर्ने आजको आवश्यकता भएको उनको भनाइ छ । कोरिया सरकारले गएको जनवरीबाट नेपालीको तलब ११ प्रतिशत बढाएको र नयाँ नीतिलगायतका कारण यसमा प्रभाव पार्ने जनाइएको छ । केही दिनअघि मात्रै कोरियाको जेबी बैंकका पदाधिकारीसँगको विप्रेषण बढाउने विषयमा छलफल भएको थियो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले सन् १९५६ ताका दुई देशको प्रतिव्यक्ति आय समान रहेकामा अहिले कोरियाको ३० हजार डलर रहेको र नेपालीको एक हजार चार डलर रहेको उल्लेख गर्दै कोरियाबाट नेपालीले धेरै कुरा सिक्नुपर्ने बताए ।

उनले नेपालमा वित्तीय स्रोतको अभाव रहेको भन्दै स्थायी सरकार निर्माणसँगै औद्योगिक वातावरण बनेकाले लगानी गर्न कोरियालाई आग्रह गरे । कोरियाको जेबी बैंकका प्रमुख कार्यकारी अधिकृत लिम योङ टेइले नेपालीले जेबी बैंकमार्फत कारोबार बढाइरहेको जानकारी दिँदै उक्त बैंकमा तीन हजार नेपाली जोडिएको बताए । (रासस)
–––

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.