www.tandavnews.com
Fact ~ In search of truth

घरमै पानी आएपछि स्थानीयवासी हर्षित

दमौली ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–८ लालिमका स्थानीयवासी घरमै खानेपानी आएपछि हर्षित भएका छन् । खानेपानी अभावमा घण्टौँ हिँडेर खानेपानी जोहो गर्नुपर्ने यस ठाउँका बासिन्दा घरमै पानी आएपछि हर्षित भएका हुन् ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँको सहकार्यमा ढोरफिर्दी खानेपानी आयोजनाको निर्माण सम्पन्न भएसँगै खानेपानीको जोहोमा घण्टौँ खर्चिनुपर्ने बाध्यता हटेको स्थानीय तुलमाया लम्सालले बताए । उनले भने, “पानीको धारा घरघरमै भएको हुनाले घरको काम पनि बेलामै गर्न पाइएको छ, अहिले त दैनिकी नै फेरिएको छ ।”

आयोजना निर्माण हुनुअगाडि खानेपानीको जोहो गर्ने पीरले सताइरहने उनले बताए । उनका अनुसार एक गाग्री पानी भर्न घण्टौँ लाइन बस्नुपर्ने बाध्यता थियो । बिहान–बेलुकाको समय पानीको आशमा लाइन बसेरै बित्थ्यो । उनले भने, “दिउँसो २ बजे पानी लिन गइयो भने फर्कँदा साँझ पथ्र्यो ।”

उहाँका अनुसार पानीको अभावमा जमीन पनि बाँझै भएपछि तरकारीको लागि बजारमा भर पर्नुपर्ने अवस्था रहेको थियो । अब भने उक्त समस्या हटेको उनले जानकारी दिए । घरघरमै पानीको धारा जडान भएपछि यहाँका स्थानीयवासीले तरकारी खेतीसमेत शुरु गरेका छन् । “सबैले आफूलाई पुग्ने तरकारी आफँै खेती गर्न शुरु गरेका छन्”, उनले भने ।

स्थानीय सरस्वती रेग्मीले घरमै खानेपानी आएपछि सहज भएको बताए । उनले भने, “पानी खोज्न गाउँका कुवा, धारा धाउँदैमा दिन बित्थ्यो । अहिले घरमै पानी आएपछि खुशी लागेको छ ।” दुई करोड तीन लाख २५ हजार ८ सय ९९ रुपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको तालिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकारबाट एक करोड ४२ लाख ७६ हजार ९सय ३० सहयोग भएको छ भने स्थानीयवासीले ६० लाख ४८ हजार ९ सय ९६ बराबरको जनश्रमदान गरेका छन् । विसं २०६८ बाट निर्माण शुरु भएको खानेपानी आयोजना सात वर्षको प्रयासपछि सम्पन्न भएको हो ।

आयोजनाबाट यस ठाउँका ५०९ घरधुरीका चार हजार ३०४ लाभान्वित भएका छन् । पाँच सय ९ घरधुरीमा नै धारा जडान गरिएको छ । गरजुरे लम्धी खोला कालमुढाको दोभानको मुहानबाट ल्याइएको पानी ५०÷५० हजार लिटरका दुई ट्याङ्कीमा सङ्कलन गरेर वितरण गरिएको छ । मुहान र ट्याङ्कीको दूरी १३ किमी छ । रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.