www.tandavnews.com
Fact ~ In search of truth

प्रश्नैप्रश्न बोकेको केटो

दिपक के श्रेष्ठ
पाेखरा, ताण्डव न्यूज । 

राजधानीको केही कलेजमा पढाउँदै गर्दा पोखराको पुरानो यादसँग हारेर ०६४ सालमा पुनः पोखरा फर्किएको थिए । पोखरा आएर गैह्रापाटनस्थित पश्चिमाञ्चल उच्चमाविमा पढाउन सुरु गरेको अर्काे वर्ष ११ कक्षाका विद्यार्थीलाई ओरियन्टेशनपछि अध्यापनको दैनिकी सुरु भयो ।

नयाँ विषयकोरुपमा आमसञ्चार एवं पत्रकारितामा विद्यार्थीहरुको आकर्षण बढिरहेको बेला कक्षाकोठामा पत्रकारिताको अर्थ र परिभाषा व्याख्या गर्नु जति सहज थियो त्यति नै असहज विद्यार्थीको ध्यानाकर्षित गर्नु । एसएलसीपछिका टिनेजहरुसँग ‘क्लासरुम एटिट्युड’ भिन्न हुन्छ । सर्सति भन्नुपर्दा उनीहरुमा लेक्चरप्रति एटेन्सन कम हुन्छ । यहीबीच, एउटा विद्यार्थी पत्रकारिताको सिद्धान्तभन्दा यसको ‘पावर’प्रति बढी नै उत्सुक भएको पाएको थिए ।

मूलतः पत्रकारितालाई राज्यको चौथो अंग भनि गरिएको सम्मान र सरकारको सदाबहार प्रतिपक्ष भनि गरिएको व्याख्याले त्यो विद्यार्थी रोमाञ्चित भएको याद छ । फ्रेञ्च सम्राट नेपोलियन बोनापार्टले ‘मलाई दुस्मनका ४ हजार सेनाभन्दा उनीहरुको ४ वटा पत्रिका बढी खतरनाक लाग्छन्’ भनेको अभिव्यक्तिले उसको शरिरमा काँडा उम्रेको महशुस मैले गरे ।

अझ, कवि इलाहावादीले भारतीय स्वतन्त्रता संग्रामताका लेखेको शायरी ‘ना उठाओ तीर कमान, ना हथियार उठाओ । खदेड्ना है इन्हें तो अखबार उठाओ’ सुन्दा सम्भवतः उसले पत्रकारितालाई नै करिअर बनाउने ठानिसकेको रहेछ । र, मलाई याद छ उसले कलेज निरन्तर हुँदाका दिनमा शुक्रबार र आइतबार बग्रेल्ती प्रश्नका पोकाहरु फुकाएको ।

पोखरको दक्षिणी डाँडा निर्मलपोखरी घर भई पश्चिमाञ्चल पढ्ने त्यो दुब्लो केटो (विद्यार्थी) हरियो प्यान्ट र पहेलो सर्टमा सहपाठीबीच गाउँले टाइपको देखिन्थ्यो । उसको वर्णलाई कलेजको यूनिफर्मले झनै अन्याय गरेजस्तो लाग्थ्यो । बाहिरी आवरण जस्तो देखिएपनि जति कलेजको दिन उकालो चढ्दै थियो उसमा पत्रकार बन्ने ग्राफ चुँलिदै थियो ।

त्यससँगै, निर्मलपोखरी वामपन्थीहरुको बाहुल्यता रहेको क्षेत्र भएकोले होला उ थोरै विद्रोही र न्यायको पक्षधर थियो । आफ्नो गाउँमा रहेको विकृतिविरुद्ध पहिलो कलम चलाउने सायद उसको सपना थियो भन्ने मलाई लाग्छ । बिहानी सत्रमा पढाई हुने कलेजपछि शुक्रबार निर्मलपोखरी लाग्नु पूर्व उसले केही प्रश्न गथ्र्याे, जुन त्यहाँ देखिएको विकृति, विसंगतिबारे हुन्थे । स्थानीय बजेट र विकास, प्राकृतिक स्रोत, सामाजिक न्यायमा उसको रुचि थियो । यता, पोखराभित्र भने गुण्डागर्दी, अपराध र प्रहरीको मिलेमतोमा उसका असहमति हुन्थे ।

मेरो सम्झनमा शुक्रबार उसले प्रश्नका अनगिन्ती पोका फुकाउथ्यो । गाउँमा भएका अनियमितताका मूल स्रोत कसरी पहिल्याउने ? नागरिकको हैसियतले स्थानीय निकायबाट कसरी सूचना पाउने ? यस्ता विषयलाई कसरी समाचार बनाउने ? हाम्रो ठाउँको सूचना समाचार बन्छ कि बन्दैन ? समाचारको स्वरुप कसरी तयार पार्ने ? यहाँ (पोखरामा) हाम्रो गाउँको समाचार कसले छापिदिन्छन् ? यस्तै यस्तै ।

अंग्रेजीमा ‘इफ यु वान्ट टु नो बेटर, आस्क, आस्क एण्ड आस्क’ सुनेको उसले मलाई शुक्रबारको बिहान सायद प्रश्न गर्ने रुटिन नै बनाएको थियो कि !

यस्तै प्रश्नहरुको धेरथोर जवाफ पाएर होला उसले पोखराकै पुरानो पत्रिका हिमदूतमा रिपोर्टिङ सुरु गरेको थियो । सम्भवतः ‘रामरुद्र प्राविको अनियमितता’ उसको पहिलो बाइलाइन हुनुपर्छ । र, यो प्रावि निर्मलपोखरीमै छ । पत्रकारितामा ताते गरिरहँदा र आफ्नै गाउँठाउँको विषयवस्तुलाई समेट्दै जाँदा स्थानीयस्तरमा उसले पहिचान बनाउँदै गयो ।

Lama collectio News Middle

फलस्वरुप, निर्मलपोखरीको अभियान क्लबको संस्थापक अध्यक्ष भएको याद छ मलाई । हिमदूतपछि त्यो केटो समाधान दैनिकमा आबद्ध भयो । जहाँबाट उसले आफूलाई पत्रकारिताको राजमार्गमा दौडायो । कास्कीले भर्खरै आफूलाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेको थियो । तरपनि कार्यान्वयन हुन सकेको थिएन ।

यही विषयलाई केन्द्रमा राखेर उसको पहिलो दमदार समाचार समाधानमा छापियो । सुरुवाती दिनमा स्पोर्टस बिट धान्ने जिम्मेवारी पाएको त्यो केटो लेखनमा खाँरिदै गएपछि आफ्नो रुचिको बिट ‘क्राइम’ सुरु ग¥यो । त्यही बिटले त्यो केटो पोखरा, स्थानीय निकाय र प्रहरी प्रशासनमा अर्जुन गिरीको नामले चिनिन थाल्यो ।

पेशामा प्रोफेश्नलिज्म आवश्यक भएको महशुस गरेरै होला उसको आबद्धता मानवअधिकार पत्रकार संघ, खेल पत्रकार संघलगायतमा हुन थाल्यो । दिवंगत कम्युनिष्ट नेता रवीन्द्र अधिकारीको प्रभावले हुनसक्छ प्रेस चौतारीको कार्यसमितिमा रह्यो र पत्रकार महासंघ कास्कीकै महत्वपूर्ण पदमा रही कामसमेत ग¥यो ।

विभिन्न पदमा पुग्न कतै राजनीतिक समर्थन रह्यो होला तर उसको मिलनसार र सहयोगी छविले पनि उसलाई सहयोग गरेको मेरो बुझाइ छ । यद्यपि, उसले समाचार लेख्न किबोर्डमा औंला राख्दा राजनीतिकरुपमा ‘बायस्ड’ भएको कहिल्यै पाइन । पेसा सुरु गरेपछि पेशेवर हुने भीडमा उ प्रोफेश्नल नै हुन चाह्यो ।

सोही अनुरुप उसले सम्बन्धित विषयमै मास्टर्स पूरा गर्न लागेको छ । पत्रकारितामा उसले पृथ्वी राजमार्ग बस व्यवसायी समितिबाट पाएको ‘सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार’ र समाधान दैनिकले अघिल्लो वर्ष उसलाई दिएको ‘एक्स्लिेन्ट रिपोर्टर अवार्ड’ले उसको कामको सही मुल्यांकन ग¥यो भन्ने लाग्छ ।

संयोग नै भनौ, केही वर्ष समाधान मिडियामा हामी सँगै भयौं । उसको पत्रकारिता कर्मलाई नजिकबाट नियाल्न पाए । केही सहमति-असहमति वा उसको आफ्नै इन्ट्रेस्टकाकारण उ बाहिरियो । त्यसपछि हितैषिद्धय विजय लम्साल र सन्तोष सुवेदीसँगको सहकार्यमा सुरु ग¥यो ‘ताण्डव’ साप्ताहिक ।

सोही साप्ताहिकले वर्षदिन पूरा गरेको छ । ताण्डवमा उ झनै फक्रदैंछ । मौलाउँदैछ । तथ्यमा डुबेर लेख्दैछ । यहीबीच, आफ्नो पाइला व्यवसायतर्फ उचालेको खबर सुन्दा सफलताको एक भारी शुभकामना टक्र्याएको थिए ।

ताण्डको वार्षिकोत्सवमा एकमुष्ट बधाई र शुभकामना । हिजो क्लासरुममा प्रश्नैप्रश्न सोधिरहने उसले आउने दिनहरुमा ताण्डवमार्फत अझ थुप्रै प्रश्न सोधिरहोस् यहाँका प्रशासनिक निकायलाई, नेतालाई, अनि देश बनाउनेलाई र देश बिगार्नेलाई ।

सतत् शुभकामना ।।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

Bernhardt
सम्बन्धित खवर
टिप्पणिहरु
Loading...
friends bakery